गणित र मेरो सम्बन्धविच्छेद भएको झन्डै ५ वर्ष भइसकेको छ। मेरो ऊसँग बालविवाह भएको थियो।
हाम्रो उमेरको अन्तर कति वर्ष छ भनेर बुझ्नका लागि मैले आजसम्म हिसाब गर्न सकेकी छैन। ऊ ३००० बिसीमा जन्मिएको रे, म २००१ एडीमा।
मेरो बिहे भएको रहेछ तर मलाई भने आफ्नो बिहे भएको समेत थाहा थिएन। मलाई गणित सुरुदेखि नै मन परेको थिएन। उसलाई म बुझ्दिन थिएँ। तर उसका कुराहरू बुझ्नैपर्छ भनेर सबैले मलाई कर गर्थे। अलमल थियो।
कतिले विस्तारै बुझिहाल्छौ नि पनि भने। कतिले भने, ‘नबुझे पनि अब बिहे भैसक्यो, के नै गर्न सकिन्छ र?’
मैले कोसिस गरिहेरेँ। गणितले सुरुमा मलाई १, २, ३ भन्दै गन्ती बुझायो। मलाई नि त्यति सिक्न कुनै आइतबार थिएन। टिपिहालेँ, सिकिहालेँ।
त्यसपछि अर्को दिन फेरि गुणन बुझाउँछु भन्दै आयो। अलिक सकस पर्यो तर ३ सम्म गुणन गर्न जान्ने भएँ। अर्को दिन त ४ देखि माथिको गुणन सिकाउँछु भन्दै आउँछ बा! मैले प्रतिरोध गर्न मिलेन।
ऊ मेरो श्रीमान् हो। उसलाई मैले जसरी पनि बुझ्नैपर्छ अरे। तर के म उसकी श्रीमती थिइनँ र? के उसले मलाई बुझ्ने कोसिस गर्नुपर्दैन थियो होला? यो प्रश्न मनमै दब्यो। उति बेला मैले आँट गरेर भन्नै सकिनँ, ‘मलाई तिम्रा बकम्फुसे हिसाब बुझ्न कुनै चासो छैन।’
अलिक उमेर बढेपछि उसलाई आफैँ पनि बुझ्ने प्रयास गर्न थालेँ। तर बुझिसक्नुको भए पो बुझिन्थ्यो। मैले वरिपरिका चिजहरूलाई जोड्नु र घटाउनु पर्ने भयो। जोड सिक्न खासै सकस परेन, घटाउ कताकता अप्ठ्यारै लाग्यो।
जीवनमा पनि साथीसँगी जोडिँदा कहाँ सकस पर्छ र? गाह्रो हुने घटाउनु पर्दा नै त हो नि!
१३ वर्षको लामो सम्बन्ध थियो हाम्रो। सामान्यतया हप्ता दिन सँगै बसेका मान्छेसँग छुट्टिनु पर्दा पनि नरमाइलो लाग्छ तर यत्तिका पुरानो चिनजानलाई बाईबाई भन्न मलाई कुनै आपत्ति भएन। सँगै हुँदैमा कहाँ सबैको माया लाग्दो रहेछ र? माया नलागिसकेपछि कसको के लाग्दो रहेछ र?
समय बित्दै जाँदा ऊ देखेर मलाई डर लाग्न थाल्यो। एकदिन त उसले भयानक रूप नै लियो। मलाई एउटा गुणनको हिसाब गर्न लगायो। मैले गरेर दिएँ। हिसाब बिग्रिएको रहेछ। उसले मलाई दया नगरी १०० चोटि उठबस गर्न लगायो।
१०० सम्म गन्दै उठ्दै बस्दै गर्दा मैले त्यो नजानेको हिसाब जाने हुँला कि १०० सम्मको गन्ती? सम्झिन्छु गणितले मलाई कति पटक रुवायो होला?
