म, मेरो, मलाई, मात्र भन्दिनँ हजुर, सबैलाई समेटेर लैजान जानेको छु
घरमा पाहुना आउँदा ढोका थुनेर बस्दिनँ हजुर, मुसुक्क हाँसेर चिया खाऊँ है भन्न जानेको छु
सबै कुरा फेसबुकमा राख्दिनँ हजुर
किनकि मैले पनि संस्कार जानेको छु।
आलु खुर्किन जानेको छु, मूलाको चाना बनाउन जानेको छु
चामल छिन्किन नजाने पनि खान योग्य बनाउन जानेको छु
सबै कुरा फेसबुकमा राख्दिनँ हजुर
किनकि मैले पनि संस्कार जानेको छु।
धोप्टो परेको चप्पल सुल्टो बनाउन पनि जानेको छु
घरको कसिंगर बाहिर फाल्ने कुच्चोलाई ढोग्न पनि जानेको छु
सबै कुरा फेसबुकमा राख्दिनँ हजुर
किनकि मैले पनि संस्कार जानेको छु।
तिल, आलस, सिलाम र फिलुडंगेको छोप हाल्न पनि जानेको छु
महिला, छोरी, चेलीको अपमान गर्नेको मुख बुजो लगाउन पनि जानेको छु।
सबै कुरा फेसबुकमा राख्दिनँ हजुर
किनकि मैले पनि संस्कार जानेको छु!
शंख र घन्टीको आवाज सुनेर हुर्केको मान्छे, ढुंगा देख्दा पनि हात जोड्न जानेको छु।
सबै कुरा फेसबुकमा राख्दिनँ हजुर
किनकि मैले पनि संस्कार जानेको छु।
बाली-नाली लगाउन नजाने पनि त्यसमा पनि पटाउन जानेको छु।
अन्न फलाउन नजाने पनि अन्न जोगाउन जानेको छु।
सबै कुरा फेसबुकमा राख्दिनँ हजुर
किनकि मैले पनि संस्कार जानेको छु!
सम्मान पाउन सम्मान गर्नुपर्छ भन्ने पनि जानेको छु।
श्रीमान सँग ठास्स ठुस्स पर्दा छोरीहरूलाई पाट्ट पिट्ट पार्न पनि जानेको छु।
सबै कुरा फेसबुकमा राख्दिनँ हजुर
किनकि मैले पनि संस्कार जानेको छु!
आफ्नो काम आफैं गर्नुपर्छ भन्ने जानेको छु।
आज भोलि त छोरीलाई चक्कु, छुरी बोकेर हिँड्नु पर्छ भनेर सिकाउन थालेको छु।
सबै कुरा फेसबुकमा राख्दिनँ हजुर
किनकि मैले पनि संस्कार जानेको छु!
खै के गरेको काठ त काम लाग्छ रे भन्ने सुनेको छु
पृथ्वी गोलो छ अरे किनकि मैले साँवा अक्षर पनि जानेको छु
त्यसैले यो बनावटी र देखावटी संसारबाट अलि टाढै बस्न थालेको छु।