म यस्तो प्रेममा परेँ कि जुन अन्जान थियो। प्रेमको लागि कुनै व्यक्ति अपरिचित नहुँदो रहेछ।
म सामान्य रोजगारीको लागि काठमाडौँमा बस्ने गर्दछु। मेरो दिनहुँ हिँड्ने बाटो भनेको कोटेश्वर-बानेश्वर क्षेत्र पर्दछ। म बिहान दश बजे निस्किन्छु भने करिब ५ बजे घर फर्किन्छु।
एक दिन कोटेश्वरको ट्राफिक जाममा म रोकिन पुगेँ। मोटरसाइकलमा आवतजावत गरिरहने म फूटपाथ आसपास रोकिन पुगेको थिएँ। म रोकिएकै ठाउँमा एक अपरिचित केटी उभिरहेकी थिइन्। हेर्दा उनी २०/२२ वर्षकी देखिन्थिन्।
मलाई उनी निकै सुन्दर लाग्यो। झोला भिरेर हातमा मोबाइल बोक्दै कसैलाई पर्खेकी जस्ती थिइन्। ट्राफिक जाममा बाइक स्टार्ट बन्द गरेर रोकिराखेको बेला उनको र मेरो आँखा जुध्यो।
उनी मलाई हेर्दै मुसुक्क हाँसिन्। खै किन हो मैले पनि आँखाको चालमा हाँसेको संकेत गरेँ। टाउकोमा बन्द हेलमेट लगाएको थिएँ जसले गर्दा पूरै अनुहार देखिएको थिएन। केवल हेराइ-हेराइ मात्रै भयो। जाम खुल्यो र म निस्किएँ।
दोस्रो दिन पनि त्यही समयमा म कोटेश्वर ट्राफिक जाममा परेँ। उनी पनि त्यही रहेछिन्। तर त्यो दिन म जाममा रोकिएको दूरी र उनी उभिएको दूरी केही टाढा थियो। उनी हिँड्दै म भएकै ठाउँमा आइपुगिन् तर बोलिनन्।
म पनि लजालु स्वभावको, बोल्ने आँट गरिनँ। हेराइ भने दुवैको रोकिएन। उनी अलि मुसुक्क हाँस्थिन्, म भने लजाउँदै यताउता मात्रै हेर्थें। उनी पक्कै म अन्जानसँगको प्रेममा परेको हुनुपर्छ भन्ने लाग्यो।
खै किन हो मभित्र पनि प्रेमका तरंगहरू पैदा हुन थाले। त्यो दिन पनि कुराकानी भएन, त्यत्तिकैमा म हिँडिहालेँ।
मनमा अनेक प्रश्न खेल्न थाल्यो। खुल्दुली हुन थाल्यो। किन उसले मलाई यसरी हेरी? न चिनजानको मान्छे न मेरो बारेमा केही बुझेको छ भनेर अनेक प्रश्न मनमा खेल्न थाल्यो।
घर आएपछि पनि म उनकै यादमा तड्पिन थालेँ। न उसको परिचय थाहा छ न त ठेगाना। तर उनको माया भने बढेर आयो। म यस्तो प्रेमको भावमा विलीन हुन थालेँ कि जुन कल्पना पनि गर्न सकिँदैन।
मलाई यति पनि थाहा भएन कि उनी सधैँ त्यही ठाँउमा भेटिन्छिन् भन्ने के छ?
