मेरी आमा थलिएकी छन्
दशकौँ अघि शरीरमा लागेका
गोलीले बनाएका डोबहरू
पुरिन नपाउँदै
छर्राले छियाछिया भएको छातीमा नयाँ
छाला पलाउन नपाउँदै
मेरी आमा गँडेरी भएकी छन्
उनको शरीरमा सात-सात वटा गाँडहरू पलाएका छन्
ती भोका, खन्चुवा गाँडको भारीले थिचेर
गाँडहरूको भार थाम्न नसकी
उनको शरीर निहुँरिएको छ
कमाइ खाने हातहरू थपिएका भए
आफूलाई खान पुग्ने आलु आफै फलाउने थिइन् होला
हिँड्ने गोडा थपिएका भए
निमुखो झुपडीलाई सम्पन्न बनाउनेतर्फ
पाइलाहरू अघि बढाउने थिइन् होला
तर दुर्भाग्य
रोग, भोक र दुर्गतीले
जीर्ण भएको शरीरको राम्रोसँग हेरचाह गर्न
नसकी रहेकी मेरी आमा
आज अनुत्पादक, अमूर्त गाँडहरू घिसारेर हिँड्ने
बाध्यतामा फसेकी छन्
मेरी आमा थलिएकी छन्।