देवीदेवता साक्षी राखेर
सँगै बाँच्ने सँगै मर्ने कसम
खाएका थियौँ हामीले
तर धागो चुढिएझैँ च्वाट्ट बीच बाटोमै
उसको र मेरो प्रेमको धागो
चुढिएको छ अहिले
मैले त उसलाई मेरो प्राणभन्दा पनि
धेरै माया गर्थेँ पहिले
ऊ नै मेरो जिन्दगीको सबथोक हो भनेर
बसेको थिएँ पहिले
तर अहिले
मलाई एक्लो बनाइ उसले
सँगै हिँड्दा हिँड्दै
एक्कासी मौसम परिवर्तन भएझैँ
खै किन हो? एक्कासी मन फेरी उसले
अनि
गई ऊ मलाई बीच बाटोमै एक्लै छोडेर
मर्नु र बाँच्नुको दोधारमा पारेर
ऊ अरू कसैको हात समाइ
चरी बनि नौ डाँडै काटेर
कस्तो निष्ठुरी रहिछ ऊ त!
गई उसको खुसीको अर्को नयाँ सहर
त्यसैले त उसको र मेरो प्रेमको फूल
गएको छ अब ओइलिएर
तर उसले दिएको त्यो प्रेमपत्र र रुमाल
मायाको चिनो भनी राखेको छु
मैले अझैँ सिरानीमा सजाएर
अनि दिक्क लाग्दो रात र दिनहरू
काटिरहेको छु अचेल
उसकै यादमा छट्पटिएर
कस्तो निष्ठुरी रहिछ ऊ त!
मेरो आँखैसामु हराइ बारुदको धुवाँ बनेर
त्यसैले त मेरो मुटुमा परेको छ
वेदनाको तुषारो
तर म त उसलाई माया गर्छु
अझैँ सागरभन्दा पनि गहिरो
उसलाई नपाए पनि
सधैँ ऊसँगै हिँड्ने छु
अब उसकै छाया बनेर
पर्खी बसेको छु म अझैँ
ऊ फर्की आउँछे कि भनि
चौतारीको त्यो बुढो बरपिपल बनेर
तर कस्तो निष्ठुरी रहेछ ऊ त!
फर्केर आउँदै आउँदैन ऊ त।
अनि अचेल
गोधूलीमा घाम अस्ताएको हेर्छु
उसकै यादमा तड्पिन्छु
अनि उसले दिएको प्रेमपत्र
खोलेर पढ्छु र
पढ्दा पढ्दै म देख्छु
प्रत्येक उसका अक्षरहरूमा
उसकै तस्बिर झलल
कस्तो निष्ठुरी रहिछ ऊ त!
गैसकेकी छे ऊ त
अरु कसैको हात समातेर
खोला बनि मेरो जिन्दगीबाट
बगेर सलल
त्यसैले त भत्किएको छ
मेरो प्रेमको शानदार महल
त्यसैले त उसलाई भुल्न
सधैँजसो धाउँछु म भट्टीको पसल
तर उसलाई भुल्न कहाँ सक्छु र!
शिकारीले चरीलाई आफ्नो फाइदाको लागि
गोली हानेर घायल बनाएझैँ
उसको झुटो प्रेमको गोलीले
मलाई बनाएको छ घायल
कस्तो निष्ठुरी रहिछ ऊ त!
सुनाउन चाहन्छु म उसलाई
मेरो मनको पीडाको सन्देश
तर दिएकी छ उसले मलाई
ऊसामू नआउन आदेश
त्यसैले त अब उसले घात गरे पनि
गहभरि आँसु लुकाएर हाँस्ने प्रयास गर्दैछु
ऊ जहाँ छ सधैँ खुसी रहोस् भन्ने चाहन्छु
उसले अर्कैको हात समाई मेरो मुटुमा छुरा हाने पनि
अझैँ यो जिन्दगीमा बाँच्ने सङ्घर्ष गर्दैछु
अनि ऊ बिना पनि अब एक्लै हिँड्ने आँट गर्दैछु।