पहिलो प्रयासमा लोकसेवामा सफल हुन नसके पनि दोस्रो प्रयासमा म नायब सुब्बा(ना.सु) पदमा नाम निकाल्न सफल भएँ।
विभिन्न सरकारी कार्यालयमा सरूवा हुँदै मेरो सरूवा कारागारको प्रमुख (जेलर) मा भयो। यति बेला मेरो विवाह भएको ७–८ वर्ष भैसकेको थियो र मेरा दुई जना छोरा-छोरी समेत भैसकेका थिए।
कारागार प्रमुखका रूपमा पद बहालीपछि ब्रिफिङको क्रमसँगै जेल भित्रको आन्तरिक प्रशासन (असल चालचलन भएका कैदीबन्दी मध्येबाटै जेलभित्रको प्रशासन हेर्ने गरी जेल प्रशासनबाट नियुक्त गरिएका चौकिदार, नाइके .... आदि) सँग पनि छलफल र अन्तर्क्रिया गर्ने परम्परा अनुसार नै अर्काे दिन आन्तरिक प्रशासन सहितको बैठक बोलाइयो।
सबै जना उपस्थित भए र परिचय गर्ने क्रममा चौकीदार भनिने व्यक्तिलाई कहीँ चिनेजस्तो लागेर पुनः उसको नाम ठेगाना दोहोर्याउन भनें। उसले उठेर दोहोर्यायो। अब म प्रष्ट भएँ ऊ उही मेरो पुरानो साथी ‘ऊ‘ रहेछ। त्यहाँ उसको उपस्थिति प्रष्ट हुनासाथ त्यसपछि बैठकमा के के भयो, मैले के के भने, उनीहरूले के के भने भन्ने कुरामा मेरो ध्यानै गएन।
खासमा मलाई केही थाहै भएन। त्यस्तैमा बैठक सकियो। सबै आ–आफ्नो गन्तव्यतर्फ गए। म पनि कार्यालय छुट्टीपछि घर त पुगें तर सपनामा हो कि विपनामा हो जस्तो।
‘उसले मलाई चिन्यो कि चिनेन? चिनेको भए के सोच्दै होला ? मसँग ऊ कसरी प्रस्तुत होला?’ यस्तै सोचिरहें। रातभर निन्द्रा लागेन। रातभरको सोचाइपछि भोलि गएर उसलाई भेट्ने र चिन्यो वा चिनेन भनेर अप्रत्यक्ष बुझ्ने निधो गरें।
१० बजे कार्यालयमा पुगेपछि अब ऊसँग कसरी भेट्ने भन्ने सोचमा परें। त्यहाँका पुराना कर्मचारीहरूसँग सल्लाह गरी कारागार भित्र निरीक्षण गर्न जाने निधो गरें। भित्र गइयो। भित्रको आन्तरिक प्रशासनको इन्चार्ज ऊ नै हुँदा स्वाभाविक रूपमा ऊ गेटमै स्वागत गर्न उपस्थित थियो।
‘जेलर साहव नमस्कार’ भनेको सम्म सम्झन्छु। त्यसपछि कता कता गइयो, उसले के के ब्रिफिङ गर्यो केही थाहा छैन। मेरो एउटै ध्याउन्न ‘मलाई उसले चिन्यो कि चिनेन भन्ने कसरी बुझ्ने?’ भन्ने मात्र रह्यो। अनि मैले एउटा उपाय सुझाएँ। भित्रको इन्चार्ज ऊ हुँदा भित्रका समस्या बारेमा ऊसँग मात्रै छुट्टै बसेर कुरा गर्ने। मैले सबैसामु यो प्रस्ताव राखें सबैले ‘हुन्छ मेडम’ भनि सहमति दिएपछि उसलाई छुट्टै बोलाई कुरा गर्न थालें। मेरो उद्देश्य अफिसियल कुरा गर्ने थिएन ता पनि कुराको सिलसिला सुरू गर्न मैले ‘जेलभित्रका समस्या तपाईँले समूहमा भन्न नमिल्ने केही छन् त ?’ भनी प्रश्न गरें।