म सधैँ त्यही समयमा अफिसबाट निस्किने भएँ। भोलिपल्ट शनिबार थियो। शनिबार पनि भेट हुन्छ कि भनेर त्यही समय मिलाएर कोटेश्वरतिर निस्किएँ। त्यो दिन मेरो योजना थियो उनीसँग कुराकानी गर्ने।
बिदाको दिन खाली छु भनेर कोटेश्वर निस्केको त उनीसँग भेट नै भएन। कोटेश्वरदेखि तीनकुनेसम्मको सडक पेटी हेरेँ, उनलाई देखिनँ। सायद उनी पनि बिदामा हुनुपर्छ भन्ने लाग्यो र निरास हुँदै घर फर्किएँ।
आइतबार म सधैझैँ समयमा फर्केको त उनीसँग भेट भयो। आज त जसरी नि बोल्नुपर्छ भनेर बाइक सडक छेउमा रोकेँ र उनलाई कहाँसम्म जाने हो म छोडिदिन्छु भनेँ।
उनले ‘हुन्छ, म पेप्सीकोला जाने हुँ छोडिदिनुहुन्छ त? भनिन्।
मैले ‘म पनि त्यतै जाने त हुँ, मेरो पनि बसाइ त्यतै हो’ भनेँ र बाइकको पछि राखेँ।
कोटेश्वर र पेप्सीकोलाको दूरी केवल दुई किलोमिटर छ। यति सानो दूरीको यात्रा भए पनि ट्राफिक जामले गर्दा कम्तीमा १५ मिनेट त लागिहाल्छ। मैले धेरै कुरा सोध्न भ्याइनँ र हिम्मत पनि गरिनँ। उनले पनि धेरै कुरा सोध्न नचाहेको हो या सोध्न नसकेको हो थाहा भएन।
हाम्रो कुरा केवल के काम गर्छौ भन्नेमा सीमित भयो। मैले मेरो जागिरको बारेमा बताएँ र उनले पनि आफू क्याम्पस पढिरहेको बताइन्। उनले मेरो घर कहाँ हो भनेर सोधिन्।
मैले जवाफमा कञ्चनपुर भएको बताएँ र उनको पनि सोधेँ। उनले आफ्नो घर सिन्धुली भएको तर हाल स-परिवार यतै बस्ने बताइन्। त्यतिकैमा हामी पेप्सीकोला पुगिहाल्यौँ।
मैले उनलाई कहाँ छोडिदिने हो या घरमै छोडिदिउँ भन्दा ‘नाई घरमा थाहा पाए गाली गर्छन्, को हो? किन त्योसँग आएकी भनेर’ भनिन्।
मैले उनको घरवरै चोक नजिक छोडिदिएँ र भिजिटिङ कार्ड दिएर म छुट्टिएँ।
अब मलाई ढुक्क के भयो भने उनी मलाई साँच्चे मन पराउने भए फोन कल आउँछ, नभए आउँदैन। मैले आवतजावत गर्ने टाइम सेड्युल मिलाउन छोडिदिएँ। आफ्नो समय अनुकूल घर फर्किन थालेँ भने कोटेश्वर फूटपाथमा ध्यान दिए पनि खासै वास्ता गर्न छोडिदिएँ।
उनीसँग तीन/चार दिनको अवधिमा न भेट भयो न त फोन कल नै आयो। पाँचौँ दिन अपरिचित नम्बरबाट फोन आयो। ट्रूकलर एपबाट अपरिचित नम्बरमा नाम देखिन्थ्यो। मेरो फोनमा उक्त नम्बर सेभ नभए पनि अस्मिता नाम देखायो।
मलाई थाहा थिएन उनको कल हो भनेर। फोन उठाएँ।
‘हेल्लो के छ खबर?’
चिन्नु न जान्नु के छ खबर भनेको भनेर मैले नि ‘ठिक छ अस्मिता, आफ्नो के छ खबर?’ भन्ने बित्तिकै उनी हाँस्न थालिन्। मेरो नाम कसरी थाहा भयो भन्ने प्रश्न राख्न थालिन्।
म नि के कम, चिन्नु न जान्नु म ज्योतिष हुँ सबैलाई चिन्न सक्छु भन्दा उनले सोधिन् ‘नाम मात्रै थाहा पाउनुभयो कि मान्छे पनि चिन्नुभयो?’
मैले मान्छे त चिन्न सकिनँ को हो बताउनु त भन्दा ‘अस्ति मलाई पेप्सीकोला छोडिदिनुभएको होइन त, त्यही मान्छे बोल्दैछु’ भनिन्।
मैले नि हाँस्दै ‘मन पराएको मान्छेको त नाम थाहा भैहाल्छ नि’ भन्दा उनले आफूलाई दिदीको घरमा छोडिदिन आग्रह गरिन्। उनको दिदीको घर सातदोबाटोबाट अलि भित्र रहेछ।
सार्वजनिक बिदाको दिन थियो, म व्यक्तिगत काम सकेर बसेको थिएँ। मैले नि हुन्छ भनेँ र पेप्सीकोला चोकमा गएँ। उनी त्यहाँ उभिएकी थिइन्। म पुग्ने बित्तिकै बाइकमा बसिन् र हामी सातदोबाटो लाग्यौँ।
