कैयौँ पटक विचारको अन्तरद्वन्द्वपश्चात आफू असंगतीवादी भएको निचोड निकालेको छु मैले। यद्यपि यस निष्कर्षमा मेरो पूर्ण सहमति चाहिँ कहिल्यै रहेन।
ग्य्राजुएसन लिनु पर्ने बाध्यताले बुझीनबुझी पढेका केही थान पाश्चात्य दर्शनले राम्रै प्रभाव पारेको छ मलाई। अनि सामाजिक/भौगोलिक परिस्थिति/अवस्थितिले सुन्नैपर्ने/जान्नैपर्ने पूर्विय विचारका मानकहरूले पनि केही प्रभाव जमाएका छन् मेरो मस्तिष्कमा।
यस्तै बुझाइको भद्रगोलबीच मेरो परिचय अझ भनौँ आफूसँग म आफै अपरिचित छु जस्तो लाग्छ। नढाँटी भन्नुपर्दा चिटिक्क पहिरनमा सजिएर हिँडेका मान्छे खासै आकर्षक लाग्दैनन् मलाई। न त उनीहरूको बुद्धिमतामा सहजै सहमति जनाउँछु।
उनीहरूको विचार र तर्कसँग मेरो अर्धचेतन मनमा स्थापित पूर्व मूल्यमान्यताले ‘पूर्वाग्राही’ गराएको हुनसक्छ। सायद अभावमा हुर्किएको बाल्यकालमा उनीहरूको उपस्थितिले आफूमा थप लघुताभाष भरिदिएका कैँयन् घटनाक्रमले यस्तो गराएको हुनसक्छ।
मूल कुरो गर्दा कपडाहरू दराजभित्र चिटिक्क झुन्डाएर राख्ने जाँगर कहिल्यै आएन मलाई। हुन त कुनै काम पनि त्यति जाँगरले गर्ने मान्छे म होइन। त्यसमा पनि कपडाको विषयमा बढी नै असहिष्णु छु म।
साँझ कलेजबाट फर्केपछि हतारमा कपडाहरू मिल्काउने अनि मोबाइलको स्क्रीन हेर्दै बिस्तरामा पल्टिने मेरो दैनिकी नै हो। मोबाइल हेरेर के पाइन्छ भनेर दिउँसो किशोरकिशोरीहरूलाई दिएको लेक्चरले आफैलाई जिस्काइरहेको हुन्छ हरेक साँझ।
कपडाको व्यवस्थापनको विषयमा प्रशंसासँग खटपट परिरहन्छ मेरो। अरू कुरामा काँटछाँट हाम्रो स्वभाव र सोच मिल्छ। यो विषयमा चाहिँ कहिल्यै मेलमिलाप भएन।
उनी घर सफाचट राख्नुपर्छ भनेर दिनरात त्यसैमा तल्लीन रहने। म भने केही दार्शनिकहरूको सन्दर्भ लिएर आफ्नो बचाउ गर्ने। सँगै बस्ने भएपछि ‘एग्री टु डिस्एग्री’ भनेर पनि समाधान नहुने जटिल विषय हो यो। कुरा सामान्य पनि हो। मैले जस्तै उनले पनि गरिदिने हो भने हाम्रो घर पिकनिक सकिएपछिको चौरजस्तै भद्रगोल हुन्छ होला।
कपडा मिलाएर राख्ने निर्देशन आएपछि प्रत्येक पटक म थाकेको बहाना बनाउँछु। रमाइलो कुरा हरेक खटपटको अन्त्य ‘स्कृप्टेड प्रयाङ्क’ को जस्तै हुन्छ। प्रत्येक पटक मैले मन नलागी-नलागी बेडरूमको ड्रअरमा कपडा कोचेपछि नै यो सामसुम हुन्छ।
यद्यपि ‘प्रयाङ्क’को ‘सिरिज’ जस्तै नियमित चलिरहन्छ उही खटपट। भनाभनपश्चात उनले सोचेजस्तो दराजमा लस्करै मिलाएर कहिल्यै कपडा राख्दिनँ मैले। मेरो इगोले गर्दा यस्तो भएको हुनसक्छ। त्यसो त उनी पनि जबरजस्ती ड्रअरमै कोचेर राखे पनि खासै गुनासो गर्दिनन्।
म भनेको मानेजस्तो गरेर कपडा ड्रअरभित्र खाद्ने अनि उनी चाहिँ भनेको मान्यो भनेर खुसी हुने। सायद ‘विन-विन एप्रोच’ भनेको यस्तै होला। यसरी नै चलिरहेछ जिन्दगी।
