म कुनै पार्कमा थिएँ। चौरमा चरिरहेका चराहरू हेरेर कता-कता टोलाइरहेको रहेछु। काँधमा भुर्र उडेर केही आएर बसेजस्तो लाग्यो।
मैले मुन्टो फर्काएर हेर्नुअघि नै कान नजिकैबाट आवाज आयो- ‘तपाईं अझै यतै हुनुहुन्छ, मनोज दाइ?’
यसो आवाज आएतिर मुन्टो मोडी हेरेँ, मेरो काँधमा विल्सन बसिरहेको थियो। उसको त्यस अप्रत्याशित उपस्थिति र त्यो प्रश्नले म नराम्ररी झस्किएँ। म निन्द्राबाट ब्युझिएँ।
हो, त्यो सपना थियो। जोडी भेटेर नयाँ जीवन सुरू गर्छु भनेर गएको पाँच वर्षपछि उसलाई आज सपनामा देखेको थिएँ।
***
पाँच वर्षअघि मेरा लागि अष्ट्रेलिया बिल्कुल नयाँ थियो। यता आएको करिब एक वर्ष जस्तो भएको हुँदो हो, त्यतिबेला घर, विश्वविद्यालय, काम अनि असाइन्मेन्टको चक्करले कुनै टाइम ल्याप्स भिडिओको भन्दा कम्ता रफ्तार थिएन जिन्दगीमा।
व्यस्तता, थकान र डरले हप्ता दश दिनमा मुस्किलले कुरा हुन्थ्यो, नेपाल घरमा। पहिले त आमाबा कुशलक्षेम सोध्नुहुन्थ्यो। पैसा पठा सिधैँ भन्न नसकेर होला, अरू साथीहरूको उदाहरण दिनु हुन्थ्यो र पैसा पठा भन्ने खालको आशय व्यक्त गर्नुहुन्थ्यो।
म जसोतसो टार्थें। मलाई थाहा थियो, म आउँदा लागेको ऋणको ब्याजको किस्ता खप्टिएको धेरै भैसकेको छ। तर कमाइ सबै भाडा, रासन र फीमै सकिन्थ्यो। अलिअलि जम्मा भए पठाइ पनि हाल्थेँ। तर एक्लो ज्यानले कति भ्याओस्!
बाहिर भन्नलाई जसोतसो चलिरहेकै थियो जिन्दगी। तर भित्रभित्र एक्लोपनले च्याप्दै थियो।
नेपाल फर्किन पढाइ सकिएको थिएन। साथीहरू के छ? कसो छ? कसरी बसेको छु? सोध्दैनथे। बरू सिधैँ पैसा पठाइदे भन्थे। पैसा… पैसा… पैसा… भन्दै म्यासेजहरू धेरै आउन थालेपछि म्यासेन्जर नै मोबाइलबाट हटाइदिएको थिएँ।
नेपालबाट आउँदा मनपर्ने केही किताबहरू बोकेर ल्याएको थिएँ। तर थकान, व्यस्तता र एक्लोपनले साह्रै सताउँथ्यो। मन थिर थिएन। मन थिर नभएपछि किताबमा ध्यान जाँदै जाँदैनथ्यो। अलिअलि लेख्थेँ कथा, कविता। त्यो पनि लेख्न छोडेको धेरै नै भैसकेको थियो। यता आएपछि लेख्ने मुड र जाँगर दुवै मरेर गएको थियो।
फुर्सद भयो कि मनमा अनेक कुराहरू खेल्थे। एक्लोपनले नपाकेको पिँडालु खाएजस्तै गरी कोक्याउँथ्यो। मनको बह पोख्ने र आफ्नो कुरा बुझ्ने कोही छैन भन्ने लागेपछि त्यसै अत्यास लागेर आउँथ्यो।
