तिमीले जति किच्न खोजे पनि
म किचिन्नँ
बरु ती चाप र दबाब
यन्त्रणालाई बनाएर बाँसुरी
म फक्रन्छु
र फैलाउँछु सुवास लोकमा
म मेरो लागि घाम हुँ
उज्यालो छरिरहन्छु, बस्तीभरि
म मेरो लागि हावा हुँ, अक्सिजन
भरिरहन्छु प्राणहरूमा
म दियो हुँ
चिरिरहन्छु कालो रात
तिमी सदियौंदेखि अभ्यस्त छौ थाहा छ
तर मलाई पतन बनाउने कल्पना गर्दै नगर
तिमी मलाई झार बनाउँछु भन्ने कुरा सोच्दै नसोच
तिमी मलाई पाइतालाको धुलो सम्झने चेष्टा नराख
मलाई ढोका थुनेर राख्ने कोसिस गर्यौ भने
म भत्काउने छु घरका भित्ताहरू
फुटाउने छु धमनी र शिरा
र, निस्कने छु स्वतन्त्र यात्रामा
मेरो खुट्टामा बाँधिदियौँ भने
जन्जिरको धागो
चुँडाल्ने छु र तय गर्नेछु शिखरको यात्रा
म तुइन हैन
जतिबेला पनि चुँडिन सक्ने
म भिर हैन
जतिबेला पनि भत्कन सक्ने
म धुलो हैन
जतिबेला पनि उडाउन सक्ने
म मान्छे हुँ
एक मान्छे जसले
तिम्रो विचारको गिदीलाई
मुछेर मेरा विचारहरूसँग
मारेर विषाक्त पुस्तैनी विचार
एक नूतन ब्राह्मण तयार गर्न सक्छु।