धेरै समस्याका बारेमा हिजै पनि छलफल भएकै थियो र आज पनि भित्र निरीक्षण गर्ने क्रममा समस्या राखिसकेकै थियो। यद्यपि ती ब्रिफिङमा के के समस्या राखिएको थियो भन्ने कुरा मलाई थाहा छैन, मेरो त्यता ध्यानै थिएन। उसले ‘धेरै समस्या हिजो र आज राखिसकिएकै छ। खासमा समस्या तिनै हुन्’ भन्दै अरू पनि एक दुई के के समस्या भन्यो त्यसमा मेरो कुनै ध्यान गएन। मैले उसका व्यक्तिगत कुरा सोधेर मेरो बारेमा उसको बुझाइ बुझ्ने प्रयास स्वरूप ‘तपाईंले कति पढ्नु भएको छ ?’ भनि सोधें। ‘१२ कक्षा पढ्दा पढ्दै जेल परिहालियो। त्यसपछि जेलभित्रै अध्ययन गरेर भए पनि ब्याचलरसम्म गरेको छु’ भन्यो।
‘कहाँ पढ्नु भएको १२ कक्षासम्म ?’ भन्ने मेरो प्रश्नमा मुसुक्क हाँसेर ‘तपाईं जहाँ पढ्नु भएको हो त्यहीँ पढेको त हो नि‘ भन्यो। अब म सपनामा पुगे जस्ती भएँ। रिंगटा पनि छुट्यो, खलखल पसिना आयो। शरीर थरथर कामेजस्तो महसुस भयो। सम्हालिएर के बोलौं, के बोलौं भन्दाभन्दै ‘तपाईंले मलाई पहिले नै चिन्नुभयो ?’ भन्न पुगेछु।
‘तपाई यहाँ नआउँदै को जेलर आउँदैछ भन्ने थाहा पाउनासाथ चिनिहालें नि, तपाईं कहाँ के गर्दै हुनुहुन्छ ? जागिर कहाँ कहाँ खानु भयो ? कोसँग कहिले विवाह भयो ? बच्चाबच्ची कति छन् ? कहिले लोकसेवा पास हुनुभयो ? सबै एक एक मलाई थाहा छ’ भन्यो उसले।
ओ हो ! उसले त एक एक रेकर्ड राखेको रहेछ। अब यहाँ ऊसँगै काम गर्नुपर्छ बदला लिने पोे हो कि भन्ने डर डर पनि लाग्यो। तै पनि सम्हालिएर के बोलौं, के बोलौं भन्दाभन्दै ‘त्यतिखेर तपाईंले जबरजस्ती गरेको भनेर आफूमाथि लागेको आरोपको किन प्रतिवाद गर्नुभएन ?’ भन्न पुगेछु।
उसले सहज रूपमा जवाफ दिँदै भन्यो ‘तपाईंको मायाले। वास्तवमा म तपाईंलाई असाध्यै माया गर्थें तर व्यक्त गर्न सक्तिन थिएँ। तपाईंकै आग्रहमा यो काम भएको भनेर मैले भनेको भए त तपाईंको बुवाले तपाईंलाई नै दोषी मान्नुहुन्थ्यो, तपाईंको बद्नामी हुने थियो। मैले कुनै प्रतिकार नगरी अदालतमा समेत सहजै स्वीकार गरेकोले त मुद्दाले लामो रूप लिएन, कसैलाई यो मुद्दा सम्बन्धमा थाहै नभै छिटै फैसला भयो। कतै केही थाहा नभई बद्नामी नभई तपाईंको विवाह भयो। मेरो त के भो र? म केटो मान्छे जेलबाट निस्केपछि कुनै रूपले विवाह होला, नभए पनि केही छैन म त जिन्दगी त्यसै बिताउन सकिहाल्छु।’
फेरि उसले भन्यो ‘मुद्दाको क्रममा बयान बदल्न मेरो घर र घरतर्फबाट राखिदिएका वकिलबाट समेत ठूलो दबाब आएको थियो तर तपाईंको बद्नाम होला भनेर मैले गल्ती मेरै छ किन बदल्ने बयान ? भनेर दबाब टारें।’
