ॐ भूर्भुव: : स्व:
तत्सवितुर्वरेण्यं भर्गो देवस्य
…
ढोकामा बजेको घण्टीको आवाज सुनेर एकसुरले खाजा तयार गरिरहनु भएको आमाको ध्यान भंग भयो। आमाले हतार हतार गएर ढोका खोल्नुभयो र खुसी हुँदै भन्नुभयो ‘ए बुढा तिमी आयौ?’ बुवा भने केही नबोली भित्र गएर सोफामा बस्नुभयो।
अरू केही नबोली आमा फेरि भान्सामा छिर्नुभयो र पानी ल्याएर सोफा अगाडिको टेबलमा राख्दै भन्नुभयो - ल पानी लिनु त, म चिया लेराइहाल्छु है।
कोठाको शान्त वातावरणलाई भंग गर्दै आमा फेरि बोल्नुभयो- लौन पानी त जस्ताको तस्तै छ, कता टोलाएको बुढा! आमाको चर्को स्वरले बुवा झस्किनुभयो तर केही बोल्नु भएन।
बुढाको मलिन अनुहार र निधारको पसिना देखेर बुवा छेउमै बसेर आमाले सोध्नुभयो- के भयो हजुरलाई? सञ्चो भएन कि ?
बुवा आमातिर हेरेर विस्तारै भन्नुभयो- छोराको सबै रिपोर्ट आएछ बुढी..... (केहीबेर शान्त हुँदै फेरि भन्नुभयो- बाबुको दुवै मिर्गौला काम नगर्ने भएछ..... (शान्त)….. ।
आमा छाँगाबाट खसेजस्तै हुनुभयो। आँखाबाट आँसुका भेल बग्न थाले।
केहीबेरपछि रून्चे स्वरमा आमाले भन्नुभयो- यति सानो उमेरमा के आइलागेको यसलाई। कस्तो भाग्य बोकेर जन्मेछ बरै। (रूँदै) अब के गर्ने होला हजुर ? सुक्कसुक्क गर्दै बुवाले भन्नुभयो- डाक्टर बाबुसँग कुरा गरेथें, के मेसिन हो कुन्नी त्यसबाट रगत सफा गर्न मिल्छ भन्नुभाथ्यो त्यसले बिरामीलाई अलि निको पार्छ रे। (केहीबेर चुप बसेपछि) तर हप्तामा २-३ पटक गर्नुपर्छ रे, गाह्रो हुने भयो बुढी हाम्रो बाबुलाई, फेरि पैसा पनि उस्तै लाग्ने…..। यति भनेर बुवा चुप लाग्नुभयो।
आमा पनि केही नबोली निराश हुँदै बस्नुभयो।
यत्तिकैमा कोठाको शान्ति बिथोल्दै जीवन आइपुग्यो।
‘आमा ! आमा ! लड्डु किनेर ल्याउनुहोस् है। बुवा मेरो एसइईको रिजल्ट आएछ मेरो 'ए' आयो। अब म काठमाडौं गएर साइन्स पढ्छु अनि डाक्टर पढेर बुढेसकालमा हजुरहरू बिरामी परे म आफैं उपाचार गर्छु।’ जीवनको कुरा सुनेर आमाका आँखाबाट फेरि आँसु बहन थाल्यो। छोरा जीवनमा सानो सानो दु:ख र खुसीमा सधैं रोइरहने आमाको आँखामा आँसु देख्नासाथ जीवनले चिन्छ कि यो खुसीको होइन दु:खको आँसु हो।
आमाको नजिक गएर भुइँमा बस्दै उसले भन्यो- आमा म काठमाडौं जाने भनेर दुखी हुनुभएको हो? म यहीँ बसेर पढछु, आमा हजुर नरूनुस् म हजुरलाई छोडेर कहिल्यै जान्नँ।
जीवनको यो कुराले आमा झन् भक्कानिनुभयो र जीवनलाई अंगालोमा बेरेर रूनुभयो। जीवनले त्यहाँ के भइरहेछ केही बुझ्दैन। यत्तिकैमा बुबाले भन्नुभयो- तेरी आमा यस्तै हो सधैं रूने, ल बावु यो पैसा लिग, गएर लड्डु किनेर लेरा।’
छोरा उठेर खुसी हुँदै पसलतिर गयो। बुवा गहभरी आँसु पार्दै आमालाई सम्झाउनुभयो- पिर नगर्! बुढी हाम्रो छोरालाई केही हुँदैन, जमाना कहाँ पुगिसक्यो, बाबुको उपचार भैहाल्छ। म मेरो मिर्गौला दिएर भए पनि बचाउँछु हाम्रो बाबुलाई। तँ पिर नगर्। हाम्रो बावु ठिक भएर डाक्टर पढ्न जान्छ।
यसरी दिनहरू बित्दै गयो। जीवनले पनि आफूलाई सन्चो नभएको कुरा थाहा पायो तर बुवा आमाले उपचार गराइरहेकोले उसलाई केही चिन्ता छैन।
ऊ घर नजिकैको कलेजमा ११ कक्षामा भर्ना हुन्छ साइन्स विषय पढ्न। एकदिन जीवन कलेजबाट फर्किंदै गर्दा छिमेकी दिदीले उसलाई बोलाउँदै सोध्नुभयो- जीवन कस्तो छ तिम्लाई? तिम्रो त मिर्गौला बिग्रिएछ है?
