समय बग्छ जिन्दगीका गोरेटोहरूमा, पाइलाहरूले नयाँ मोड लिन थाल्छन्। सबै कुरा पुराना भए नि समय नयाँ हुन्छ हरेक दिन। आफ्नासँगको आत्मियता पुरानो भए नि बिताउने पल नयाँ हुन्छ। नयाँ बिहानले जवानी पनि त घर्काउँछ होला नि।
तलाउ, हावा, हिमाल, पल्लव अनि प्रित किन बुढा हुँदैनन् हँ? अक्सर सोच्ने गर्छु। मैले विगतका १५ दिनमा मेरा पाइलाहरू कञ्चनजंघाको फेदीसम्म पुर्याएँ। काठमाडौं फर्किने बेला भद्रपुर एयरपोर्टमा एउटा अस्पष्ट अनुहार नाचिरह्यो मेरो अगाडि।
आखिर को थिइन् उनी?
एक मनले सोच्छ- ‘हेर् केटा, बाटोको यात्री हरकोहीलाई सम्झेर बस्न सक्छस्?’
अक्सर म आफैसँग कुरा गर्दा केटाको उच्चारण गर्नेगर्छु।
अर्को पक्ष बोल्छ आफै- ‘यसलाई सोध् त के ऊ एउटी बटुवा मात्र थिई तेरो जिन्दगीमा?’
आफैभित्र गृहयुद्ध सुरु भयो, खैर छाडौँ अब। यात्रा लामो छ अनि जिन्दगी छोटो, फेरि कहीँ कल्पनाको पथ तिर हिँड्दै गर्दा भिटियो भने ननसेन्स भनिदिउँला। आफैलाई ढाडस दिएँ।
काठमाडौं आएपछि यादहरू आउन पनि लाइन लाग्ने गर्छन् मेरो। बिहान ८ बजे उठेपछि बेलुका ८ बजेसम्म बैँककै कुरा आउँछ दिमाखमा। त्यही कागजसँग रम्ने गर्छन् मनहरू। किबोर्डसँग खेल्ने गर्छन् औँलाहरू। मोनिटरसँग बस्छ मिठो पिरती।
कुरा एक वर्ष आगाडिको हो। साथीलाई जिस्काउँदा जिस्काउँदै अरुसँग प्रेम बसेको कहानी याद छ।
'कहिले औँसीको रातमा पनि पूर्ण जुन उदाएको याद छ? या भनौँ मरुभूमिभरि हरियो जंगल? पूर्णिमा कि जून हौ तिमी?,’ ठट्यौलीमै मैले भनेको थिएँ उसलाई त्यो दिन।
‘हजुर त मलाई के-के भनिसिन्छ के-के। कति आउँछ है हजुरलाई गफ गर्न!’
‘लौ अब जून जस्तो धपक्क बलेकी परीलाई मैले उपनाम दिन नि नपाउने हो?,’ मैले केही उत्साहित हुँदै सोधेको थिएँ।
‘हजुरले त गाली गरे नि मायाको अनुभूति हुन्छ। हैन के जादु चलाइस्यो ममा? नजर हट्दैन मेरो हजुरलाई हेर्न। याद जानै मान्दैन, बिहान हजुरकै याद, दिउँसो हजुरकै, निदाउन अगाडि हजुरकै याद, बिहान उठ्दा पनि उहीँ हजुरको यादसँगै सुरु हुन्छ मेरो हरेक दिन। हजुर मेरो प्रत्येक पलमा हुनुहुन्छ। हरेक मोडहरूमा।’
तिमीले भनेको कुरा मलाई कण्ठस्थ रहेछ हेर।
थाहा छ, अरु सबै-सबै परिवर्तनशील आभाहरू भए पनि तिमीलाई एकनास माया गर्नु चाहिँ अमर स्पन्दन हो। तिमी मेरो लागि आगत र विगत दुवैको अपरिवर्त्य उत्प्रेरणा हौ, प्रेमको उपमा पनि त हौ। हो जरुर म तिमीलाई माया गर्छु- निस्फिक्री, औधी, अनन्त!
