२९ मे, मैले आफ्नो नयाँ जिन्दगी सुरू भएको आभाष गरेको दिन।
म सधैंझैं थाकेको, उदास अनि शंका, उपशंका, बेचैनी, छट्पटी, एक्लोपन र अन्योलताले भरिएको मनसँगै मोबाइल चलाइरहेको थिएँ।
मनमा धेरै कुराहरू खेलिरहेका थिए।
विगतकाे जिन्दगीको भाेगाइ अनि भविष्यको अन्योलताले सताइरहेको थियो।
सपनाजस्तो जिन्दगी बिताइरहेको थिएँ। जिन्दगी कता जाँदैछ अनि के हुँदैछ थाहा थिएन। निन्द्रा, भाेककाे महसुुस हुन छाडिसकेकाे थियो। मेरो सबथोक मात्र मोबाइल थियो। म सधैंझैं मोबाइल चलाइरहेका थिएँ, इन्स्टाग्राममा एउटा सजेसन देखें। सजेसन फ्रेन्ड त जहिले आउँथ्यो तर त्यो सजेसन मेरा लागि फरक थियो।
धेरैपछि मन खुसी भएको थियो। मैले रिक्वेस्ट पठाएँ अनि मैले सोचेअनुसार रिक्वेस्ट एसेप्ट भयो।
बिहान ९ बजेतिर मैले मेसेज गरें। कुरा हुँदै गयो। ह्वाट्स एपमा नि साथी भयौं हामी।
मैले मनमा उनीसँग जिन्दगी बिताउने सपना देखिसकेकाे थिएँ। मैले उनलाई आफ्नो मनकाे कुरा भनिदिएँ। सायद उनले यो अन्जान सहरमा एउटा साथी खाेजेकी थिइन्, तर मलाई साथी मात्र बन्नु थिएन। मनमा लागेकाे सबै कुरा भनिदिएँ।
मलाई थाहा छ, याे धेरै चाँडै थियो तर हरेस खाएको मेरो मनले कुरा थाम्न सकेन। सायद उनले तेस्तै कुरा पहिले धेरै सुनिसकेकाे हुन सक्छ अनि मेराे हतासले नि हुन सक्छ म ह्वाट्सएपबाट ब्लक भएँ।
इन्स्टाग्राममा कुरा भयाे, किनकि म उनीसँग कुरा नगरी बस्न सक्दैन थिएँ। मैले ह्वाट्सएपमा अनब्लक गर्न भनें उनले नि गरिन्।धेरै कुरा हुँदैनथ्यो हाम्रो।
मेरो जिन्दगीमा एकपछि अर्को समस्या आइरहेको थियो, सायद जिन्दगीको कथामा तेस्तै थियो। मैले सबै कुरा सुनाउन मिल्ने उनी मात्र थिइन् मेराे साथमा। म उनले के साेच्लिन्, के जवाफ आउला भन्ने मनमा आउँदैनथ्याे। मलाई लाग्थ्यो उनी मेरी हुन्।
धेरै कुरा नभए पनि समयले गर्दा धेरै कुरा थाहा भैसकेको थियो। पहिले माया हाेइन आकर्षण हाे भन्ने उनी माया नै हाे भन्नेसम्म सहमत भैसकेकी थिइन्। तर विगतकाे भाेगाइले हाे या कुनै अरू कारणले मैले उनलाई आफ्नो मायाको अनुभूति गराउन सकिनँ।
बिना कारण मन पराएकाे मैले उनलाई तर उनले कारण साेधेकाे साेधै गरेपछि म पनि कारण खाेज्न थालें। धेरै कारणहरू साेच्न थालें अनि मनमा झन् माया बढ्न थाल्यो। साँच्चै मैले कसैकाे बारेमा यति धेरै कहिल्यै नि साेचेकाे थिइनँ।
यति धेरै रिस उठ्ने मलाई अहिलेसम्म उसँग रिस उठेको छैन। मलाई मेरो साथीले जहिले भन्ने गर्छ उसले तँलाई वास्ता गर्दिनँ तँ पनि वास्ता नगर भनेर। तर म साेच्न पनि सक्दिनँ। उसकाे एउटा म्यासेजले सब कुरा बिर्सिने गर्छु म।
एक दिन उनले मलाई भनेकी थिइन्,‘कस्तो राम्रो च्वाइस्। कहिल्यै नसोचेको कुराहरू पाएँ। थ्याक् यु सो मच!' मैले उनलाई गिफ्ट दिएको थिएँ। अनि मलाई भन्न मन लागिरहेको थियो, राम्रो च्वाइस भएर त तिमीलाई रोजें। फेरि उनले भनिन्, 'हजुरको गर्लफ्रेन्ड कति लक्की हुनुहुन्थ्यो होला।' तर मलाई गएको कुरामा मतलब थिएन। अनि मनले भनिरहेको थियो तिमी चाहिएको छ अब।
म धेरै भावुक मान्छे, जहिले एउटै कुराले सताइरहेको हुन्छ कि म दूरीकाे हिसाबले उसँग यति नजिक नजिक हुँदा नि केही गर्न सकेकाे छैन भनेर।
उसकाे कलेजमा गाराे छ, बाहिर निस्किन त्यति दिँदैन अनि बाहिरबाट सामान ल्याउन दिँदैन (अरूबाट आफू बाहिर जान पाउँदा मात्र)।