जीवन केही जवाफ नदिई विस्तारै त्यहाँबाट हिँड्यो। यत्तिकैमा, अघिको दिदीले अर्को छिमेकीसँग भनेको सुन्छ 'कठै बरा भर्खर १६ वर्ष लागेथ्यो, नाममात्र जीवन भएर के गर्नु कलिलै उमेरमा मर्छ कि क्या हो …..’
विस्तारै हिँड्दै गरेको जीवन टक्क अडिन्छ।
‘मर्छ कि क्या हो’ भन्ने शब्दले उसको जिउ सिरिङ्ग हुन्छ अनि ऊ फटाफट त्यहाँबाट आफ्नो घरतर्फ लम्कियो। घर पुग्नेबित्तिकै कोठामा बसेका बुवा-आमालाई सोध्छ: आमा-बुवा के म ठिक हुन्न अब? के म मर्दैछु हो? छोराको प्रश्न सुनेर आमा सोफाबाट जुरूक्क उठेर भन्नुभयो; के बोलेको बाबु यस्तो? कसले भन्यो तँलाई यो नचाहिने कुरा? तलाई केही हुँदैन….। आमाले बुवातिर हेरेर भन्नुभयो- जीवनका बुवा हामी भोलि नै छोरालाई लिएर भक्तपुर जाऊँ अब बाँकी उपचार त्यहीँ गराउनुपर्छ।
पढ्नको लागि काठमाडौं जाने रहर बोकेको जीवन उपचारका लागि काठमाडौं उपत्यका पुग्छ। उसले भक्तपुरस्थित एक अस्पतालमा बारम्बार डायलासिस गराउँछ। यसरी घर छोडेर भक्तपुरमा डेरामा आएर बस्दा बुवाआमालाई छोराको चिन्तासँगै आर्थिक भारले पनि थिच्न थाल्छ। सधैं डायलासिस गरिरहन पर्ने र रोग निर्मूल पनि नहुने हुनाले, मिल्दो अंग दाता पाएमा मिगौला प्रत्यारोपण गर्ने सल्लाह डाक्टरहरूले दिन्छन्। त्यही अनुसार जीवनको बुवाको रक्तसमूह मिल्ने भएकाले र साथै बुवालाई अरू कुनै रोगहरू पनि नभएकाले प्रत्यारोपणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन बुवाको स्वास्थ्य परीक्षण हुन्छन् र कानुनी प्रक्रिया समेत सुरू हुन्छ।
केही महिनापछि जीवनको मिर्गौला प्रत्यारोपण गर्ने सबै प्रक्रिया र जाँच पूरा भयो। हेर्दाहेर्दै अस्तिसम्म हेमोडायलासिस गर्न बेला-बेलामा हस्पिटलको वार्डको बेडमा सुत्ने जीवन आज शल्यक्रिया कक्षको बेडमा सुत्न पुग्छ, जहाँ उसलाई नयाँ जीवन दान गर्न उसको बुवा पनि सँगै हुनुहुन्छ। केही घण्टापछि मिर्गौला प्रत्यारोपण शल्यक्रिया सम्पन्न हुन्छ। जीवन र उसको बुवालाई निरीक्षण कक्षमा डाक्टर र नर्सको निगरानीमा राखिन्छ। जीवन अस्पतालको शय्यामा सुतिरहेको हुन्छ, आँखा खोलेको केही समयपछि उसले आफ्नो आमालाई त्यहाँ पाउँछ। आमा छोरा केही नबोली धेरै बेर एक अर्कालाई हेरिरहन्छन् यत्तिकैमा जीवनले हिम्मत बटुलेर सोध्छ ‘आमा ! के म अब बाच्छु ??’
आमा केही बोल्नुहुन्न तर आमाको ओठको मिठो मुस्कान र हर्षित देखिने आमाका आँखाबाट खसेका आँसु देखेर जीवनले आफ्नो प्रश्नको उत्तर पाउँछ।
-