बेलाबखत उनी माइतीघर जाँदा म बैराग पाराले घरमा बस्छु। कपडा मिलाउन नपर्ने कुराले उनको अनुपस्थितिमा हर्षित पनि हुन्छु अलिकति। सम्झाउने मान्छे नभएपछि सबै कोठाका बेडहरू कपडाले भरिन्छन्।
खासमा दश मिनेट समय दियो भने सबै कपडा एकैपटक मिलाएर राख्न सकिहालिन्छ नि भन्ने सोच्छु म। तर मेरो जिन्दगीको घडीमा त्यो दश मिनेट कहिल्यै आएन।
एकअर्कासँग टाढा भएको बेला फोनमा खासै बातचित हुँदैन हाम्रो। बेलाबेलामा यस विषयमा कुरा उठाए पनि उनी खुसी नै छन् जस्तो लाग्छ मलाई। विश्वास अनि एकअर्काको स्वतन्त्रताको सम्मानले गर्दा पनि यस्तो भएको हुनसक्छ।
दिउँसोभरि फोनमा कुरा नभए पनि साँझ खानासाना खाइसकेपछि म्यासेन्जरमा म्यासेज गर्ने सधैँ पहिलो हुन्छिन् उनी। आफूले नै पहिला म्यासेज गरेको विषयको जानकारी उनले कुनै च्याटमा कहिल्यै छुटाएको याद छैन मलाई।
म भने उनको यस्तै हर्कतले एक्लै मुसुमुसु हाँसिरहन्छु। यसलाई उनको गुनासोभन्दा बढी माया भनेर अर्थ लगाउँछु म। अनि मैले पनि कहिलेकाहीँ प्रतिस्पर्धा नै सम्झेर पहिलो म्यासेज गर्छु। यस्तो अवस्थामा भने म्यासेजको वास्ता नगरेको बहाना गर्छिन् उनी।
यस्तै सानातिना झिनामसिना कुराले सम्बन्ध मजबुत र गतिशील बनाउँछ सायद। अनि हरेक रात च्याटको अन्तयमा गुड नाइटपछि माया मिसिएको धम्की आउँछ- ‘कपडा चाहिँ मिलाएर राख्नू है।’
पुस महिनाको अन्तिम हप्ता तिरको कुरा हो क्यारे। जाडोले आफ्नो प्रभाव अझै बढाउने तरखर गर्दै थियो। म पढाउने काम दिउँसै सकिए पनि साथीहरूसँग गफ गरेर सकभर साँझ नै पारेर घर फर्किन्छु।
त्यस दिन पनि बेतुकका विषयमा जनक र कुमारसँग भेनाको होटलमा निष्कर्षविहीन बहस सिध्याएर साँझपख घर फर्किएको थिएँ। मूल ढोकाको छेउमा जुत्ता खोलेर बैठक कोठा हुँदै बेडरूमतिर छिरेँ।
भान्छा बैठकसँगै जोडिएको छ हाम्रो घरको। उनी भान्छामा व्यस्त थिइन्। मेरै लागि खाजा बनाउँदै थिइन् सायद।
‘आउनु भो?’ उनले म तिर नफर्की सोधिन्।
‘अ’ मैले छोटो जवाफ फर्काएँ।
साँघुरो बेडरूममा पंखा अड्काउन निकालिएको सिलिङको गोलाकार रड र झ्यालको माथिल्लो बारमा बाँधेर छोराको लागि कोक्रो झुन्डाइएको थियो। त्यही कोक्रोमा बाबु उभिएर खेल्दै थियो। मलाई देख्नेवित्तिकै ऊ हात फैलाएर रून थाल्यो।
खासमा प्रत्येक पटक ऊ मलाई देखेपछि यसै गर्छ। कोरोनाको डर अझै केही हदसम्म रहेकाले मलाई बाहिरबाट आएपछि हात नधोई बाबुलाई छुन दिन्नथिइन् उनी। म पनि यस विषयमा चाहिँ केही हदसम्म सजग थिएँ।
बाबुलाई लिने हतारले म झ्यापझुप आफूले लगाएका कपडाहरू खोलेँ। बेडको ड्रअरबाट टिसर्ट र ट्राउजर झिकेर छिटोछिटो लगाई बाथरूम तिर दौडिएँ। छोरो मतिर हेरेर हात फैलाएर रूँदै थियो। मलाई भन्दा उसलाई बढी हतार थियो मेरो काखमा टाँसिन।
बाथरुममा हात धुँदै गर्दा म नराम्रोसँग झस्किएँ। एक्कासी भुइँमा केही खसेजस्तो ड्वाङ्ङ आवाज आयो। अनि त्यो रहस्यमय आवाजलाई बाबुको रोएको चर्को आवाजले पछ्यायो।
