जीवनका कठिनतम् क्षणहरूले उकुसमुकुस भएपछि
फगत् गरिबीको कारागारबाट
जेलमुक्त हुनकै लागि
बैंसालु यो उमेर धितोमा राखेर
विदेश पसेको पनि गोडा दुएक वर्ष भएछ।
यो बीचमा मैले
घरको चुहुने छानो फेरेँ हुँला
बाबाको निद्रा छिनेको साहुको ऋण भर्दिएँ हुँला
केही लाख रुपैयाँ आमाको चुलोमा छर्दिएँ हुँला
तर आफन्त र साथीभाइको मन भने भर्न सकिनँ।
सम्झन्छु
पोहोर साल फुपूले भदौमा २ लाख रुपैयाँ मागेकी थिइन्
भन्थिन् सहरमा घडेरी किन्नलाई पैसै पुगेन रे
अस्ति वैशाखमा मामाले पनि १ लाख भन्नु भएको थ्यो
बाइक थोत्रो भयो नया किन्ने अरे
त्यो बेला मलाई भने
छोरीको स्कुलको फी तिर्नमै भ्याइनभ्याई भइराखेको थ्यो।
यो दसैँमा साथीले भन्यो उसलाई टुर जान खाँचै छ रे
तिहारमा सानिमाले भनिन् घरको टिभी बिग्रियो अरे
भिनाजुले भने थोरै पैसाले अभरै पर्यो रे
जेठान कराए उनलाई नि एउटा सानो गर्जो पर्यो रे
अझ सालीले आइफोन मागेको त म नेपालमा छँदै हो
देशमा छँदा
मसँग रिसाएका प्रियजन सायदै कोही थिए होलान्
आज मसँग खुसाएका मित्रजन सायदै कोही बाकी होलान्
मैले कसैसग झगडा गरेको त छैन
कसैलाई गाली बकेको पनि त छैन
मेरो अपराध यति हो कि
मैले यी सबै प्रियजनलाई मागेका बेला रुपैयाँ दिन सकिनँ
आफ्नै घर सम्हाल्नमा फुर्सद पाइनँ
उनीहरूले बुझेर पनि बुझ्न सकेनन्
आखिर परदेशमा पैसाको बोट छैन भनेर!
आज विदेश छोडेर म नेपाल फर्कने दिन आएको छ
घर सम्झिएर यसो हेर्दा लाग्यो
म विदेश पसेदेखि
मेरा आधा साथी र आफन्त मसँग बोल्न छोडेछन्
लाग्छ, परदेशले दिएको
यो मेरो बोनस कमाइ रहेछ।