मलाई कोही पर्खेर बसिरहेछ जोसँग म मेरो मनको बह पोख्ने सक्छु भन्ने नभएपछि कोठामा छिट्टो गैहालौँ जस्तो पनि लाग्दैनथ्यो। फोनमा कुरा गर्दा बाआमा कुरा त बुझ्नुहुन्थ्यो, तर बैंक बुझ्दैनथ्यो। बाआमालाई बैंक अर्कै तरिकाले सम्झाउँथ्यो। म अर्कै तरिकाले सम्झाउने कोसिस गर्थेँ। तर जसले जसरी सम्झाए पनि बैँकले पैसाको बाहेक अरू भाषा बुझ्दैनथ्यो।
यस्तै बीचमा एकदिन रासन किनेर कोठातिर फर्कंदै थिएँ। कतैबाट अनौठो आवाज आयो- ‘आऊ साथी, मलाई घर लैजाऊ। म असल छु। म तिम्रो राम्रो साथी बन्नसक्छु।’
वरपर हेरेँ। सधैं भाग्य चिठ्ठा किन्ने पसलमा एउटा पिँजडा थियो, जसमा भएको सुगाले त्यसो भनेको रहेछ। मैले त्यता हेरेपछि उसले फेरि त्यही कुरा दोहोर्यायो।
रमाइलो लाग्यो, त्यसैले नजिकै गएर त्यो सुगा नियाल्न थालेँ। धैरैबेरसम्म उसलाई त्यसरी हेरेको देखेपछि पसलको साहु बाहिर आयो र सोध्यो, ‘तिमी ठिक छौ साथी? म तिमीलाई कसरी सहयोग गरौं?’
‘हैन धन्यवाद! म ठिक छु। म यस चरालाई हेरिरहेको थिएँ,’ मैले भनेँ।
‘यदि मन परेको भए तिमी घर लान सक्छौ। ऊ असल चरा हो। उसलाई तिमी जे पनि सिकाउन सक्छौ। म यति भन्न सक्छु कि ऊ तिम्रो एक असल साथी बन्नसक्छ,’ उसले भन्यो।
‘हैन हैन! म उसको बोल्ने शैली देखिएर लोभिएको मात्र हुँ। म एक विद्यार्थी हुँ, त्यसैले यसमा खर्च गर्न सक्दिनँ धन्यवाद,’ म पन्छिएँ।
‘ठिकै छ! म तिमीलाई बुझ्न सक्छु। तिम्रो दिन शुभ रहोस्!’ यति भनेर उसले एउटा आँखा झिम्क्यायो र पसलभित्र छिर्यो।
मेरो दिमागमा भने उसले केही समयअघि भनेको एउटा कुरा घुमिरहेको थियो। उसले भनेको थियो, ‘ऊ तिम्रो एक असल साथी बन्नसक्छ।’
म एक्लोपनदेखि आत्तिएको थिएँ। घरीघरी म आफूलाई कास्ट अवेको त्यो पात्र, जो टापुमा एक्लै फसेको छ जस्तो निरीह पाउँथेँ। फरक यत्ति थियो, ऊ वरपर मान्छे नभएर एक्लो थियो म भिडमा। र मलाई पनि विल्सन जस्तै साथीको खाँचो थियो।
त्यो सुगा देखेपछि मलाई लाग्न थालेको थियो कि त्यो सुगा पनि मेरो लागि विल्सन जस्तै साथी बन्नसक्छ, एक्लोपनको साथी। एकोहोरो कुरा सुन्ने साथी। तर त्यो सब सुगाको मूल्यले निर्धारण गर्नेवाला थियो। त्यसपछि म मूल्य सोध्न पसलभित्र छिरेँ।
उसले मलाई देखेर मुस्कुरायो।
‘के तिमीले आफ्नो मन परिवर्तन गर्यौ?’
‘म यस चराको मूल्य थाहा पाउन चाहन्छु!’