त्यसपछि ऊ के के भन्दै थियो केही सुनिनँ। मेरो ब्रम्हाण्ड घुम्यो। एकछिन म डाँको छोडेर त्यहीँ रोएँ। त्यसपछि मैले केही बोले वा बोल्न सकिन केही थाहा भएन। कति दिनसम्म म कहाँ गएँ, के काम गरें, को सँग के भने ? केही थाहा छैन तर पछि बुझ्दा त्यो अवधिमा पनि मैले नियमित रूपमा घर-अफिस गर्ने र अफिस- घरको काम पनि नियमित रूपमै गर्ने गरेकी रहेछु। त्यसपछि म क्रमशः केही सहज हुदै गएँ ।
अहिले म एक्लै बसेर विगतको घटनाक्रम सम्झन्छु। गाउँ घरमा छोरी मान्छे सुरूमा विद्यालय जान पाइएन। अलिक ठूलै भएपछि विद्यालय गइयो र १९ वर्षको उमेरमा एस.एल.सी. पास गरी कलेज जान थालियो। ऊ पनि अलिक उमेर छिप्पिएरै पढेको रहेछ मसँगै कलेजमा पढ्न आयो। जब कलेजमा पहिलो दिन प्रवेश गरियो र मेरो उसमाथि नजर पर्यो, पहिलो नजरमै मैले उसलाई मन पराएँ।
अग्लो, ठिक्क मोटो शरीर, गोरो अनुहार,ओठमाथि भरखर रेखी बस्दै गरेका जस्ता लाग्ने पातला जुँगा र पुटुक्क उठेका गुलावी गाला, हँसिलो अनुहार तथा हेण्डसम जिउडाल साँच्चै नै हेर्दै मनै लोभ्याउने खालकोे थियो उसको व्यक्तित्व। कलेजको पहिलो दिन ऊसँग कुराकानी वा परिचय भने हुन सकेन। त्यसपछिका दिनहरूमा म उसको नजिक हुन चाहन्थें।
तर ऊ ज्यादै लजालु किसिमको केटो रहेछ। कुनै पनि केटीको नजिक पर्नै नचाहने। म उसको नजिक हुन, परिचय गर्न चाहन्थें तर ऊ भने मेरो नजिक पर्नै नचाहने र नजिक भैहाले पनि नजर अर्कातिर फर्काएर हिँडिहाल्ने। म नजिक परेर बोल्न खोज्ने ऊ बोल्नै नचाहने अर्कातिर लागिहाल्ने। यस्तैमा धेरै दिन बित्यो। ११ कक्षाको पढाइ पनि अन्तिमतिर पुगी परीक्षा आउन लागिसक्यो तर म ऊसँग नजिकिन सकिनँ।
प्रायः अरू साथीहरूले ब्वाइफ्रेण्ड बनाएर जोडी –जोडी हिँड्थे तर म भने हालसम्म रित्तो नै थिएँ। म उसलाई एकतर्फी प्रेम गर्थें र ऊ बाहेक अरूलाई ब्वाइफ्रेण्ड बनाउने म कल्पनासम्म गर्न नसक्ने अवस्थामा पुगिसकेकी थिएँ।
११ कक्षाको परीक्षा पनि सकियो र १२ कक्षाको पढाइ सुरू भयो। यस बीचमा अनेक प्रयासपछि असल साथीको नाताले ऊसँग सामान्य बोलचाल सुरू भयो। ऊ ज्यादै लजालु, संकोची र सोझो किसिमको केटो थियो र मेरो एकतर्फी प्रेम बुझ्दैनथ्यो जस्तो लाग्थ्यो। म भने अब ऊबिना बाँच्न नसक्ने अवस्थामा पुगिसकेकी थिएँ र जसरी होस् उसलाई आफ्नो बनाउने ध्याउन्नमा थिएँ। यस बीचमा मेरै जोड बलले असल साथीको नाताले ऊ एक दुई चोटी मेरो घरमा आई साथीको रूपमा परिवारसँग पनि सामान्य परिचय भएको थियो। म उसलाई घरमा ल्याउन र उसको कोठामा जान बढी चाहना राख्थें तर ऊ भरसक टार्न खोज्थ्यो। मकहाँ आएका बेला पनि जसरी होस् अनेक बहाना बनाएर ऊ छिट्टै फर्कन खोज्थ्यो।