‘आहा! कति मिठो भनिस्या, हजुरलाई के कुरा मनपर्छ साँच्चै?,’ वैशाखको पहिलो हप्तामा तिमीले सोधेको प्रश्न सायद यही थियो।
मलाई एकान्त मनपर्छ। छालहरू गन्न, स्वप्निल लाग्ने दोभानहरू हेर्न, गोरेटोमा प्रतीक्षा गर्न, पिपलको शीतल छहारीसँग मुस्कुराउन! अर्ध-कद, आधी मान्छे, मजस्तै मिल्ने पानी, धुमिल र तनावमय- कस्तो विहंगम आकृति र संगम।
तिम्रो आगमन ऋतुजस्तै रहेन- छायाचित्र जस्तो आक्कलझुक्कल अनि बेनामी! मलाई वैजनीहरूको माया उनेर तिमीसम्म पुर्याउन मन हुन्छ, यावत सम्वार्ताहरूको सघन आकृति कोरेर सिङ्गै धरामा वर्षातहरू टक्क रोकिउऊन, फूलहरू विस्तारै झर्छन्, तिम्रो आगमनमा हो?
क्यानभासको एउटा पर्दा सदाझैं फिका रङ्गमा अप्रिय छ, फूलहरूको एउटा सहर अनवरत प्रतीक्षामा छ, वैजनीहरू लिएर, उत्कटताको दियो- रुमानी यादहरूको! तिमी गयौ।
‘उनको बारेमा चाहिँ केही लेख्दैनस्?,’ नवराजले कुनै दिन सोधेको प्रश्नले आँधी ल्याउँछ।
के म साँच्चै केही लेख्न सक्दिनँ? अनवरत अजर प्रेमको अव्यक्त पाठशालाको ढोका कहिल्यै नखुल्ने हो त? मथिंगलको तुँवालोले विस्मृत भैकन पनि तिमीले दिने यावत आरोही साथहरू हुन्जेल म लेख्न कसरी सकूँ र!
साथ छोडे पनि तिमीले र मैले सँगै हेरेका पाटनका मन्दिर, बङ्गलामुखी, काठमाडौँ वरपरका पर्वत, एन्डिजका शृंखलाहरू, मरुतलका उच्छ्वासहरू, खलिहानहरू, बेमेल बेलगाम नृत्यांगनाझैँ लाग्ने सुस्केरा, धूप, सन्देह, परिभ्रमणको व्यग्रताहरूमा आउने तिम्रो एक मुठी सप्कोको नियत क्लिष्ट संदेही छ- मलाई तिमी टाढिएको रत्तिभर भ्रम छैन। अर्थात् तिमी गयौ अरुकै अंगालोमा, म संगममा मिलेँ!
भाष्य-अभाष्य, मेल-बेमेल, श्रव्य-दृष्य, शरद-शिशिर, याद-आभा, सजीव-निर्जीव, सबैसबैमा हाम्रो प्रिय यादहरू, आभाहरू, लालित्यमा पोखिएका आभाषहरू, मधुर लाग्ने बोलीहरू अनि उस्तै यादहरूको रसास्वादनलाई ल्याएको हरियो मफलर, सुवासहरू विचरण गरिरहन्छन्।
मलाई बेलीकुन्जहरू हरियो मफलरझैं लाग्छन्, अनित्य तारहरूमा पनि सजल भै जोडिने मायावी संवार्ताहरूजस्तै, अनिदा रातहरूजस्तै। प्रिय भैकन पनि अव्यक्त स्फुरणहरूको एउटा झ्याल, जसलाई तेस्रो नेत्र भन्थेँ। त्यहाँ बन्ने आकृतिहरू हेरिरहन्थेँ, जरुर यो हाम्रो सम्बन्धको प्रेम हो!
अन्तिममा
तिमीसँग बोल्न छोडेको मात्र हो, तिमीलाई बिर्सिएको होइन
प्रेम दर्शाउन छोडेको मात्र हो, तिमीलाई प्रेम गर्न छोडेको होइन,
तिमीलाई भन्न छोडेको मात्र हो, याद गर्न छोडेको होइन
तिमीसँग लुकाउन थालेको मात्र हो, तिमीलाई सम्झेर रातहरू अनिद बिताउन छोडेको होइन।