मेरो पहिलो प्रश्न थियो-
बा, राजधानी भनेको के हो?
बाले भन्नुभएको थियो
राजधानी त्यो हो जहाँ तिमी हामीलाई सुहाउँदैन
त्यो ठाउँ हो जहाँ महल नै महल छ तर घर छैन
जहाँ पैसै पैसा छ तर प्रसन्नता छैन
भान्सा कोठाभरि भोजन छ तर पेट भरी छैन
शिक्षित युवाको जमात छ तर जागिर छैन
बाटो बाटोमा दुर्दशा छ तर मानवता छैन
यो हो राजधानी
त्यही उत्तर खोज्न मैले राजधानी जाने प्रयत्न गरेकी थिएँ
कोलाहल र व्यस्त सहरको सानो-सानो दृश्य हेर्दा लाग्थ्यो
म कतै बिरानो सहरमा छु कि
जहाँ मेरा बाको उत्तर थियो
राजधानी त्यो हो तिमी हामीलाई सुहाउँदैन
बाटोहरू हेर्थें, मान्छेहरू हेर्थें मसँगै उनीहरूको नजर जुधिरहेको लाग्थ्यो
म उनीहरूको नजरमा हाँसोको पात्र भएको आभास हुन्थ्यो
साधारण आफ्नोपन देख्दा म कुन गाउँबाट राजधानी प्रस्थान गरेको लाग्थ्यो
तडकभडक देख्दा कोलाहल सहरको नजरबाट अँध्यारो कोठामा भाग्थेँ
बासँगको वचन पूरा गर्नु थियो
राजधानी चिनेर गाउँ फर्किनु थियो
खोजिरहेछु म बाको प्रश्नको उत्तर
रुमली रहेछु यहीँ फोहोरी राजधानीमा
राजधानी, राजधानी,राजधानी।