प्रत्येक दिन
जब रातो-रातो हुँदै
दूरी नाप्दै उदाउँछ घाम
लाग्छ मेरो पोल्टामा खन्याएर गएको छ
उसले आफ्नो सपनाको केही अंश
मेरो नाममा
त्यसपछिको समय
उसै राम्रो लाग्छ मलाई
किन हो किन
जिन्दगीमा छोएर जाने हावाको मिठास
पिङमा मच्चिरहेको जिन्दगीको उचाइ
धुलोमा खेलिरहेका नानीहरू
माथि-माथि अझै माथि निलो आकाशमा
उडिरहेका चराहरू
झरिरहेको पातको नाच
उकालो चढ्दाको पसिनाको गन्ध
झरीमा भिजिरहेको बालकहरू
भारी बोकिरहेका भरियाहरू
मन्दिरमा घन्ट बजाउने भक्तजन
किताब च्यापेर विश्व विद्यालय छिर्न तर्खर गर्ने
एक जमात युवा
बत्तीको उज्यालोबाट मुक्त हुन्छ घर
राति देखिएका अँध्यारा मान्छेहरू
चम्किलो भएर चिया गफमा रमाउँछन्
देश बनाउँछन्
कुरा मिसाउँछन्
कुद्नु नियत जसरी कुद्छन्
फूलहरू बास्ना झर्छन्
आमा दैलो पोत्नु हुन्छ
कोदालो बोकेर बा जान्छन् खेत
गाग्रीहरू भरिन्छन् पँधेरोमा
चराहरू चारा खोज्न निस्कन्छन्
शीतका थोपाहरू तप्किन्छन् भुँइमा
र, भिजाउँछन् चर्केको माटो
के पो हुँदैन र बिहानमा
एउटा मिठो धुन बज्छ
तिम्रो आगमनको धुन
पर्खेपछि पाइन्छ जिन्दगीमा हरेक चिज
त्यसैले भनेका हुन मान्छेले पर्खन सक्नुपर्छ
मलाई लाग्छ
म वर्षौदेखि पर्खिरहेको थिएँ तिमीलाई
तिमी आयौ जिन्दगीमा
लाग्दैछ बहार आएको छ
र रङ्गाएर गएको गएको छ
जिन्दगीको रङ
घाम ओर्लनु र तिमी आउनु
एकै समय भएर होला
तिमी मलाई घाम जतिकै न्यानो लाग्छ
अनि लाग्छ उति नै प्रिय पनि
नछोएरै पनि बसिदिन सक्छु
कयौं वसन्तहरू
तिमी आउने प्रतीक्षामा।