म हुँ पागल
म त बहुला हुँ
म आफ्नै आवारापनको वकिल हुँ
सुनमाथि सुगन्ध छर्ने
म त्यो माधुर्य हैन
तिम्रो सर्वालौकिक भावना बुझ्न
म त्यति संवेदनशील छैन
म त कैदी हुँ
आफ्नौ सपनाहरूको
घर हुँ
आफ्नै नैराश्य जीवनको
म त भत्किएको छु
बिग्रिएको छु
छरिएको छु
मेरा अनेकौँ रुप छन्
तिमी मलाई भिडमा खोज्छौ
म त कविताका हरफमा बस्छु
म धुलोको कणहरू पनि हुनसक्छु
सायद तिमी मलाई कहिल्यै छुन सक्दैनौ
यदि चाहन्छौ भने
मलाई
तिम्रो कृत्रिम रचनाको
रुपवती पद्मिनी पनि सोच्न सक्छौ
तर म किन तिम्रो वौश्ययुगको
कठपुतली बनुँ?
म त मामुली हुँ
मलाई किन दाँज्नु पर्यो उर्वशीसँग?
म त निर्जीव आत्मा हुँ
मलाई किन चाहियो तिम्रो पार्दशी प्रेम?
म किन बुझुँ तिम्रो मनोवैज्ञानिक सिद्धान्त?
म किन बनुँ तिम्रो चरमस्पर्शको आनन्द?
मलाई सन्नाटा मनपर्छ
अन्धकारमा बस्छु
मौनताले बोल्छु
म सधैँ भौतारिरहन्छु
मलाई आश्रय नदेऊ
मलाई घरदेखि डर लाग्छ
मेरा रहरका शृंखलाहरू धेरै छन्
मलाई पितृसत्ताले नबाँध
मेरो अर्धमृत जीवनमा
तिमीले असीम प्रेम दिए पनि
म अतृप्त रहनेछु
किनकी म निर्जीव आत्मा हुँ
भोको छु
खाली छु
नांगो छु
अर्ध छु
अतृप्त छु
एउटा महाशून्य भित्र बाँचिरहेछु।