आस्थाको धरोहर छ
मेरो मुटुभित्र ।
विश्वासको धरहरा छ
मेरो समर्पणभित्र
न छेक्नु/नरोक्नु
बग्न दिनु अविरल मेरो कालीगण्डकी
उनी-
हिमालको पाउ धोएर
कहिले पहाडी बाटो हुँदै
कहिले भिरपाखा र खोँचहुँदै बग्छिन्
र बग्छिन् खेतबारीका डिलहरू नभत्काई
शान्त मुद्रामा
प्रकृतिको साथ र गाथ लिएर
अविरल बगेकी नदीलाई
बित्थ्यामा आरोप लगाएर
ब्यर्थमा दोष थुपारेर
नलुछ्नू नदीका अवयवहरू
नआउनु आवेगमा
नच्यात्नु नदीका वस्त्रहरू
प्रकृति प्रदत्त श्रींगारमा स्वयं सजिएकीछन् कालीगण्डकी ।
बग्न दिनु उनलाई आफ्नै लयमा ...
मुक्तिनाथ र पञ्चकोटको गर्भधारण गरेर
निष्पाप फुलाएकी छन् शालिग्रामका फूलहरू
सजाएकिछन् दुई किनार साक्षी राखेर आफूलाई
सूर्यको किरणले
सिउँदो सजाएकी उनलाई
नभत्काउनु कतै
डुल्न दिनु निर्धक्क आफ्नै प्रांगणमा
तिमीले-
झुक्किएर पनि त्यसो नगर्नू
उनको हृदय भत्कनेगरि
चलाएर आधुनिक औजारहरू
भुकम्प टेकेर उर्लने उनको स्वभाव
देखेकिछन् देउरालीले
नदेख्नु पाती चढाएर थुम्थुम्याउने सपना
आँधीको ताँदो चढाएर
चट्याङको आग्नेयास्त्रद्वारा
तिम्रा क्षत बिक्षत अस्थिहरू
बगाई लैजान सक्छिन् उनी
यदि सक्छौ भने -
लैजाउ मेरो नशामा बगेको रक्तनदी
तर नछुनु उनलाई
चाहिन्छ भने लैजाउ
मेरा पवित्र अस्मिता
तर नजिस्काउ उनलाई
आज...
सांँझले गोधुली नटेक्दै
आउ लेखौं आँखाका नानीहरूमा
लेखौं संरक्षणको महिमा
दायाँबायाँ सहिछाप गरेर
आउ लेखौं समग्रमा
कालीगण्डकी नभत्काउने विश्वासको तमसुक।