कविता
तिमीलाई नाला पानी देखाएँ
तिमीलाई काला पानी देखाएँ
देखाएँ स्वाधीनताको कथा
तर तिमी यी कुनै कथा हेर्न तयार छैनौ
बुझ्न तयार छैनौ
किनभने तिमीलाई आँखामा कालो पट्टि बाँधे जसरी
भोकले गाँजेको छ
गरिबीले गाँजेको छ
शोकले गाँजेको छ
भोलिले गाँजेको छ।
तिम्रा ती पोटिला गालाहरू
आज, भोलि कागती निचारेको खोस्टा जस्तै देखिन्छन्
तिम्रा ती सपना लेखिएका पुस्तकहरू
अचेत अवस्थामा भुइँमा मृतजस्तै लमतन्न देखिन्छन्
हिमाल हाँसेजस्ता देखिने तिम्रा दन्तेलहरहरू
आजभोलि डढेलो लागेका पाखाजस्तै उजाड,
उजाड देखिन्छन्।
हो!
छरिएको तोरीको गेडो उठाउन त थुकको आवश्यकता पर्दछ
अनि तिमी त मानव हौ
कसरी बुझ्छौ त भोको पेटले
मेरा स्वाधिनताका कथा।
अनि पो!
बेच्न तयार हुन्छौ आफ्ना अमूल्य ऊर्जा
खाडीको तातो घाममा
अनि पो! तयार हुन्छौ
फर्किन काठको त्यो ठूलो बाकसमा
हो!
यो तिम्रो विवस्ता हैन बाध्यता हो।।