खिचेर सामूहिक तस्वीर
बिदाइको विमानस्थलमा
जब टाँसिन्छ
फेसबुकका भित्ताहरूमा
माथि
असीम खुसीको सुन्दर क्याप्सन
तल मुस्कुराइरहेका आफन्तहरू।
बाध्यताको बिदाइ अलग हो
रोजीरोटीको बिदाइ त झन् अलग हो
तर रहर!
यस्तै रहरका तस्वीरहरू
वर्षौंदेखि नियालिरहेको म
र भित्र-भित्र हुँडुलिएको मेरो मन
तस्वीरको एकापट्टि छेउमा उभिएका
बालाई सोधौँ झैँ लाग्छ
बा! तपाईंको सपना कहिले आउला फर्किएर?
अर्को छेउमा उभिएकी
आमासँग भनौँ झैँ लाग्छ
यो खुसीको लम्बाई कति होला है आमा!
कतिले भन्लान् यो सुन्दर भविष्यको आमन्त्रण हो
कतिले ठान्लान्
यो सम्पन्नताको प्रस्थान बिन्दु हो
पृष्ठभूमिमा देखिएला
आक्रोश
उद्विग्नता
देशको भताभुङ्ग अवस्था
नेतृत्वको नालायकीपन।
तथापि
एउटा प्रेम त छ नि माटोसँग
दायित्व त छ नि निर्वाह गर्नुपर्ने
सुखमा/दुःखमा
मात्र तस्वीरलाई हेर्नु
र स्वयम् मान्छेलाई सुम्सुम्याउनु
कति फरक छ
अनुमान लाउनुस् त
चाडबाडमा दुखिरहने मन
जमघटमा टोलाइरहने आँखा
हेर्दाहेर्दै बाटो
कुनै दिन
बुढ्यौलीले गाँजेर
किलकिलेमा अड्किएको अन्तिम धड्कनलाई
तप्प-तप्प पानीले भिजाउने बेला
सिरानी हुनुपर्ने काख
र सहारा बन्नुपर्ने हात
उतै कतै अल्झिरहेका हुनेछन्
विकल्पमा
पठाउनेछन् शब्दका श्रद्धाञ्जली
र भावनाको भिडिओ सन्देश
दाहसंस्कारको मन्जुरीनामा पठाएर आफन्तहरूलाई
भनिदिनेछन्
बाआमालाई स्वर्गको द्वारसम्म पुर्याउनु छ
दान प्रदानमा कुनै कमी हुन नदिनू
पैसा!
त्यसको कुनै चिन्ता छैन
तपाईंको बैंक खातामा
अहिले केही बेरमा आइपुग्नेछ।