अब हामी १२ कक्षाको पनि अन्तिमतिर पुगिसकेका थियौं। एकदिन घरमा कोही नभएको मौका पारी उसलाई घरमा ल्याएँ। म उसलाई आफ्नो बनाउन जस्तोसुकै कदम चाल्न पनि तयार हुने अवस्थामा पुगिसकेकी थिएँ। मेरो कोठामा केहीबेर बसेपछि मैले हामी फ्रेण्डबाट अब ब्वाइफ्रेण्ड गर्लफ्रेण्ड बनौं भन्ने प्रस्ताव राख्दै ‘आई लभ यू’भनेर ग्वाम्ल्याङ्ग अँगालो हाली तान्दै मेरो बेडतर्फ लगें। उसलाई आफ्नो बनाउने एकमात्र उपाय उसलाई ‘चुकाउनु’नै हो भन्ने कुरामा म स्पष्ट भैसकेकी थिएँ। बेडमा नपुगेसम्म उसले मबाट छुट्ने प्रयास गर्यो र ‘के गरेको यो ?’ भनेर करायो तर मेरो शरीरको समर्पणपछि ऊ पनि पग्ल्यो।
यस्तैमा मेरो बुवा घर आउनु भएछ। ढोका ढप्क्याएकोसम्म त थियो तर घरमा कोही नभएको हुँदा कोही आउँदैन भन्ने कुरामा म ढुक्क भएर ढोकामा चुकुल लगाएको थिइनँ। दुर्भाग्य भनौं वा खै के भनौं बुवा विशेष कामपरी छिट्टै घर फर्कनु भएछ। बुवाले मेरो कोठामा गाइँगुइँ आवाज सुनेकाले को रहेछ भनेर यसो ढोका अलिकति ठेलेर चियाउनु भएछ। हामी आपत्तिजनक अवस्थामा पुगिसकेका थियौं। एक्कासि बुवा ‘तिमीहरूको के तमासा हो यो’ भनेर चिच्याउनु भयो। हामी एकैपटक छुट्टियौं। बुवाले ‘के गरेको यो’ भन्दै मलाई झाप्पड हान्नुभयो। मैले के गरौं र के भनौं भनेर सोच्नै सकिनँ र सोच्ने समय र अवस्था पनि थिएन।
मेरो ‘म आफू बच्नु पर्छ’ भन्ने सोच आएछ र रूँदै मेरो मुखबाट एक्कासि ‘बुवा उसले मलाई जबरजस्ती गर्यो’ भन्ने वाक्य निस्कन पुग्यो। अब त के थियो बुवाले उसलाई समातेर झापड लगाउँदै उसको हात पछाडि लगेर त्यहीँ रहेको मेरो सलले बाँधी पुलिसलाई टेलिफोन गर्न लाग्नुभयो। यी सबै घटना यति छिटो भए कि मैले केही सोच्नै सकिनँ।
बुवाले टेलिफोन गर्दासम्म ऊ भाग्न चाहेको भए भाग्न सक्ने अवस्था थियो तर उसले कत्ति पनि त्यस्तो प्रयास गरेन। त्यसपछि बुवाले एउटा डोरी खोजी उसलाई हात खुट्टा बाँधेर लडाउनु भयो। ऊ हात खुट्टा बाँधिएर त्यहीँ लडिरह्यो। उसले कुनै प्रतिकार गरेन, मुखबाट एक शब्द निकालेन र मेरो मुखतर्फ पनि हेरेन।
बुवाले मलाई पुनः झापड हान्दै तानेर अर्को कोठामा लगेर बाहिरबाट चुकुल लगाइदिनु भयो। एकछिनपछि पुलिसहरू आएको, बुवासँग कुरा गरेको, निवेदन लेख्न लगाएको, उसलाई केरकार गरेको र उसले ‘अपराध’ स्वीकार गरेको लगायत यावत् कुराहरूको म पल्लो कोठाको ढोकामा कान थापेर सुनिरहेको थिएँ र यसपछि पुलिसले उसलाई हतकडी लगाएर लिएर गएको त झ्यालबाट मैंले प्रष्टै देखें।
म झ्यालबाट उसलाई लगेको हेरिरहें तर उसले एकपटक पनि पछाडि फर्केर हेरेन, म अब केही होसमा आइसकेकी हुँदा बलिन्द्रधारा आँशु बगाउँदै उसलाई लगेको हेरिरहें। यसबाहेक मसँग अर्को विकल्प पनि थिएन।