एक दिन मैले उसलाई गिफ्ट पठाएको थिएँ, तेस्राे पटक हाे सायद। त्योभन्दा अगाडि मैले हाेस्टेल नजिकैकाे आन्टीकाे पसलमा राखिदिएकाे थिएँ। ऊ आएर लग्छे भनेर। उसले गिफ्ट लग्थी अनि मलाई भनेको थिई, हाेस्टेलमा सजिलो छैन धेरै कुराहरू सुन्नुपर्छ भनेर। तर जिद्दी मान्छे म, तेस्रोपटक पनि गएँ धेरै साेचेर गएकाे थिएँ। त्यो मेरो अन्तिम पटक हुनेछ आफैं जाने साेचेकाे किनकि जे उसलाई दिन चाहन्थे त्यो मैले धेरै पहिलेदेखि साेचेकाे थिएँ।
म हाेस्टेल नजिकैको आन्टीलाई सामान दिएर निस्किन खाेज्दै थिएँ, पानी पर्दै थियो। अचानक एउटा केटी मेरो आँखा अगाडि आउँछे। दूरी धेरै कम थियो। मैले हेल्मेट लगाएको थिएँ। मेरो मुटुको धड्कन बढ्न थालिसकेको थियो किनकि मैले उनलाई चिनिसकेकाे थिएँ। म उनका ती आँखाहरू कहाँ बिर्सिन सक्छु र जहाँ मैले आफ्ना हजारौं सपना देखेकाे छु।
मैले हतारहतार स्कुटर स्टार्ट गरेर त्यहाँबाट निस्किएँ किनकि मनमा डर थियाे त्यो पसलकाे आन्टीले यही केटी त हाे आफैं दिएर जाऊँ भन्नुहुन्छ कि भनेर।
पानी परेर हाेला, उनलाई जाडो महसुस भैरहेको थियो। आफ्ना साथीलाई भन्दै थिइन् ज्याकेट ल्याएर आउँछु भनेर। मलाई त्यो आवाज सुनिरहुँ लागेको थियो तर म पर पुगिसकेको थिएँ। म राेकिएँ अनि उनलाई म्यासेज गरें।
उनले सामान फिर्ता लगेर जानु मलाई अप्ठ्यारो हुन्छ,अनि हजुरलाई मैले पहिले नै भनेको थिएँ भनिन्।
मैले अन्तिम पटक लगिदेऊ भनेर अनुरोध गरें। उनी रिसाइन्। मलाई लागेको थियो उनी जति रिसाए नि सामान लगेर जान्छिन्। ठूलो पानी पर्दै थियो। मेराे मनमा अनेकौं कुराहरू खेल्दै थिएँ, म भिज्दै घरतिर निस्कें। मलाई भिजेको महसुस भैरहेको थिएन किनकि मेरो मन उनीतिरै थियो। मैले बाटाेमा राेकिएर म्यासेज हेरें।
मैले पहिलोपटक उनी त्यति रिसाएको देखेको थिएँ। मनमा नरमाइलो त लागिरहेको थियो तर पनि म घरतिर लागें। उनले भनेकी थिइन् कि सामान लगेर जानु अनि कसै अरूलाई दिनू। मलाई धेरै नरमाइलो लागिराखेको थियो। मनमा कुरा खेलिराखेको थियो कि सायद उनले मलाई तेस्तै सोचिन् होला। सबैसँग त्यसरी नै बोल्ने। सोच्दा सोच्दै म घर पुगें।
उनकी साथीलाई म्यासेज गरें। साथीले उनी रोइरहेकी छिन् भनिन् त्यो कुराले मलाई झन् नरमाइलो लाग्यो। म अर्को दिन बिहानै गएर त्यो सामान ल्याएर आएँ अनि एउटा अटाे राेकिएकाे देखें अनि त्यो सामान त्यसमा राखेर घरतिर लागें। मलाई आफैंसँग रिस उठिरहेको थियो, मैले उनको समस्या बुझेनँ भनेर।
त्यसपछि अर्को दिन मैले म्यासेज गरें अनि कुरा भयो उनले नि कुरा बुझिन्। अहिले हाम्रो पहिलेको जस्तो कुरा हुँदैन। उनको परीक्षा नि आउँदैछ त्यही कारणले मलाई नि सताउन मन लाग्दैन। कहिलेकाहीँ उनको म्यासेज आउँछ अनि म सब बिर्सिन्छु फेरि सताउन मन लाग्छ अनि फोनमा कुरा गर्न मन लाग्छ।
मेरो रातिको काम हो, दिनभरि एक्लै कोठामै हुन्छु। म उनको त्यो रसाएको नयनमा आफू घन्टाैं हराएको थाहा नै पाउँदिनँ। अनि निधारमा त्यो कालो टिकी धेरै सुहाउँछ उनलाई।
भविष्यको त केही थाहा छैन तर म वर्तमानमा उनीसँग धेरै खुसी छु। सपनाहरू त धेरै छन् तर नि के हुन्छ थाहा छैन।
सायद एकतर्फी माया भएर होला मलाई झन् आनन्द आएको छ अहिले किनकि मलाई लाग्छ यदि दुई तर्फबाट माया भएको भए म उनको बारेमा यति धेरै सोच्ने थिइनँ होला अनि एक्लै यति धेरै सपना देख्ने थिइनँ होला।
मैले उनी मेरै हुनुपर्छ भन्ने नि सोचेको छैन, उनको जिन्दगी जहाँ जाेसँग भए नि खुसी हुनुपर्यो। मेरो सपना छ यदि मेरी भइन् भने जतिसुकै दुखबाधाहरू आए पनि साथ कहिल्यै नछुटाेस्।
अनि जिन्दगीमा उनले सोचेको सपनामा मैले सधैं साथ दिन पाऊँ।
मलाई लाग्छ माया गर्ने मान्छेको साथ भयो भने जिन्दगीमा सोचेको सबै कुराहरू पूरा गर्न सकिन्छ, समय लाग्न सक्छ तर पूरा चाहिँ गर्न सकिन्छ।
धेरै माया