बारम्बार रुवाउनेहरूलाई छाडिदिएकै राम्रो रहेछ। कति पटक मन नहुँदा नहुँदै उसलाई बुझ्ने कोसिस गरेँ हुँला। मन नलाग्ने कुरो राम्रो गरेर देखाउन सजिलो नहुँदो रहेछ।
ऊ मेरो परीक्षा लिइरहन्थ्यो। बल गरेरै उसका हरेक परीक्षाहरू उत्तीर्ण गरेँ। तर पनि उसलाई मैले कहिल्यै बुझ्न सकिनँ। उसले पनि मलाई कुन हिसाबले बुझ्छ, कसरी बुझ्छ र कुन हदसम्म बुझ्छ भनी अड्कल काट्न सकिनँ। किनकी मलाई अरू नै कोही मनपर्न थालेको थियो। ऊ थियो अङ्ग्रेजी।
ऊ मलाई कथाहरू सुनाउँथ्यो। मेरा लागि कविताहरू बोकेर आउँथ्यो। उसमा गणित जस्तो जटिलता थिएन। मलाई अक्षरमा बग्न अंकसँग बग्नुभन्दा धेरै सजिलो भयो। मैले मेरो प्रेम भेट्टाएँ। सानो छँदा उसलाई सबैले अङ्ग्रेजी नामले बोलाउँथे। ठूलो भएपछि थाहा भयो असलमा उसको नाम साहित्य रहेछ। म साहित्यसँग प्रेम गर्न थालेकी थिएँ।
तर आफ्नो प्रेम भेट्टाउँदाको खुसीमा धेरै बेर झुमिरहन सकिनँ। उता गणित पनि त थियो। मेरो मन दोमन भयो। के मैले गणितलाई छोड्छु भन्न पाउनेछु? पाएँ भने पनि उसलाई छोड्दा मलाई सबैले के भन्लान्? के विवाहपछि अरू कसैसँग प्रेम हुनु गलत हो?
यस्ता सवालहरूले मलाई भित्रभित्रै खान थाले। निर्णय लिनै सकिरहेकी थिइनँ। एकैछिन आँखा चिम्लिएँ। गणितसँग आउने ५ वर्ष सँगै बिताएको कल्पना गरेँ। साहित्यसँग पनि आफ्नो भविष्य त्यसरी नै कल्पना गरेँ। निर्णय लिन सजिलो भयो।
मैले मुख फोरेँ। भनेँ, ‘अब म गणितसँग बस्न सक्दिनँ।’
सबैले सोधे, ‘किन?’
प्रतिउत्तरमा मैले भनेँ, ‘मैले उसलाई बुझ्नै सकिनँ। उसले पनि मलाई बुझ्दैन। म खुसी हुन सकिनँ।’
सबै जना छक्क परे। मैले गणितलाई बुझ्न गरेको वर्षौंको संघर्ष र त्यसपछि हातपरेको निराशालाई नजरअन्दाज गर्दै कति सजिलै भनिदिए, ‘तिमी जत्तिको मान्छेले पनि यसो भन्ने हो? उसलाई अलिक बढी समय देऊ। पक्का बुझ्नेछौ। बरु हामी तिमीलाई मद्दत गर्नेछौँ।’
त्यसपछि मलाई गणित बुझाउन गणितलाई माया गर्ने उसका परिवारका अन्य सदस्यहरू खटाइने भयो।
खुद गणितले आफूलाई बुझाउन नसकेका बेला अब यी गणितलाई बुझ्छु भन्दै आउनेहरूले मलाई गणित बुझाउन सक्लान् र? सके भने पनि के र? के कसैलाई बुझ्दैमा उसको माया पनि लाग्न थाल्छ भन्ने पक्का छ?
के मैले भोलि गणितलाई बुझिहाले भने उसलाई साहित्य जत्तिकै माया गर्न सकुँला? के मात्र मेरो बुझाइको अन्तर छ होला र साहित्य र गणितमा?
