कविता
सरकारले केही थान प्याड
कर्णालीको ग्रामीण भेगमा
बाँड्ने योजना बनायो।
रगतका टाटा लागेका
फरियाका टुक्राहरू हेर्दै
घिन मानेर स्वयंम सेविका भन्छिन्
आमा!
ए बहिनी
पर सरेको बेलामा
प्याड पो लगाउनु पर्छ
यस्तो फोहोर कपडा लगायो भने
त रोगले गाँजेर मान्छे मरिहाल्छ नि।
भित्र जुठ्याउनाबाट
कालो कसौडी उठाउँदै
पिँढीमा बसेकी छोरीलाई
जर्केर छोइएला भन्दै माइली काकी
चिच्याइन्
कुन्नि त मेरा आमा हजुरआमा मरेनन्
म पनि पाँच दशककी भइसकें
अझै बाँचेकै छु।
तपाईंहरू बाँड्न आउनु भएको रहेछ
बरू यत्ति सहयोग गरियोस्
नानी
चामल सकिएर पानीले बाँचेको
पाँच दिन भयो
हामीलाई प्याडको सट्टा चामल दिनुहोस्।
चेतना कहाँ खोज्ने?
रोगबाट बाँच्न पनि पहिले
भोकबाट नमर्न जरूरी हुने रहेछ।