‘तैँले त आफ्नो भविष्य बनाइस् यार। समयमै विदेश गइस्। त्यहाँ त लाइफ सेटल्ड छ है! भनेजस्तो कमाइ अनि चाहेजस्तो जीवन। जन्मिएको देश मात्र भनेर पनि केही नहुने रहेछ। दिनरातको राजनीतिक कचिङ्गलले यहाँ बस्ने सबै मान्छे विरक्तिसकेका छन्। तैँले जे गरिस्, ठिक गरिस्।’
जिन्दगीसँग असाध्यै विरक्तिए जस्ती देखिने एउटी युवती क्याफे नै थर्किने गरी ठूलो-ठूलो स्वरमा चिच्याइरहेकी थिइन्। नेपाल छोडेर गएकी आफ्नी साथीको थोरै मात्र सम्झना अनि अलि बढी ईर्ष्या प्रष्ट देखिन्थ्यो उनको बोल्ने शैलीमा।
ती युवतीले बाहिरी मुलुकको तारिफ यतिसम्म गरिन् कि मानौं त्यहाँको हावामा सास फाल्ने र लिनेहरूले जिन्दगीमा कहिल्यै असन्तोषको सास फेर्नु पर्दैन। मानौं त्यहाँ बस्ने मानिसहरूले कौडीको भाउमा यत्रतत्र खुसी किन्न पाउँछन्। हिउँदमा करेसाबारीको बोटमा लटरम्मै आँप फलेजस्तै त्यहाँका रुखहरूमा लटरम्मै पैसा फल्छन्।
युवती अझै पनि गफिरहेकी थिइन्। मैले फोनको पल्लोपट्टि कान थापेर बसेकी उनकी साथीलाई सम्झिएँ। बाह्र घण्टाभन्दा लामो सिफ्ट सकेर भर्खरै मात्र कोठामा आइपुगेकी होलिन्। रातभरिका अनिदा आँखा बोकेर मेट्रोमा झुन्डिँदै फर्किएकी उनलाई अब खाना बनाएर खाने अलिकति फुर्सद, पेटमा धेरै भोक अनि आङमा शून्य जाँगर होला।
न कहिल्यै देखेको, न कहिल्यै भेटेको। मैले उनको थकित अनुहार मेरो कल्पनामै कोरेँ। मायालाग्दो अनुहारमा प्रायः उनी टिठलाग्दो मुहार बोकेर हिँड्छिन्। आजको यो चिठी मेरी अपरिचित भएर पनि परिचित झैं लाग्ने तिनै साथीको नाममा।
तिम्रो परिस्थितिसँग साक्षात्कार त गर्न नसकुँला म तर सङ्घर्षका कहालीलाग्दा दिनहरूसँगै तिमीले आफ्ना खुसीहरू कतै साटेको कुरासँग म जानकार छु।
रहर एउटा अनौठो चिज हो। रहर पूरा गर्न मान्छे कुन हदसम्म पुग्छ भन्ने कुरा मैले राम्रोसँग बुझेकी छु।
रहरै रहरको भूमरीमा बेरिएर सात समुद्रपारि पुग्यौ। कति रहर त सायद उम्रन नपाउँदै मरेर गए। माया लाग्दा लाग्दै पनि कति रहरहरूको हत्या गर्न बाध्य भयौ तिमी। तिमीले बोकेको महङ्गो र लेटेस्ट डिजाइनको फोन निकै चर्चाको विषय बनेको छ आज यहाँ। किस्ताबन्दीमा निकालेको त्यो फोन दिनको आधाभन्दा बढी समय सायद साइलेन्ट मोडमै हुन्छ होला।
कानमा आमाको चर्को गाली अनि आँखामा एक हात माथि पुगिसकेको घामको चर्को किरणले नबिझाउन्जेलसम्म ओछ्यानमा मस्त पल्टिरहने तिमी आज झिसमिसे पनि नहुँदै मोबाइलमा बज्ने चर्को अलार्मको ध्वनिले जर्याकजुरुक उठ्छौ। समयको चक्र फेरिँदै जाँदा तिम्रा आवश्यकता र जिम्मेवारीहरू पनि फेरिँदै गएका होलान्। प्रवासको बाटो सजिलो नभए पनि तिम्रा लागि त्यही निर्णय स्पष्ट थियो।
अङ्ग्रेजीमा एउटा भनाइ छ- द ग्रास इज अल्वेज ग्रिनर अन द अदर साइड। नजिकको सुखले भन्दा पनि टाढाको दुःखले नै मान्छेलाई बढी आकर्षण गर्ने रहेछ।
हप्ताभरिको थकान मेटाउन तिमी सबैभन्दा सहुलियत पर्ने कुनै ठाउँको भ्रमणमा निस्कन्छौ। रेस्टुरेन्टका मेनुहरू पल्टाउने क्रममा तिमीले हरेक खानाको मूल्यलाई पालैपालो डलरबाट नेपाली पैसामा रुपान्तरण गर्ने कुरासँग म जानकार छु। मुस्किलले महिनाको एक पटक तिमीले सामाजिक सन्जालमा राखेको फोटोले यहाँ नेपालमा सबैको न्युज फीड मज्जाले तताउँछ।
‘फोन पनि गर्न छोडिस्। आमाबुवासँग बोल्ने फुर्सद निकाल्न पनि कत्ति गाह्रो परेको तँलाई?’