‘$४००,’ उसले भन्यो।
‘ओहो! कृपया मलाई केही छुट दिनुहुन्छ?,’ मूल्य सुनेर जिब्रो टोक्दै सोधेँ।
‘माफ गर! म घटाउन सक्दिनँ। बरु तिमीले पिँजडाको पैसा तिर्नु पर्दैन।’
छातीमा हात राखेर नभएको पैसा खर्चेर त्यो सुगा किनेर कोठामा ल्याएँ। रातभर लागिरह्यो, बेक्कार खर्च गरेँ। पछि अब चिठ्ठा र कफी किन्दिनँ भनेर आफैसँग वाचा गरेँ। आफ्नै मन न हो, मानिहाल्यो।
बैठकमा अरूलाई डिस्टर्ब हुन्छ भनेर उसलाई आफ्नै कोठामा राखेँ। किनेर ल्याएको केही दिन त, ‘आऊ साथी, मलाई घर लैजाऊ!’ भनेरै दिक्क पारेको थियो। तर दिनचर्या फेरिएपछि ऊ पनि विस्तारै फेरिँदै गयो। नेपाली भाषा पनि सिक्दै गयो।
म काममा जाँदा ल्यापटपमा नेपाली गीत बजाएर छोडिदिन्थेँ। ऊ भोक लाग्दा पिँजडामा भएको एउटा भाँडाबाट उसको मनपर्ने सूर्यमुखीको दाना खान्थ्यो। तिर्खा लाग्दा अर्को भाँडाबाट पानी पिउँथ्यो।
जथाभावी दिसा गरेर फोहोर गर्छ भनेर पिँजडाको भुइँमा कार्डबोर्ड ओछ्याइदिएको थिएँ, त्यहीँ बिस्ट्याउँथ्यो। हैन भने गीत सुनेर झ्याल बाहिर टुलुटुलु हेरिबस्थ्यो। म घर आउने बित्तिकै पिँजडा भित्रै खुसीले फड्फडाउँथ्यो। यताउता नाच्थ्यो। म पनि उसको उपस्थितिमा रमाउन थालेको थिएँ।
मैले कति सिकाएपछि म बाहिरबाट आउनासाथै ‘आयौ, मनोज दाइ!,’ भन्न जान्ने भएको थियो।
विस्तारै उसले नेपाली गीत पनि गाउन थाल्यो। म पनि ऊसँग गफ गर्दै सबै बिर्सन थालेको थिएँ। उसले विस्तारै मेरो भाषा बुझ्ने भयो। अब हामीबीच दोहोरो संवाद हुन थाल्यो।
एकदिन कामबाट आउँदा ऊ उसैगरि झ्यालबाट हेरेर ल्याप्टपमा बजिरहेको गीत गुनगुनाइरहेको थियो। म आएको थाहा पाएपछि सधैंझैं फड्फडायो र फेरि यथास्थानमा आएर बस्यो।
म बाहिरबाट आएपछि गीत बन्द गर्थेँ र ऊसँग गफ गर्थेँ। त्यो दिन गीत बन्द गरेर किचनमा चिया बनाउन गएँ। ऊ केही गुनगुनाउँदै थियो।
चिया लिएर भित्र कोठामा गएँ। म बस्नै के लागेको थिएँ, उसले गायो- ‘बालक बबुरो दिजशुक नाम, हुँ म परेको छु पिँजडामा। मकन हरे शिव शान्ति र चैन, सपनाबीच पनि रत्तिभर छैन...’
मेरो ल्यापटपमा त्यो गीत थियो, मलाई थाहा थियो तर उसले त्यही गीत त्यसरी गाउला भन्ने त मैले चिताएकोसम्म पनि थिइनँ। त्यो गीतले मलाई भित्रैदेखि हल्लाइदियो।
त्यसपछि मैले सोधेँ, ‘विल्सन, तिमीले त्यही गीत किन गाएको?’
‘घरको नियास्रो लागेर,’ उसले नसोचेको उत्तर दियो।
‘के तिमी घर जान चाहन्छौ?’
