जंगलले घेरिएको बस्ती
पाताला घरहरू
कच्ची बाटो
चराचुरुंगीहरूको दिनभर चहलपहल
दुई/चार साथीभाइहरू
रमाइलो त लाग्थ्यो
तर पनि रहरहरूले भन्थे सुटुक्क मनमा
यो गाउँ छोडेर
सहर टेक्न पाए हुन्थ्यो
यति रहरहरू हुन्थे सहर टेक्ने
कुनै दिन पुगियो भने पनि
शितली मिठाई, रातो मिठाईले
आफूलाई तृप्त बनाइन्थ्यो
अनि प्रत्येक पटक गोजी छाम्दै
लटाइ र चंगा नजिकैबाट हेरेर फर्किन्थ्यो
कहिलेकाहीँ आमाले पैसा दिएको अवसर पर्दा
हाट भर्न गइन्थ्यो जसलाई बजार पनि भनिन्थ्यो
पट्ट आवाज निकालेर दिने त्यो सोडा पानी
आँखाले घुमाइ-घुमाइ हेर्नुपर्ने
बक्सा भित्रको सिनेमा
हेरिन्थ्यो
सहर साँच्चै मजा लाग्थ्यो
मनमा लाग्थ्यो यही सहरमा बाले एउटा घर बनाए हुन्थ्यो
ठूलो चौडा बाटो, ठूलो आँगन
रंगिचंगी ध्वजापताका सुन्दर घरहरू
सहर रहर हुन्थ्यो
बजार रमाइलो हुन्थ्यो
बालसुलभ ती सुन्दर सहरभित्रको
रमाइलो कति मज्जा लाग्थ्यो
समयको चक्रव्यूहमा
त्यो सहर बढ्दै-बढ्दै
मेरो गाउँमा आएको छ भरिएर अहिले
आँगनमा टेकेर करेसाबरी मिचेको छ सहरले
तर परिवेश भिन्न भएको छ
सहर मेरो गाउँमा आएपछि
कोलाहल बढेको छ
राति सुत्दैन सहर
व्यस्तता बाँकी उधारो कचिंगल
दैनिक साइरन चिच्याहट
अभावहरूको लस्कर
सहरले काखी चेपेर बस्छ
निरीह छ विचरा सहर
कता-कता चैतको उराठसँगै
यो मन आज विचलित छ
हिजो सम्झिएर बुद्ध खोज्दैछ
मन अन्तर्द्वन्द्वमा आहत भएको छ
लागिरहेछ आज मलाई पुनः गाउँ
त्यो गाउँको सुन्दरता
त्यहाँको शीतलताको अभाव खट्केको छ
कस्ता भए होलान् मेरा उरन्ठेउला संगीहरू
भावना कता-कता उद्वेलित छ
आँतुर छ
यो मनले त्यो स्वर्ग खोज्दैछ
म पुन: त्यस्तै हिजोको सुन्दर गाउँको खोजीमा छु
म हिजोको जस्तै गाउँ फर्कन चाहन्छु
चराचुरुंगीको गीत सुन्दै
ठूला-ठूला रुखका छायामुनि पुन: बस्ने
रहरहरू उत्कट भएर आएको छ
त्यो खोल्साको पानीमा डुबुल्की मार्दै माछासँग
पौडी खेल्न उस्तै रहर जागेको छ
यो सहर साँघुरो लाग्छ अचेल
हिजोको मेरो गाउँ
सहरभित्र पसेपछि
त्यही सहरको बीच भएर बग्ने त्यो सुन्दर खोला
कुरुप भएर अड्की-अड्की बग्छ
मनभिन्न हो कि सहरभिन्न हो
परिवर्तन आएको छ मनमा
हिजो सहर जाँदा खुसी लाग्थ्यो
आज गाउँ सम्झँदा खुसी लाग्छ
म गाउँ फर्कन चाहन्छु।