हस्तरेखाका सिपाहीहरू
सडकका छेउमा हत्केला पसार्छन्
आकाशतिर हेर्दै
हेराउनेतिर हेर्दै
सपनाका चाङहरू उलटपुलट गर्छन्
ठाउँ-ठाउँ चहारेर सङ्घर्ष गर्छन्
अनि थाकेर
हुइयऽऽ गर्दै
गालामा हात राखेर
छैठीमा भावीले लेखेको सम्झछन्
कर्मरेखाका सिपाहीहरू
विवेक र पौरखका गोलीगठ्ठा बोकेर
निशानामा प्रहार गर्छन्
पसिना र रगत बगाउँदै
सपनाको पहाड उचाल्छन्
पहाडभरि बगैँचा सजाएर
सुगन्ध फैलाउन खोज्छन्
वक्ररेखाका सिपाहीहरू
कर्मरेखाका सिपाहीहरूको टाउकोमा टेक्दै
हावामा नाच्न खोज्छन्
पहाडका फूलहरू निर्चोर्दै
रक्सी बनाएर धोक्छन्
गन्हाउँछन्
तानामा गाउँछन् र गीतहरू गिजोलिन्छन्
अनि चल्न थाल्छ अर्न्तद्वन्द्वहरू
खेलका नियमहरू
युद्धका नियमहरू
मानकहरू
वक्ररेखाहरूसँगै बांगिएपछि
क्रुर र अमानवीय दुर्दशामा
मानवीयताका कोपिलाहरू भागाभाग गर्छन्
यत्रतत्र पछारिन्छन्
पहाडहरू काला हुँदै र खोक्रिँदै जान्छन्
सारा जंगल वक्ररेखाका गुजुल्टामा गुजुल्टिन्छन्
कताकती अट्टहास सुनिन्छ
भाग्यरेखा र वक्ररेखाका सम्मिलनमा
हरियालीका बिजहरू नउम्रँदै नष्ट हुन्छन्
भाग्यरेखाका सिपाहीहरू जुवा खेल्न थाल्छन्
सरलरेखाका सिपाहीहरू लुटिन्छन्
न्यायका बत्तीहरू निभ्छन्
कर्कश ध्वनीहरू
र अमिला अक्षरहरूले
इतिहासका पानाहरू मैलिरहन्छन्।