‘पिँजडाको सुगालाई सोध्ने योभन्दा वाहियात प्रश्न छ तपाईंसँग?,’ उसले उल्टै प्रतिप्रश्न गर्यो।
‘आजसम्म त्यो गीतले यति भित्रसम्म कहिल्यै छोएको थिएन जति आज तिमीले गाउँदा छोयो। तिमी जान चाहन्छौ भने म तिमीलाई मुक्त गरिदिन सक्छु,’ मैले मनको कुरा बताएँ।
‘तर तपाईंको पैसा?,’ उसले मेरो ४०० डलर सम्झायो।
‘कसैको स्वतन्त्रताको मूल्य हुन्छ र?’
‘के तपाईं यो साँच्चै भन्दै हुनुहुन्छ?,’ ऊ केही उत्साहित देखियो।
म त्यसपछि केही बोलिनँ बरू पिँजडाको ढोका खोलिदिएँ र भनेँ, ‘यतिन्जेलसम्मको साथको लागि हृदयदेखि धन्यवाद विल्सन! आफ्नो ख्याल राख्नू।’
ऊ बाहिर निस्कियो र मेरो टेबलमा बस्यो। आफ्ना कुँजिएका पँखेटा फिजायो। हामीले आङ तानेजस्तै गरी खुट्टा पनि तनक्क तन्कायो। पखेटाको शक्ति पनि परख्यो।
‘धन्यवाद, दाजु’ बस् यत्ति भन्यो र भुर्र उडेर झ्यालबाट आकाश नाप्न गयो। म ऊ सानो कण भएर आकाशमा समाहित नहुँदासम्म ऊ गएको बाटो एकटकले हेरिरहेँ। हेर्दाहेर्दै ऊ बिलायो। त्यो दिन मेरो मन एकैपटक हलुका र गह्रौं दुवै भएको पहिलोपटक थाहा पाएको थिएँ।
ऊ उडेपछि म शून्य भएँ। कोठाको वातावरण शून्य भयो। खाली पिँजडा हेर्दै चिया पिएँ र पल्टिएँ।
ऊ उडेर गएको एक घण्टापछि नजिकै चरा भुर्र उडेर बसेको आवाज आयो। वरपर हेरेँ, विल्सन फर्केर आएको रहेछ। म छक्क परेँ। ऊ आएर मेरो काँधमा बस्यो।
‘किन फर्केर आएको विल्सन?,’ मैले सोधें।
‘मेरो बानी बिग्रिएछ। निकै उत्साहित भएर उडेको थिएँ, तर मेरो पखेटा केही बेर उड्दैमा फतक्क गलिगए। त्यसपछि थाकेर एउटा चौरमा चरिरहेका साथीहरूनेर गएँ, उनीहरू खनीखोस्री खाइरहेका थिए। मेरो त नङ्ग्रा पनि बोधो भएछन्। सोचेँ, म त निकै कमजोर भएछु। अब त म फेरि जंगलमा बाँच्न सक्दिनँ कि भन्ने लागेर फेरि आएको। के तपाईं मलाई राख्नु हुन्न र?’
म उसको कुराले गम्भीर सोचमा डुबिगएँ।
‘राख्छु, तर…’
‘के तर?’
‘तर तिमी त वनमै रमाउनु पर्ने होइन र? आज धेरैपछि गएको भएर त्यस्तो लागेको हो। केही दिन जाने आउने गर। फेरि पनि त्यस्तै लाग्यो भने मसँगै बसौला, नत्र तिमीलाई जे ठिक लाग्छ त्यही गरौँला हुँदैन?’
