त्यो दिन पनि स्कुलतिर निस्केँ
अचानक आलीबाट म चिप्लेँ
भेलले बगाइहाल्यो एउटा चप्पल
अस्ति मात्र किनेको नयाँ चप्पल
मेरो मुटु बगाए झैँ लाग्यो
म दौडेँ पछि-पछि
त्यो अघि-अघि भाग्यो
भेलबाट कुलो र कुलोबाट खोलाको तीरैतीर
लड्दै पड्दै म दौडिरहेँ, दौडिरहेँ तर आखिर
खोला भिरको खोचमा झर्यो
चप्पल भूमरीमा पर्यो
म रोकिएँ
म दुखेर रोएँ
घोप्टेर रोएँ
अर्को चप्पल पनि फालिदिएँ रिसमा
त्यो उफ्रँदै-उफ्रँदै गयो बाढीमा
अचानक म हाँसेँ
पीडा र पीडाको बहिर्गमनमा
घर फर्केँ
परालको कुन्यूँमा लुकेँ
रोइदिएँ र बाको थोरै गाली खाएँ
साँझ सिरकमुनि फेरि म विस्तारै हाँसेँ
पीडा र पीडाको वहिर्गमनमा
यात्रामा
जीवनको लडाइँमा
आजकल किन ठूला-ठूला घाउ लाग्छन्
घाउहरू किन निको हुँदैनन्
होसहरू किन हराउँछन्?
म ठूलो भएँ
कि म वरिपरिको समाज?
मेरा इच्छा र प्रतीक्षा धेरै भए कि
मेरो आकार र अहंकार?
आखिर नियति त उस्तै हो
गुच्चा जत्रो मन आकाश जत्रो बने पनि
गोलो गोलो गोलो उस्तै हो
पाउनु र गुमाउनु
जित्नु र हार्नु
श्रृंखला उस्तै हो
तर हार्नु र गुमाउनुमा आँसु मात्र किन?
त्यसैले म फेरि खोजिरहेछु
मेरो त्यही असफलताको हाँसो।