कविता
तिमीले आरोहण गरेको चुचुरो
र मैले चडेको चुचुरोको
उचाइ त एउटै हो
तर बारम्बार मैले मात्र किन बुझाउनु पर्छ
यो समाजलाई उचाइको नाप?
तिमीले केही अगाडि आरोहण गरेऊ होला
म केही समय समाजमा अल्झिएँ वा अल्झाइए
समयले चुचुरोको उचाइ त नघटाउने रहेछ
तर बारम्बार मैले मात्र किन बुझाउनु पर्छ
यो समाजलाई समयको नाप?
तिमी तिम्रै चुचुरोको परिधि कटी सगरमाथाको चुचुरो टेक्दा
म मेरै गहिराइको परिधिभित्र मेरियाना ट्रेन्चको गहिराइ छाम्दै थिएँ
गहिराइको पनि उचाइ त हुन्छ नि
तर बारम्बार मैले मात्र किन बुझाउनु पर्छ
यो समाजलाई गहिराइको नाप?
ए सुन त!
के तिमीले बुझ्ने चेष्टा गरेको छौ
मेरो मनभित्रको कुन्ठाहरू?
कुन्ठाभित्र नि कुन्ठा छन्
हिम्मत छ भने आऊ आज सुन्ने आँट गर
सुन्न नसके मेरो मुख थुन्ने धृष्टता नगर
म आफ्नै प्यासको कुवामा पौडी रहें
कुवा नै संसार अनि संसार नै कुवा सम्झिनु
मेरो नियति थियो
तिमीले मेरो कुवामा तातो ज्वाला घोस्दै गयौ
म आफूलाई त्यसमा सामन्जस्यता गराउँदै गए
सुम्पिएर मेरो सर्वस्व,
आफू हुनु नै बिर्सिनु एक गल्ती रहेछ
तर एक भ्यागुतो को नियति
पटक्कै मेरो रोजाइ थिएन
तिमीले मलाई जित्यौ अनि म भित्रको मलाई पनि
तिम्रो सम्पूर्ण रहर मेरो ठहर्याएको थियो
अनि त्यसलाई पूर्णता प्रधान गर्नु
मेरो कर्तव्य रटाइएको थियो
तिमीले आफ्नो रोजाइको शिखर चढिसकेपछि
अनि म भित्र दन्किँदै गरेको ज्वालामा आफूलाई सेकाएपछि
तिमी स्खलित भई धरातलमा पोखिँदा
चुचुरोबाट तिमीले छोडेको अठ्हासको हाँसो मैले सुनिरहे,
अनि छामे आफ्नै थकित
असन्तुष्टिले गिजलेको आफ्नो बल्दो शरीर
जसमा चिङ्गारी लाउने नि तिमी,
दाउरा घोच्दै आगो दन्काउने नि तिमी
आफूले पूर्णता शान्ति पाउँदै गर्दा कहिले सोचेऊ तिमीले
मेरो रहर र शान्तिको स्थान कुन चुचुरो खोज्दै होला?
तिमीले नदिएको त्यो शिखर चड्ने अवसर खोज्नु
हरेक रात सपनामा लौरोको सहाराले हिमाल छिचोल्नु
सान्त्वनाका साथ आउने परिचित अनुहारहरू
नभेटेको गन्तव्य पुग्न डोहोर्याउने अदृश्य हातहरू
मेरो रोजाइमा पर्नु मेरो बाध्यता थियो
सँगै भएर नि तिमीले पूरा गर्न नसकेको मेरा अतृप्त प्यासहरू
व्यर्थ गएका मेरा अनगिन्ती प्रयासहरू
अनि मैले चाहँदा चाहँदै नि भेट्न नसकेको तिम्रो गति
आज तिमी नै भन कहाँ बाट गरूँ आफैंलाई सुरू
तिमी त केवल एक मुकदर्शक
जो मेरो हरेक सवालमा मलाई नै दोषी ठहर्याउँछ
मेरो चाहना र भावाना म भित्रै समेट्न भन्छ
लाग्छ मेरो आवाजले आगो ओकेल्छ र सृष्टि डढाउँछ
ऊ आफू जल्ने डरले मलाई पछि धकेल्छ
म कहिले सम्म पछि सर्ने?
म पछि सुरू हुनु अनि तिमी अघि नै अघि बढ्नु
प्रकृति के यो दोष मेरो हो?
मलाई नि त ऊ भन्दा अघि नै अघि बढ्नु छ
अनि छिचोल्नु छ उस्ले चढ्ने गरेको सगरमाथा
के यो कैलाश पर्वत हो र
जसलाई आरोहण गर्न शिव नै हुनुपर्ने?
आऊ सुन अब मेरो धृष्टता, मैले गरेको उदण्डता
तिमी चढ्ने सगरमाथाको चुचुरो
मैले पनि आरोहण गरें।
पृथ्वी जहाँ को त्यहीँ रह्यो
सागर जहाँ को त्यहीँ रह्यो
हावाले आफ्नो बग्ने धर्म छोडेन
प्रकृतिले आफ्नो मर्म मारेन
संसार जहाँको त्यहीँ रह्यो हो,
जस्ताको तस्तै रहि रह्यो।
मैले चुचुरोबाट देखेको संसार
तिमीले आफ्नो बक्रदृष्टिको परिधि भित्र रही
मलाई देख्न बाध्य बनाएको
सेतो गर्जिने बाघभन्दा भिन्न छ
मैले आज तृप्त मयूर भेटेको छु।
दिलमा बलेको आगो,
मुस्कुराएको देहसँग
चुचुरो तर्फ लम्किरहँदा
तिम्रो परिधि भन्दा पर रहेर भिन्न उचाइ चढ्दै गर्दा
मैले भेटे आफ्नै अतृप्त प्यास
जसलाई आफू चढ्नु र चुचुरोमा पुग्नुको जितको
२ घुँट खुसी पिलाई शान्त गराए
केही समय ...
केही समय पर बसिदेऊ म देखि
टेक्नु छैन अब कुनै सपनाको लौरो
मलाई चुचुरो टेक्नुको खुसी मनाउनु छ
त्यो परको भुवनले केही थान खुसीहरू
शितल पवनमा लपेटेर पठाएको छ र,
मैले मेरो कोठाको सम्पूर्ण द्वारहरू खुला छोड्दिनु छ
बिना कुनै परिधि निसंकोच।