घरमा बुवा र मबाहेक यो कुरा कसैलाई थाहा भएन। बुवाले आमासम्मलाई सुनाउनु भयो कि जस्तो लाग्छ तर आमाको व्यवहारबाट त्यस्तो कुनै छनक मैले नपाएको हुँदा नसुनाउनु भएको पनि हुनसक्ने अनुमान मैले लगाएँ।
तत्काल बुवाले मलाई ‘तैंले गल्ती गरिस् घरमा कोही नभएको बेलामा त्यस्तो बद्मास केटालाई घरमा आउनै नदिनु पर्ने। अब जे भैसक्यो भयो, आजको घटना सम्बन्धमा कतै कसैलाई नभन्नु। गाउँघरमा थाहा भयो भने तेरो र हाम्रो परिवारकै बद्नाम हुन्छ। तेरो र भाइ बहिनीको समेत विवाह हुन गाह्रो हुन्छ।’ भनेर आकाश पाताल देखाउनु भयो।
भोलिपल्ट बुवाले एउटा कागज लिएर आउनु भयो र मलाई सही गराएर लैजानुभयो। त्यस कागजमा के लेखिएको थियो मलाई थाहा हुने कुरै भएन। त्यसपछि के भयो ? म अनभिज्ञनै रहें। सुरू सुरूमा त पुलिसले उसलाई कहाँ लग्यो होला ? एकपटक भेट्न पाए पनि हुन्थ्यो भन्ने नलागेको होइन। तर घर परिवारसँग विद्रोह गरी उसलाई खोज्दै हिँड्ने हिम्मत ममा आएन।
केही दिन त मेरो कारणले ऊ पक्राउ पर्यो भनेर छट्पटी भयो र यस घटनाको सम्पूर्ण दोषी आफूलाई ठानी आफैंलाई धिक्कारें र ठूलो पश्चाताप पनि भयो। त्यो बेला मैले ‘मलाई जबरजस्ती गर्यो’ भन्नुको साटो ‘हामीबीच प्रेम छ र सल्लाहमै यो कर्म गरेका हौं’ अथवा त्यो नसके पनि ‘हामीबीच प्रेम छ’ मात्र पनि भन्न सकेको भए, त्यो सुद्धि आएको भए हामी दुबै जनाले कुटाइ खान्थ्यौं होला, हामीबीच पुनः भेट हुन नसक्ने गरी छुट्याइन्थ्यौं होला तर पनि कम्तीमा त्यतिखेर पुलिस त बोलाइने थिएन र उसले जेल त जानु पर्ने थिएन’ भन्ने सोचेर पश्चातापमा जलिरहें। तर समय सँगै बिस्तारै घटना बिर्सिंदै गयो।
घटनाको करिब एक महिनापछि बुवाले मलाई एउटा सरकारी कार्यालयमा लिएर जानुभयो। त्यो अदालत रहेछ, त्यहाँ पुग्नु अघि मैले त्यहाँ भन्नु पर्ने कुरा बुवाले घोकाउनु भयो र उसले अदालतमा समेत अपराध स्वीकारी सकेको हुँदा गोप्य कोठामा सोधिएको प्रश्नको यति उत्तर दिए पुग्छ भनेर बुवाले मलाई त्यहाँ भन्नु पर्ने कुरा सिकाउनु भएको थियो।
भयो पनि त्यस्तै। त्यहाँ एउटा कोठामा ऊसहित केही अन्य व्यक्ति थिए। मलाई त्यो घटनाका बारेमा प्रश्न सोधियो, बुवाले सिकाउनु भए अनुसारको मैले जवाफ दिएँ। छड्के आँखाले उसलाई हेरें तर उसले मतिर हेरेन। एउटा कागजमा सही गरेर म बुवासँगै घर फर्कें। धेरैपछि थाहा भयो प्रहरी र अदालतमा समेत उसले अपराध स्वीकार गरेको हुँदा उसलाई १० वर्षको कैद सजाय भएछ।