सामान्य गफगाफमा हाम्रो यात्रा सुरु भयो। उनको घरीघरी प्रश्न मात्रै थियो कि मेरो नाम कसरी थाहा भयो भन्ने। मैले एपमा नाम आउने बताएँ। अनि कुरा अघि बढ्यो मलाई कोटेश्वरमा त्यसरी किन हेरेको भन्ने विषयमा।
उनले त्यसको जवाफ अहिले नदिने र खाली समयमा बसेर बताउने भनिन्।
मैले जवाफ खोजी गर्ने निर्णय गरेँ। उनलाई आजै बसेर जवाफ माग्ने सोचेँ।
‘म आज समय दिनसक्छु। तिम्रो मनमा लागेको कुरा सेयर गर्न सक्छौँ र हामी क्लियर भएर अघि बढौँ’ भन्दा उनले नि हुन्छ भनिन्।
मैले तिमी दिदीको घरमा पुगेर आऊ कति खेर समय मिल्छ म पछि आउँला भन्दा दिदीको घर नगई गोदावरी जाने कुरा सुनाइन्। मैले कतै समस्या त हुँदैन नि भन्दा उनले दिदीलाई केही बहानामा ढिला आउने बताउने र हामीहरू गोदावरी पार्कमा जाउँ भनिन्।
हामी गोदावरी पार्क लाग्योँ। दिउँसोको समय थियो। गोदावरी पार्क छेउमा रहेको खाजा पसलमा खाजा खायौँ र पार्कमा बस्यौँ। उनको पूरा परिचयबाट संवादलाई अघि बढायौँ। मेरो पनि पूरा परिचय दिने कोसिस गरेँ।
अस्मिताको दिदी र म सँगै पढ्ने साथी रहेछौँ। उसले मेरो बारेमा दिदीबाट बुझिसकेकी रहिछ। मेरो बारेमा उनलाई थाहा भए पनि उनी मेरो लागि अपरिचित नै थिइन्। मसँगै पढ्ने निरुताको बहिनी रहेछिन्, त्यो मात्रै उनले बताइन्।
मलाई विश्वास लागेन। उसको मोबाइलमा फोटोहरू हेरे साँच्चै निरुताको बहिनी पो रहेछिन्। मैले मेरो अफिसको वार्षिकोत्सवमा निरुतालाई बोलाएको थिएँ र सोही कार्यक्रममा अस्मिता पनि आएकी रहेछिन्। सोही समयदेखि आफूले मन पराएको कुरा बताइन्।
उनले प्रेम प्रस्ताव राख्ने र स्वीकार गरे घरपरिवारबाट समेत अनुमति माग्ने कुरा भन्न थालिन्। म अलमलमा परेँ, नसोचेको प्रश्नले म जवाफविहीन भएँ।
उनको स्वभाव, बानी व्यहोराले मलाई पनि नाई भन्न मन लागेन र हामी प्रेम सम्बन्धमा गाँसिने निधो गर्यौं। लामो अन्तरसंवाद चलिरह्यो अनि हामी एकअर्कामा प्रेमजोडीको रुपमा चिनिन थाल्यौं।
अब मलाई निरुताले चाहिँ के भन्ने हो, कसरी परिचय भएछ भन्यो भने के भनुँला भन्ने पीर लाग्न थाल्यो। निरुतासँग चिनजान भए पनि उसको घरको पृष्ठभूमि मलाई थाहा थिएन। तर त्यो दिन अस्मितालाई भने सोध्न भ्याएँ।
बुवा नेपाल आर्मीमा र आमा स्वास्थ्यकर्मी भएको कुरा बताइन्। दिदी निरुताको विवाह भइसकेको र भाइ प्लस-टुमा अध्ययनरत रहेको बताइन्।
लामो गफगाफपछि समयले पनि नेटो काट्न थालिसकेको थियो। साँझ ६ बजिसकेको थियो। मैले त्यो दिन उनलाई साँझ ७ बजेतिर दिदीको घर नजिक छोडिदिएँ र आफू कोठामा फर्किएँ।
अब हामी साँच्चै प्रेम सम्बन्धनमा बाँधिसकेका थियौँ। उनको तस्बिर आँखामा देखिन थालिसक्यो। ऊबिना बाँच्न नसक्ने अवस्थामा पुग्न थालेँ। ऊसँग फोनमा कुरा गरिरहेन लत बसिसक्यो। सधैँ भेट हुन नपाए पनि फोनमा कुरा भने भइरहन्थ्यो।
बिदाको दिन हाम्रो भेटले लगभग निरन्तरता पाउथ्यो। अब हामीले हाम्रो प्रेम कहानी आ-आफ्नो घरमा बताउने र एकअर्कासँग विवाह गर्ने सोचमा पुग्यौँ। ऊ मभन्दा कान्छी भए पनि घरपरिवारसँग सबै कुरा मिल्ने भएकाले कुनै कुरामा नरोकिने आशा थियो।
एक दिन निरुतासँग मैले फोनमा कुरा गरेँ र बहिनी मन पराएको कुरा बताएँ। उसले हाँस्दै भनिन्- ‘बहिनीको बिएल पढाइ सकिने बित्तिकै विवाह गरिदिउँला नि किन चिन्ता लिएको!’