‘आइफोन ल्याइदिनु पर्छ भनेर हो कि क्या हो साथी? आजकल त न फोन न टेक्स्ट। कहिलेकाहीँ त सम्झिने गर।’
नेपालबाट आउने अधिकांश खबरहरू यस्तै होलान् तिम्रा। घरमा आमाले सधैं लिने पीरको भारी थपिएला भन्ने डरले कलेजको ड्यु फी अनि त्यसको भरपाइका लागि गर्नुपर्ने ओभर टाइमका बारे तिमीले स्वयमलाई बाहेक अरु कसैलाइ खबर दिएकी छैनौ है?
कामसँग लड्दा लड्दै बिरानो भएको थकित शरीरलाई एकैछिन बिसाउन कसैको काँध नपाउँदाको असह्य पीडा अनुभूत गर्न नसके पनि बुझ्ने अथाह कोसिस गरेकी छु। बाटो चाहे जतिसुकै अप्ठ्यारो र कठिन किन नहोस, हजारौं घुम्तीहरू पार गर्दै भए पनि एकदिन गन्तव्यमा पुगिन्छ भन्ने कुरामा तिमी निश्चित हुनू।
रमिते सहरमा श्रमको व्यापार गरेर तिमीले किनेको भविष्य पक्कै पनि सुनौलो हुनेछ। तिमी मैनबत्ती जस्तै बन्नू जो आफू जलेर, पग्लिएर अनि सक्किएर पनि परिवारको खुसीका लागि निरन्तर उज्यालो प्रदान गरिरहनेछौ।
कहिले तिमी यसै नाचिदिनू, तालको कुनै पर्वाह नगरी। अनि कहिले यसै गुनगुनाइदिनू, सुरको कुनै पर्वाह नगरी। तिमीले आजसम्म सुख मात्र भोग गर्यौ, खुसीले अटेर गरिरह्यो तिम्रो नजिक आउन। भन्छन् नि, हाँस्न धेरै सजिलो छ फिस्स दाँत देखाइदिए पुग्ने। रुन औधी गाह्रो।
दिल खोलेर हाँसेजस्तै कहिलेकाहीँ दिल खोलेर तिमी रोइदिनू। सायद मनका आधाभन्दा धेरै पीडाहरू आँसुसँगै बगेर जानेछन्। कहिले तिमी मस्त पानीमा रुझिदिनू अनि कहिले फूलहरूसँग भलाकुसारी गर्नू।
दुनियाँले तिमीलाई जति गिज्याओस्, तिमी कति पनि नडगमगाउनू। कति पनि नाआत्तिनू। तिमीलाइ राम्रो लाग्ने कुरा अरु कसैलाई कुरुप लाग्न सक्ला। ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।’ तिमी बस आफ्नो कर्म गर। कर्मले सधैँ खुसी नल्याउन सक्छ, तर कर्म बिना त्यहाँ कुनै खुसी नै हुँदैन।
परिवारबाट छुट्टिएर टाढा बस्नु आफूमै एउटा चुनौती हो। चाहँदा चाहँदै पनि फर्किने परिस्थिति नमिल्नु अर्को बेथिती। केही समयका लागि यहाँबाट पोको पारेर लगेका यादहरू नै तिम्रा सारथी बन्नेछन्।
आज भन्दै, भोलि भन्दै दिनहरू बित्दै जानेछन्। समयको मेसो मिल्दै जानेछ, जिन्दगीको पनि। सबै कुराहरू आदत बन्दै जानेछन्। अनि अँ, व्यस्ततामा आफैसँग साथी बन्न चाहिँ कहिल्यै नबिर्सिनू। तिमी अरु केही वर्ष त्यहाँ संघर्ष गर। तिम्रो गन्तव्य यहाँ तिमीलाई पर्खेर बसिरहेको छ।