मनमा एक भारी प्रश्नहरू थिए जसलाई बिसाउने चौतारी कतै भेट्न सकिनँ।
खैर, मलाई गणित बुझाउन बिहान आमाजू र बेलुकी जेठाजु खटाइने भयो। त्यसपछि मलाई आफ्नै आमाजू र जेठाजु पनि हेर्दै भयानक लाग्न थाले। अन्त भेट्दा होइन, मात्र गणित सिकाइरहेका बेलामा।
मैले एउटै मान्छेमा राम र रावण पहिलो पटक त्यतिबेला नै देखेकी हुँ। आफ्नै घरका सदस्य भए पनि उनीहरूले मलाई धम्काउन थालेका थिए। मैले गणितलाई बुझ्न असफल भएको खण्डमा मलाई भाटे नभए हाते कारबाही गर्ने अरे।
म चक्रव्यूहमा फसिसकेकी थिएँ। आमाजू र जेठाजुले नबुझेको कुरा जतिपटक सोधे पनि हुन्छ, हामी बुझाउँछौँ तर बुझ्नु चाहिँ पर्यो भन्नुभएको थियो। सबका बीच यति बोल्दिनाले पनि केही हलुका महसुस भएको थियो।
केही कुराहरू असाध्यै अप्ठ्यारा थिए, मैले आमाजूलाई सोधी हेरेँ। उनले मलाई गाली गरिन्। ‘यो हिजो सिकाएको कुरा आज किन सोधेको? हिजै सोध्नुपर्दैन?’
फेरि आज सिकाएको कुरा सोध्दा पनि उनी उसैगरी झर्किन्। उता जेठाजुले बुझाइदेलान् नि त भनेको उनको पनि त्यस्तै रिसालु प्रतिक्रिया देखेपछि म सतर्क भएँ। अब केही सोधेँ भनेँ मैले मेरो विगतदेखि भविष्यसम्मका कुराहरू गालीका रूपमा सुन्नुपर्नेछ।
यसरी डरले नबुझेको कुरो बुझिनँ भन्ने आँट छुमन्तर भइसकेको थियो। मनमनै कल्पिएँ, ‘आफूले बुझेको कुरा अरूलाई २ देखि ३ पटक दोहोर्याइदिन ठसठस कन्नेले के साँच्चै गणितलाई माया गर्छन् होला?’
भावनाहरू मुटुदेखि किलकिलेसम्म आइसकेका थिए। असह्य भइसकेपछि अरुबेला नआएको आँट आफै आउँदो रहेछ। म सबैको विपरीत गएँ। गणितलगायत उसलाई माया गर्छु भन्नेहरू सबैलाई कडा जवाफ फर्काएँ। आफूलाई साहित्य मन परेको कुरा निर्धक्क भनिदिएँ।
रह्यो कुरा कसले के भन्लान् भन्ने, मैले त्यसको वास्तै गरिनँ। किनकी मैले आफ्नो खुसी रोजिसकेकी थिएँ। आफ्नो खुसी रोज्नु भनेको दुनियाँलाई खुसी बनाइरहनुपर्ने बन्धनबाट मुक्त हुनु पनि रहेछ।
आज लगभग ५ वर्षपछि आइपुग्दा म निकै खुसी छु। विगतमा लिएका सही निर्णयले मेरो आजलाई सुन्दर बनाइदिएको छ। यो ५ वर्षको अन्तरालमा मैले कहिल्यै पनि गणितसँग बोल्न चाहिनँ, न त उसलाई खोजेँ नै। ऊबाट सकेसम्म चारकोश जति परै रहन चाहेँ।
तर गणित भने बारम्बार मेरो आर्थिक कारोबारहरूको खोजीनिती गर्न आइराख्छ। सानो नोट लिएर घर बाहिर निस्किँदा त उसले खासै वास्ता गर्दैन। तर जब म १००० को नोट लिएर निस्किन्छु, ऊ अझै पनि मलाई पछ्याउँछ।
७३५ को सामान किनेर कति फिर्ता आउँछ भन्दै क्यालकुलेटर दबाउँदा ऊ मेरो खिसीटिउरी गर्छ, मलाई गिज्याउँछ अनि उसलाई छोडेको परिणाम हो यो भनिरहेको जस्तो आभास गराउँछ। कहिलेकाहीँ त लाग्छ एकतर्फी माया पो गर्छ कि क्या हो मलाई? ज्यानगए छोड्दैन त!