यो घटनापछि म मन नलागी नलागी भए पनि कलेज जाँदै थिएँ। १२ कक्षाको परीक्षा पनि आइसकेको थियो।
‘ऊ आजकाल किन कलेज आउँदैन’ भनेर साथीहरू मलाई सोध्थे।
म ‘मलाई के थाहा’ भनेर आफूलाई केही थाहा नभएको जस्तो गर्थें तर मेरो मन भने भित्रभित्रै जलिरहेको हुन्थ्यो। परीक्षा आयो परीक्षामा सहभागी भएँ। ऊ परीक्षा दिन समेत नआएपछि कलेजमा निकै हल्लाखल्ला भयो तर ऊ किन आएन मबाहेक कसैलाई थाहा थिएन। परीक्षा सकिएको एक दुई महिनापछि नै घरमा विवाहको कुरा आयो। बुवाले कोठामा पसेर ढोका लगाएर मलाई हेर्न केटो आउँदै गरेको हुँदा ‘तयार भएर बस्ने र कुनै नाइँनास्ती नगर्ने’ भन्ने आदेश सुनाउनुभयो। मैले केही बोलिनँ।
यस विषयमा बुवासँग केही बोल्ने मेरो हिम्मत थिएन र मैले बोल्न चाहिनँ पनि। केहीबेरपछि मलाई बाहिर आउन भनियो। बैठकमा तीन चार जना नयाँ मान्छे बसेका देखें। म आएपछि बुवाले ‘लु मेरी छोरी यही हो, १२ कक्षाको जाँच दिएर बसेकी छे, उमेर २१ वर्षमा हिँड्दै छ’ भनेकोसम्म सुन्दै थिएँ त्यसपछि ककसले के के भने होसमै भएर पनि मैले ख्याल गर्न सकिनँ। एकैपटक बुबाले ‘के तेरो केही भन्नुछ?’ भनेर सोध्दा झसङ्ग भएर ‘केही छैन’ भने, फेरि बुबाले ‘त्यसो भए उहाँसँग बिहे गर्न मञ्जुरी छ होइन त ?’ भन्नु भयो मैले सहमतिमा टाउको हल्लाएँ। बिहे भयो। संयोग बस घर राम्रै परेछ र श्रीमान पनि राम्रै। मैले श्रीमान र समग्र घर परिवारबाट समेत पढ्न सुविधामात्र होइन प्रोत्साहन समेत पाएँ।
मैले पढाइ पूरा गरी लगनशिलताका साथ लोकसेवाका लागि तयारी गर्न लागें। समयक्रम सँगै बिस्तारै उसको याद पनि हराउँदै गयो। तै पनि समय समयमा ‘हाल ऊ कहाँ कुन अवस्थामा छ होला ?’ भन्ने सोच चाहिँ आइरहन्थ्यो तर ऊ कहाँ छ केही थाहा थिएन।
अहिले जागिरको क्रममा ऊसँग त्यसरी म जेलर र ऊ कैदीको रूपमा भेट भएको छ। पुरानो घटना पुनः ताजा भएको छ। म सोच्छु त्यतिबेला मैले गलतै काम गरेकी हुँ र आफूले गरेको गलत कामको दोष उसलाई दिनु मेरो अर्को ठूलो गल्ती थियो। मैलेमाथि नै उल्लेख गरिसकें त्यतिबेला बुबासँग मैले ‘हामी एक अर्कालाई प्रेम गर्छाैं’ भन्नेमात्र हिम्मत गरेको भए वा त्यति भन्ने सुद्धि आएको भए आज शायद ऊ जेलमा नभएर मेरो श्रीमानको रूपमा रहेको पनि हुन सक्थ्यो वा सो हुन नसके पनि ऊ आज स्वतन्त्र रूपमा रहेर घरजम गथ्र्यो होला र कति प्रगति गरिसकेको हुन्थ्यो होला?
मैले गरेको गल्तीको ऊ सजाय भोगिरहेको छ। उसको जीवन अन्धकार भएको छ। यस्तै सोच्दै आज म पश्चातापमा पिल्सिरहेकी छु। मेरो निको भैसकेको पुरानो घाउ फेरि बल्झिएको छ र म फेरि जलिरहेकी छु पश्चातापको आगोमा निरन्तर, निरन्तर ....... ।