आफू मरेर देश बाँचोस्
भन्नेहरूले फेरि रंगाएका छन्
फेसबुकका भित्ताहरू
खोलेका छन् ट्वीटरका झ्याल ढोकाहरू
रचिएका छन् केही कविता
र लेखिएका छन् केही लेखहरू
के देख्छन् देख्नेहरूले?
आफू मरेको?
यो देश जलेको?
अब कति दिन चलाउलान्
यसको आवाज?
एक दिन, दुई दिन?
तर जलाउनेहरूले
जलाइरहने छन्, जल्नेहरू जलिरहनेछन्
फगत गए प्रेम प्रसाद
‘देश बाचोस्’ भन्दै
तर देश बचाउनेहरूले
उनी जलेको देख्नेछन्
देश जलेको देख्दैनन्
तेस्रो दिन फेरि फिक्का हुनेछन्
फेसबुकका भित्ताहरू
बन्द हुनेछन् ट्वीटरका झ्याल ढोकाहरू
त्यहीँ दैनिकी दोहोरिरहने छ
प्रेमलाई जलाउनेहरू फेरि फोहोरिने छन्
फरक केही हुने छैन
जति प्रेम प्रसाद जले पनि
जति सरकार ढले पनि।