निरुताले मेरो बारेमा सबै बुझिसकेकी थिइन्। म इमान्दार र मेहनती विद्यार्थीमा पर्थेँ, सो कुरा निरुतालाई राम्रोसँग थाहा थियो। अस्मिता र मलाई अब सहज हुने एउटा माध्यम थिइन् उनकी दिदी निरुता।
घरमा कुरा चल्दा निरुताले राम्रो पक्षलाई उत्थान गरी सहज गर्ने विश्वास मनमा जाग्न थाल्यो। नभन्दै निरुताले मेरो कुरा माइत आएको बेला घरमा बताइछन् र अस्मितालाई बोलाएर सोधिछन्। अस्मिताले पनि आफू मन पराउने कुरा बताइछ।
घर-सल्लाहअनुसार हामीलाई प्रेममा आधिकारिकता प्राप्त भयो। अस्मिताले सो कुरा मलाई बताइन्।
हाम्रो प्रेमले राम्रै गति लिइरहेको थियो। एकदिनको कुरा हो अस्मिता एक्कासी बिरामी परिन्। मसँग परिचय भएपछिको उनी पहिलो पटक अस्पताल भर्ना भएकी थिइन्। उनी लामो समय अस्पताल भर्ना भएकी रहेछन् मलाई त्यो थाहा भएन।
उनलाई भर्ना गरेको सातौँ दिन उनकी दिदी निरुताले मलाई जानकारी गराइन्। अस्पताल जाँदा थाहा भयो उनलाई क्यान्सर भएछ। म छाँगाबाट खसेजस्तो भएँ। मैले नसोचेको घटनाको सामना गर्नुपर्यो।
उनको उपचार भइरहे पनि उनी क्यान्सरको अन्तिम चरणमा प्रवेश गरिसकेकी रहेछिन्। उनी लामो समय अस्पताल बसिन् र उपचार निरन्तर चलिरहेको थियो। उनी बोल्न सक्थिन् तर उनमा भएको रोगले च्यापिरहेको थियो।
म लगभग दिनहुँजसो भेट्न गइरहन्थेँ। उनी गहभरि आँसु झार्दै रुने गर्थिन्। मलाई भेट्न जान पनि गाह्रो भइसकेको थियो। उनको घरबाट पनि मलाई भेट्न नआउनू भन्ने गर्थे तर मनले नमानेपछि केही दिन बिराएर जाने गरेँ।
एकदिन उनले मलाई अब हाम्रो प्रेमले गति नलिने र आफूलाई बिर्सिदिन आग्रह गरिन्। मेरो मनले उनलाई बिर्सिन सक्ने कुरै थिएन। उनी मृत्युलाई पर्खेर बसेकी छन्। हाम्रो प्रेममा कालो बादल लागेको छ। न उनी मेरो हुन सक्छिन् न त म उनको हुन सक्छु।
उनको एउटै मात्रै प्रस्ताव छ कि ‘म तपाईंको हुन सक्दिनँ, तपाईं मलाई बिर्सिदिनू’ भन्ने। तर म न अस्मितालाई बिर्सिन सक्छु न त उसले मलाई नै। उनले मलाई तपाईंसँग विवाह गरेर तपाईंको भविष्य नबिगार्ने बताउँदै आएकी छिन्।
मैले अस्पताल भेट्न जाँदा अस्मितालाई गाह्रो हुने भएकाले उनको बुवाले मलाई अस्पताल भेट्न नआउनू भन्ने आग्रह दिनहुँ गरिरहनु हुन्थ्यो, म भने गइरहन्थेँ।
एकदिन उनले मलाई आजदेखि नआउनू भनी चेतावनी दिएसँगै अस्पताल जाने बाटो पनि बन्द भएको छ। मैले आँखाभरि आँसुसहित अस्मिताको हात समात्दै भनेँ- ‘अस्मिता, तिमीलाई सन्चो हुनेछ म भगवानसँग प्राथर्ना गर्छु र हामी छिट्टै भेट्नेछौँ।’
अस्पतालबाट निस्किने बेलामा निरुतालाई बहिनीको ख्याल गर्न अनुरोध गर्दै कोठामा फर्किएँ। अस्मिताले आफू मृत्युको पखाईमा रहेको र मृत्युको दिन मलामी आइदिन अनुरोध गरेकी छिन्।
उनीसँग प्रेममा परेर प्रेम पत्र होइन मृत्युको पत्रको पर्खाइमा बस्नुपरेको छ। मिस यू अस्मिता, शीघ्र स्वास्थ्य लाभको कामना।