घुरमैलो बिहान
बिहानीका शीतका थोपा सरी
बिलाइ जाने सपनासँगै
फगत म बिउँझिएको जस्तो देख्ने त
समाजले मात्र न हो
के ननिदाएका आँखाहरूलाई
बिउँझन पनि पर्छ र?
जसरी देख्दैन समाज
५ वर्षे छोरीलाई ममताले बेरेर
रातभर उसैको भविष्यको चिन्तामा
उसको अवोध बाल निद्राको
फट्के किनाराको साक्षी बनेर
केवल लोलाएका मेरा यी आँखाहरू
तर खोइ कुन्नी कसरी देख्छ?
कुनै परपुरुषसँग डुलेको
उत्ताउलो भै बोलेको
अनि अनायासै शर्टको टाँक खोली
क्लिभेज धेरै खुलेको मात्र
के जवानीमै सिउँदो पुछिनु
रहर थियो र मेरो?
ओरालो लागेको मृगलाई
बाछोले लखेटेको जस्तो
किन लखेटिरहन्छ समाज
माइती घरको आँगन
किन हिजो म सानोमा
रमाएर खेलेजस्तो छैन?
राम, आशिष अनि सुमन
आज किन मेरा लागि
परपुरुष भए
ती त मेरा बाल शखाहरू थिए
अभिभावकत्व खोजेर हेरेका पुरुष अनुहारमा
जब तिनका आँखामा
मेरो शरीरले खोज्न सक्ने
शारीरिक आवश्यकताको प्रश्न देख्छु
मलाई मेरै शरीरदेखि
घिन लागेर आउँछ
मेरो कुरा काट्न यहाँ
पँधेरा, पँधेरनी र मेलापात त छैनन्
तर बग्रेल्ती खुलेका आमा समूहहरू छन्
तिनका बैठकमा मेरो उछित्तो काट्न
कहाँ बाँकी राख्छन् र?
आखिर एक महिलाको
प्रमुख शत्रु महिला नै हुँदा रहेछन्
यी सब त मेरो भाग्य भनेर चित्त बुझाउँछु
तर छोरीको दुर्भाग्य बनेको
कदापि हेर्न सक्दिनँ
त्यसैले आँखाको डिलमा
बाँधेको छु बाँध
मन ढुंगा जस्तो बनाएर
रुन नदिएको त मैले
मेरो आँखालाई मात्र हो
मन त कम्ता रोएको छैन मेरो
यी सब सहँदा-सहँदा
मन पनि अचेल ढुंगाकै भएको छ
मन ढुंगाको भए पनि
यो शरीर ढुंगाको नहुँदो रहेछ
कथित आमा समूहको कुटपिटबाट
आज यो विपी अस्पतालको बेडमा लडिरहेछु
ए पत्रकार/लेखक/कवि
मेरा नरोएका आँखाका आँसुका
कैँयन कथाहरू छन्
के तिनलाई लेख्ने
तिमीसँग एक थान कलम होला?