गोरेटोहरूले रुप फेरेछन्
चौतारोहरूले स्वरुप बद्लेछन्
पाखाका पत्थरहरूले
टिनको आभास पनि गरेछन्
चाउरिएका अनुहारहरू सम्झनामा
मात्र सीमित रहेछन्!
तर पनि वर्षौंपछि
आज आवतजावत गरिरहँदा
यादहरू अझै ताजा छन्
हावाको सिरेटो उस्तै
चलिरहेको छ
त्यो जुकेपानीको वन होस् या
त्यो कालेडाँडाको वन होस्
ती वनको आडमा
मैले बचपन बिताउँदाका
सबै पलहरू मस्तिष्कमा
पुनरागमन भैइरहेका छन्
ती रुखहरू उस्तै
अझै उही लहरमा नै छन्
ती पातपतिंगर आफ्नै स्थानमा छन्
ढुङ्गाहरूलाई चउरले
आफ्नो स्पन्दन सुम्पिरहेको छ
परिवर्तन केवल रुखहरूको
मोटोपनमा देखिरहेको छु!
दिन ढल्किँदै गर्दा
चरीले गीत गाउँदै गर्दा
त्यो सल्लाह रुखको तहहरू निकाली
रुखमा आफ्नो नाम खोपेको छाप
अझै उस्तै रहेछ!
मैले घण्टौँ त्यो रुखमा
हामी दुईलाई पाइरहेँ
लाग्दैछ मेरो आँखालाई
आखिर परिवर्तन के नै भएको छ र?
म छु, त्यो वन छ
चराचुरुङ्गी छन्,
त्यो प्रेमको रुख पनि छ
बाध्यताले भनौँ
या समयले भनौँ
परिवर्तनको नाममा तिमी छैनौ
त्यहाँ केवल म छु
मनले भन्यो!