प्रशंसा चिच्याइन्, ‘लौ न बाबु कोक्रोबाट खसेछ।’
मेरो सातो गयो। हतारहतार चुक्कुल खोलेर बाहिर निस्किएँ। उनी बाबुलाई काखमा च्यापेर ढाडमा विस्तारै हान्दै थिइन्। बाबु सँगसँगै उनी पनि आत्तिएर रूँदै थिइन्।
‘कतै धेरै चोट त लागेको छैन?,’ बाबुलाई लिनको लागि हात बढाउँदै मैले सोधेँ। खासमा आफ्नै प्रश्नसँग म डराएको थिएँ।
‘खोई, लागेको छैन होला नि! कस्तरी खस्यो नि मेरो बाबु,’ उनले भनिन् अनि मतिर फर्केर उसलाई आफ्नो छाती र गर्धनमा टाँसिरहेकी उनी अर्कोतर्फ घुमिन्।
म प्रस्टै बुझ्न सक्थेँ उनी बाबुलाई आफूसँगै टाँसेर राख्न चाहन्थिन्।
बाबुलाई काखमा राखेर केहीबेर उनी बैठक कोठा वरपर घुमिरहिन्। ‘होहो बाबु होहो’ भन्दै उनी बाबुलाई फकाउँदै थिइन्। म चाहिँ के गर्ने भन्ने मेसो नपाएर उनकै पछिपछि हिँडिरहेँ।
धन्न दुई/चार मिनेटमै विस्तारै बाबु शान्त भयो। एकअर्कालाई नभने पनि हामी करिब-करिब निश्चित भइसकेका थियौँ, बाबुलाई त्यस्तो चोट केही लागेको छैन। काखमा राखेर मुसार्दै हल्लाएको कारणले बाबुले आँखा विस्तारै सानो बनाउँदै थियो। म उनको पछाडि भएकोले उसको अनुहार प्रष्ट देखेको थिएँ।
‘निदाउला जस्तो गर्या छ, कोक्रोमा राख्ने कि?’ मैले प्रस्ताव गरेँ।
केही नबोली उनी कोक्रो भएको बेडरूमतिर लागिन्। म अनुशासित विद्यार्थी झैँ पछिल्लो केही मिनेटदेखि उनकै पाइला पछ्याउँदै थिएँ।
खासमा बाबु मेरो काख आउनलाई बल गरेर तन्किँदा खसेको हो भन्ने कुराले मलाई आत्मग्लानी भइरहेको थियो। त्यसैले म उनीसँग खुलेर कुरा गर्न सकिरहेको थिइनँ।
कोक्रो छेउ पुग्नेबित्तिकै उनी टक्क रोकिइन्। फनक्क फर्किएर ठूला-ठूला आँखाले हेरिन् मलाई। जब भुइँमा मेरा आँखा गए मैले कुरो बुझिहालेँ। हतार-हतारमा मैले सबै कपडाहरू भुइँमै मिल्काएर बाथरूम छिरेको रहेछु।
पोखराको पुसको जाडो छल्न लगाएको भकुल्ले ज्याकेट, स्विटर, लामबाहुले टिसर्ट, पाइन्ट, भित्री ट्राउजर र गलबन्दीको थुप्रो बेडरूममा फोहोरको चाङझै ठडिएको थियो।
‘के गरेको यस्तो! कहिल्यै कपडा मिलाउन आएन है,’ उनी मलाई हेर्दै जोडले चिच्याइन्।
उनी नराम्रोसँग रिसाएको अनुहारमा प्रष्टै देखिन्थ्यो। त्यो थुप्रोको दृश्यले भर्खरको घटना पूरै मेटाइदियो सायद उनको दिमागबाट।
‘खुरुक्क कपडा मिलाएर राख्नू!’ यति भन्दै कोक्रोमा सुताउन ल्याएको बाबुलाई काखमै राखेर उनी बैठक तिर लागिन्।
यसपटक थाकेको बहाना बनाउनु त्यति उपयुक्त लागेन मलाई। लज्जा र ग्लानीको भावले म कपडाको थुप्रोतिर बढेँ। निहुँरिएर ज्याकेट उचाल्न लाग्दा मैले देखेँ कि कोक्रो कपडाको चाङभन्दा ठिक माथि थियो।
एक्कासी मलाई पहिलोपटक आफ्नो नराम्रो बानीमा गर्व महसुस भयो।
‘कहिल्यै भनेर नलाग्ने यो मान्छेलाई, एकजनाले मात्रै सफा गरेर कति सकिन्छ...’ पल्लो कोठाबाट आवाज आइरहेको थियो। म भने मुस्कुराउँदै बलजफ्ती ड्रअरमा ज्याकेट धकेल्दै थिएँ।