अनि फेरि एकैछिनमा महसुस पनि भइहाल्छ, कसैको पछि लाग्नु र उसलाई माया गर्नु दुई भिन्न कुरा हुन्। माया गर्नेले आफ्नो कमजोर पक्षलाई लिएर कहिल्यै गिज्याउँदैनन्।
साहित्यले मलाई कहिल्यै गिज्याएन। मैले नबुझेका कुराहरू बुझाउन उसले सरल भाषाको प्रयोग गर्यो तर मलाई कहिल्यै रुवाएन। उसका सबैजस्तो रचनाहरू म बुझ्थेँ। ती रचनाहरूमा डुब्न म हतारिन्थेँ। उसमा मैले आफ्नो सारा खुसी भेट्टाएकी थिएँ।
मसँग कोही नभएको अवस्थामा पनि ऊ सधैँ मसँगै उभिएको हुन्थ्यो। उसले मलाई माया चिनायो, मलाई जीवन बुझाएर मेरो जीवन बचायो। जीवन जिउन आवश्यक शिक्षा मैले उसैबाट लिँदै आएकी छु।
आमाले मलाई माया गर्नुहुन्छ भन्ने कुरामा म जति विश्वस्त छु त्यत्ति नै म साहित्यलाई माया गर्छु भन्ने कुरामा पनि छु। सँगै विश्वस्त छु, आज मैले साहित्यलाई भेट्टाए जस्तै भोलि कसैले गणितलाई पनि भेट्टाउने छ।
किनकी गणित गलत थिएन। ऊ गलत व्यक्तिसँग थियो। अरू कसैसँग हुनुपर्ने व्यक्ति जब आफूसँग हुन्छ तब ऊसँग चाहेर पनि राम्रो सम्बन्ध बनाउन नसकिँदो रहेछ।
हामी कहिलेकाहीँ हराउँदा रहेछौँ। हराउनु जरुरी पनि रहेछ। हराएपछि भेटिएको बाटोप्रति नै कृतज्ञ भइन्छ। जसले कतै नहराइ एकैचोटीमा आफ्नो बाटो भेट्टाउँछ, ऊ भाग्यमानी हो। हराएर पनि आफ्नो बाटो भेट्नु अर्को भाग्य हो। आफूले आफ्नो भाग्यलाई भेटिसकेपछि म मेरी बहिनीलाई हेर्छु, ऊ पनि भाग्यमानी छे।
परिवारका सबैले बहिनीलाई एक्स्ट्रा माया गर्छन्। किनकी बहिनीलाई गणित खुब मनपर्छ। ऊ हिसाब गर्न सधैँ आँतुर हुन्छे। गणित पाएपछि उसले संसार नै बिर्सिन्छे। उसका हाउभाउ र जिज्ञासामा पनि गणित जोडिएको हुन्छ।
हिजोकै कुरा हेरौँ न।
आकाशमा हेर्दै बहिनीले सोधी, ‘त्यो प्लेन कत्ति माथि उडेको हेर्नु न दिदी। त्यो हामीभन्दा कति फीट माथि उडिरहेको होला?’
उसका दिमागमा यस्ता प्रश्न फुर्दा म भने त्यो उडिरहेको जहाजले बादल छिचोलेको हेर्न मै मस्त थिएँ।
@KhatiwadaDipika