म सपनाहरू चराउँछु धर्तीभरि
जून ताराहरू चराउँछ आकाशभरि
हामी हरेक रात
एक्लाएक्लै हुन्छौ झिलिमिली
ऊ, आकाशमा
म धर्तीमा।
जीवन
अनुवाद नहुने आँसुहरू
व्याकरणविहीन मुस्कान
बिना पासपोर्ट आउने दुःखहरू
सुखको मिराज
लगभग
यथार्थको यही सतहमा
चुपचाप उभिएको छ
बाँकी
आदर्शहरू, दर्शनहरू, धर्मशास्त्रहरू र तथ्यहरू
तपसिलमा घुइँचो लागिरहेछन्।
प्रेम
भनिएको, परिभाषित र दिव्यताभन्दा
अलि पर
विस्तारै निभ्दै छ, सकिँदै छ
कुहिएर विषालु भएको
मिठो फलजस्तै
जलेर झुठहरूले, धोकाहरूले, बासनाहरूले
यता
औपचारिताकता
चिटिक्क घनिभूत छ
प्रेमको नाममा लाससँग समाएर
हातहरू, आडम्बरहरू, लालसाहरू
छोटकरीमा पूरै
जीवन र प्रेम
कतै भेटिएका छैनन्
जून र मजस्तै।