पाश्वना मेरो जीवनको अनमोल उपहार थिई। मागी विवाह थियो हाम्रो। २०७८ को माघमा धुमधाम बिहे गरेका थियौं दुवै परिवारको मञ्जुरीमा।
म जागिरको शिलशिलामा बुटवलमा थिएँ। ऊ पढ्न काठमाडौं। गाउँमा हाम्रो घर पनि अलि टाढा नै थियो। ऊ मेरो नातेदारको छिमेकी थिई। नातेदारको सल्लाहमा ऊ ठिक छ र म पनि ठिक छु भन्ने समझदारीमा हाम्रो विवाह तय भएको थियो।
सुरूमा उसलाई हेर्दा निकै सोझी र लगनशील छजस्तो लागेको थियो मलाई। हो रूपमा पनि ऊ निकै सुन्दर छे जोकोहीलाई मन पर्न सक्ने।
‘तिम्रो अन्त कतै लभसभ छ कि नाइँ? भए अहिले नै भन है। नत्र बिहेपछिको वैवाहिक जीवन त्यति सहज नबन्ला कि?’ बिहे अघि केटाकेटीलाई छुट्टै कुरा गर्न पठाउँदा मैले उसलाई सोधेको थिएँ।
‘त्यस्तो कोही छैन। भएको भए किन तपाईंसँग बिहे गर्न राजी हुन्थें होला त।’ यसरी आश्वस्त पारेकी थिई।
हुन त उसको साथीसंगी, छरछिमेक सबैलाई बुझ्दा ऊ त्यस्तो नराम्रो केटी हैन भन्ने कुराहरू भएर मात्रै म उसलाई हेर्न गएको थिएँ। तत्पश्चात हामी दुवैको सहमतिमा नै विवाह सम्पन्न भयो।
म भर्खर जागिर खाएको घर बाहिरै थिएँ। अब मेरो जिम्मेवारी थपिएको थियो। बिहेपछि दुवै जना बुटवलमा बस्न थाल्यौं। म दिउँसो अफिस जान्थें, साँझ आउँथे। ऊ दिनभर कोठामै हुन्थी। बिहे भएको १५ दिनपछि अफिसबाट छुट्टी मिलाएर हामी पोखरा घुम्न गयौं।
ऊ निकै रमाएकी थिई, म पनि उसँग रमाएको थिएँ।
पोखरामा फेवाताल, तालबाराही, साराङकोट, पुम्दीकोट, चमेरे गुफा आदि विभिन्न ठाउँहरू घुम्यौं। फोटो/भिडिओ बनायौं। हाम्रो हनिमुन निकै रमाइलो भयो। ३ दिन पोखरा घुमेर पुनः हामी बुटवल फर्कियौं।
ऊ खुसी थिई। उसलाई पाएर म पनि खुसी थिएँ। समय बित्दै गयो। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। उसको आगमनले मेरो जिन्दगीमा धेरै परिवर्तन भएको थियो। बिहान-साँझ ऊसँग रमाउने, छुट्टी हुँदा घुम्न जाने, मन लागेको खाने उल्लासमय भइरहेको थियो। लाग्थ्यो जिन्दगी सधैं यसरी नै बिताउन पाए!
घडीले समय बिताउँदै गयो, हामी रमाउँदै कटायौं। बिहे गरेको लगभग ६ महिना पछिको कुरा हो ऊ अलि निराश देखिन थाली तर पनि मसँग कहिल्यै निराशा अभिव्यक्त गरिन। म बुझ्न सक्थें उसको आँखामा केही अभाव झल्किरहेको छ। ऊ सबै कुरा नकार्थी मसँग ‘म ठिक छु है’ भन्न।
मलाई लाग्थ्यो ऊ एक्लोपनको कारण पो निराश भएकी हो कि?
उसको अभाव पूरा गर्न म फुर्सदको समय सधैं उसँग खर्चिन्थें। अफिसमा पनि काम नहुँदा फोनमा उसँगै कुरा गर्थें। तर पनि उसको निराशपन हराएन। मेरो मनमा चिसो पस्न थाल्यो।
ऊ नर्मल हुन खोज्थी तर नर्मल थिइन। यही कारण होला सायद बीचमा १/२ पटक बिरामी समेत परेकी थिई। म निकै अलमलमा थिएँ। अब यसरी चल्दैन खास के हो कुरा मलाई बुझ्नु थियो। यस्तो लाग्छ ऊभित्र केही छ जुन मसँग भन्न सकिरहेकी छैन। मलाई थाहा थियो मैले जे सोधें पनि ऊ ‘केही होइन’ भनेर सजिलै पन्छिनेवाला छे। म भने जसरी पनि उसको निराशाको सुरू बिन्दुमा पत्ता लगाउने ध्यानमा थिएँ।
एकदिन साँझ खाना खाइसकेपछि उसलाई सोधें, ‘पाश्वना भन किन तिमी निराश? कि मसँग खुसी छैनौ? कि मबाट केही कमजोरी भयो कि? किन कुराहरू लुकाउँछौ मसँग ? यदि तिम्रो केही समस्या छ भने भन। तिम्रो हरेक दु:ख सुखमा साथ दिन्छु भनेर नै विवाह गरेको हुँ तर तिमी किन केही लुकाउँदैछौ मसँग?
बिहेअघि कोही थियो, केही थियो भने पनि भन। अब समय अगाडि पुगिसक्यो। त्यसले जीवनमा केही असर पुर्याउनु हुन्न भनेर मैले बिहेअघि नै भनेको हुँ।
केही रहेछ भने पनि म तिमीलाई केही भन्दिनँ, त्यसैको लागि म झगडा पनि गर्ने छैन। कुनै समयमा सबैको कोही न कोही हुन सक्छ। अब विगतलाई सम्झेर कुनै फाइदा छैन। अब जिन्दगी अगाडि बढाउने हो। के छ समस्या नढाँटी भन त?’
मैले यति भनेपछि उसले मेरो हात समाउँदै भनी, ‘बिहेअघि मेरो कोही केटासँग फेसबुकमा कुरा हुन्थ्यो। लगभग ४ महिनाजति कुरा भयो। विदेशमा बस्ने ऊ भिडिओ कल गर्थ्यो। म त्यस्तो केही सोच्दिन थिएँ तर ऊ मलाई मन पराउने रहेछ। मेरो विवाह भएको थाहा पाएपछि उसले भिडिओ कल र म्यासेजका स्क्रिनसट तेरो बुढालाई पठाइदिन्छु। मलाई किन धोका दिइस् भनेर बारम्बार म्यासेज गरिरहन्छ। यदि उसले तपाईंलाई म्यासेज र स्क्रिनसट पठायो भने तपाईंलाई नराम्रो लाग्ला। मलाई के सोच्नुहोला भन्ने पीर लागेर मात्र हो’ आँसु खसाल्दै सविस्तार यति भनी।
मैले हाँसेर सम्झाउँदै उसलाई भनें, ‘लाटी यति सानो कुरामा पनि निराश हुने हो त। के भो त उसले मलाई पठाएर। केही नराम्रो छैन हैन भने किन डराउँछौ त! म त्यति साह्रो निर्दयी छु त? के त्यति खराब छु त? ढुक्क हौ तिम्रो हरेक दु:खको सारथी हुनेछु।’
यति भनिसकेपछि ऊ खुसी भई। त्यसदिनपछि उसलाई कहिल्यै दुखी देख्नु परेन। ऊ खुसी, म खुसी, जीवन खुसी। आज हाम्रो पहिलो वैवाहिक वार्षिकोत्सव धुमधामसँग मनाउँदै छौं।