ऊ दिनदिनै केही समयको लागि बाहिर निस्किँदै फर्कँदै गर्न थाल्यो। यस्तैमा एकदिन उसले जोडी लिएर आयो। मलाई धन्यवाद दियो र मेरो गालामा चुम्बन दिँदै भन्यो, ‘मैले हिजो धेरैबेर तपाईंबारे सोचेँ। दाइ, मभन्दा दुखी त तपाईं हुनुहुन्छ। मभन्दा ठूलो पिँजडामा त तपाईं बन्द हुनुहुन्छ। मेरो पुरानो जीवन फर्काइदिनु भएकोमा तपाईंलाई धेरै धन्यवाद। हामी तपाईंको यो गुन कहिल्यै बिर्सने छैनौँ। अब तपाईं पनि आफूलाई यस बन्धनबाट मुक्त गर्नुस् दाइ।’
एकैछिन रोकिएर आफ्नो जोडीलाई हेरेर फेरि थप्यो, ‘मेरो मनमा जे डर थियो, त्यो तपाईंले हटाइदिनुभयो र त म नयाँ जीवनमा फर्किन सकेँ। नत्र म सधैं पिँजडामै हुने थिएँ। मान्छे पनि पिँजडाको सुगा हो, जो पिँजडाको ढोका खुल्ला भएर पनि उड्न सकिरहेको हुँदैन। तपाईं पनि हिम्मत गर्नुस् र आफ्नै घर फर्किनुस्, दाइ। आफ्नो घरजस्तो अरू के हुन्छ र! आजसम्मको साथको लागि हृदयदेखि आभार दाइ। अब हामी जान्छौं पनि। वसन्त लागिसक्यो, नयाँ घर खोजेर नयाँ जीवन सुरू गर्नुछ। गुड बाई दाजु।’
यति भनेर दुवै सुगा भुर्र उडेर गए। म उनीहरू आकाशमा सानो थोप्लो बनेर नबिलाउन्जेलसम्म हेरिरहेँ।
मेरो संगतमा ऊ ठूल्ठूला कुरा गर्न सक्ने भएको थियो। उसलाई पिँजडाबाट मुक्त मैले गरिदिएँ। उसले बदलामा मलाई पनि मुक्तिको मार्गदर्शनको नाममा हल्का धक्का दिएर गएको थियो, तर पनि मसँग अल्झिनु बाहेकको विकल्प थिएन।
विल्सनले बुझेको थिएन, चराहरूलाई मुक्त हुन उनीहरूलाई आफ्नो पखेटाप्रति विश्वास भए पुग्छ तर मान्छेको कुरा फरक छ। मान्छे स्वतन्त्र हुन उसलाई आफ्नो पखेटाप्रति विश्वास भएर मात्र पुग्दैन, उसले अरूको पखेटामा पनि विश्वास भरिदिन सक्नुपर्छ। र, यो काम निकै गाह्रो हुन्छ।
त्यसरी म चाहेर पनि पिँजडा छोडेर जान सकिरहेको छैन। जे होस् ऊप्रति मेरो कुनै गुनासो छैन, एउटा शुभचिन्तकको नाताले उसले जे सक्थ्यो त्यो भनेर गएको थियो।
‘तिमी जहाँ गए पनि खुसी र सुखी रहनू,’ ऊ गएको धेरैबेरपछि मनमनै कामना गरेँ। आँखाबाट अनयासै बगेका आँसुको डोरो गालासम्म पुगेका थिए, त्यसलाई पुछेँ र कामतिर लागेँ।
***
विल्सन कहाँ छ? के गर्दैछ? मलाई केही थाहा छैन। ऊ आफ्नो जोडी पाएर गएपछि फेरि कहिल्यै फर्केर आएन। सायद आएको थियो, म नै पो घर सरिसकेको थिएँ कि!
आजको सपनापछि एक्कासी उसको नियास्रो लागेर आयो। सोच्न मात्र सक्ने म फेरि विल्सनको अन्तिम वाक्यहरू सम्झेर सोचमग्न भएँ।
विल्सनले उड्नुअघि भनेको कुरा ठिक हो- ‘मान्छे साँच्चै नै पिँजडाको सुगा हो, जो पिँजडाको ढोका खुल्ला भएर पनि उड्न सकिरहेको हुँदैन।’