अंग्रेजी गीत बज्दै थियो बन्द कोठाभित्र, ठूलो-ठूलो आवाजमा। त्यो सुनेर ठूलै स्वरमा कराउँदै थिए बाहिरबाट बा पनि।
‘ओई... बन्द गर्छस् कि म आउनु पर्ने हो हँ? छिट्टो तयार हो स्कुल जान।’
सुनिएन भित्र। उठ्यो नाकमै भएको रिस बालाई। गएर हाने कोठाको ढोका बेस्मारी। ढोकाको आवाजले बन्द भयो गीतको आवाज। छोराले खोल्यो ढोका।
अब ढोकाको ठाउँमा उसको गाला हुने निश्चित थियो। भयो पनि त्यही। बज्यो गाला राम्रैसँग, भित्रैसम्म। रनन हुने गरी। भुल्यो सबै आफ्नो सुर ताल। सधैँझैँ बाको सुर तालमा फर्कियो छोरा। मनमनमा उसलाई लाग्थ्यो बाले सधैँ बजाउँछन् मात्र, कहिले बुझ्दैनन् भनेर।
तयार भएपछि खाना खाएर लाग्यो स्कुलतिर। बोकेर ब्याग किताबको। बाटैभरि खाली नै भए नि दायाँ हातले स्ट्रिङ हान्दै अनि बायाँ हातका औँलाहरू फिंगरबोर्डमा हल्लाउँदै। आफूले आफैलाई एन्जस योङ सोच्दै जान्थ्यो स्कुलको गेटसम्म।
गेटमा पाले दाइले ‘किन नाच्दै हिँड्या छस् ए’ भन्दा मिठो धुन सोचेर हिँडेको ऊ घोक्रो स्वर सुनेर झस्किन्छ। अनि हात नहल्लाइ कक्षा कोठातिर छिर्छ।
सुरु हुन्छ कक्षाहरू। खलास हुन्छ धुनहरू। नेपाल सरकार, शिक्षा मन्त्रालयको पाठ्यक्रम पढाइन्छ दिनभरि। जुन पाठ्यक्रममा उसले सोचेको विषयवस्तु नै छैन। त्यसैले उसलाई सबै कक्षा ‘छ्या!’ नै लाग्छ। ‘छ्या-छ्या’ भन्दै कक्षा १० सम्म पुगिसक्यो।
दिनहरू बस् बितिरहेका छन्। कोठामा कराउने, बाटोमा हात हल्लाउने बाहेक केही भएको छैन। उसले आफूलाई एन्जस सोच्न थालेको तीन वर्ष भइसक्यो। ती तीन वर्षदेखि अरु केही सोच्दैन ऊ। उसलाई अरु केही चाहिएको छैन। एउटा गितारबाहेक।
तीन वर्षको तीनै वटा दसैँमा आमालाई ‘कपडा पर्दैन बरु गितार किनिदिनू’ भनेर भन्छ। केवल आमालाई। बासँग सक्दैन किनकी बाले बजाउँछन्।
आमाको मन त हो तर उनको सोचले उनलाई पनि रोक्छ। ‘किन चाहियो त्यो भाँडो?’ भन्छिन।
यसपालि पनि दसैँ आइसक्यो घर-घरमा। अब आमालाई भनेर काम छैन भन्ने थाहा भैसक्यो उसलाई। बा तास जितेर आएको दिन, अलि खुसी भएको दिन न्वारनदेखिको आँट बटुलेर खाना खाने बेला भन्यो मासु खाँदै- ‘बा, मलाई गितार किन्दिनू न है योपालि, बरु मलाई नयाँ कपडा चाहिन्न।’
आमा झस्किन्। किन झस्किन् खै! सायद आफूले वर्षौंदेखि गर्न नसकेको काम (चाहेका कुरा माग्न) छोराले गरेको देखेर होला।
बा एकछिन केही बोलेनन्। हड्डी मज्जाले चपाए। हड्डी चपाएको जस्तै आफूलाई नि चपाउने हुन् कि भनेर ऊ डरायो। खाइरहेको मासु नि फुस्केला भनेर छिटो-छिटो खान थाल्यो।
बाले आज ठूलै बाजी मारेछन् क्यारे ‘ल ल किन्दिउँला’ भने। यति भनेर फेरि हड्डी चपाउन व्यस्त भए बा। उसलाई अब मासुको माया लाग्न छोड्यो। भोक पनि बाको ‘ल ल’ ले भरियो। ऊ भान्साबाट निस्कियो।
ऊ ढोकानिर पुग्दा बाले भने, ‘तेरो एसएलसी हैन यो साल?’
उसले खुसी स्वरले भन्यो ‘हो बुवा।’
‘अनि पढ्नु पर्ने बेलामा तँलाई किन चाहियो त्यो गितर?’
‘गितर हैन के गितार हो’ मासुको झोलसँगै थपिन् आमाले।
‘तिमी किन बाठो भा’को? जे भए नि किनिदिने मै त होला नि?’ झपारे बाले आमालाई। आमा केही नबोली फर्किन् फरक्कै। उसको मन पनि हल्का डरायो।
फेरि बा बोले, ‘त एसएलसीको परीक्षा दे अनि किन्दिम्ला, अहिले अरु धेरै खर्च छ घरमा। अनि एसएलसी प्रथम श्रेणीमा पास गर्नुपर्छ नि तैँले।’
सम्झौता भयो बा छोराको। नाई-नाई अहिले नै किनिदिनु भन्ने मन त हो उसको तर सकेन। अब ५ महिना जति कुर्दा के नै होला र भन्ने सोचेर मन बुझायो।
‘हुन्छ बा’ भन्यो। निस्कियो बाहिर। ‘दसैँ आयो’ भन्दै करायो छतमा गएर। उसलाई दसैँले तीन वर्षपछि छोएको थियो।
समय न हो, केही कुर्नेहरूका लागि एकदमै छिटो बित्छ। एसएलसीको अन्तिम दिन कम्प्युटरको परीक्षापछि साथीहरू घुम्न गए। ऊ भने सिधैँ घरतिर हानियो, खाली हात गितार बजाउँदै। फेरि दशैंको दिन हो यो पनि उसको लागि। मनमा शंका पनि थियो बाले भुले कि, नकिन्दिने हुन् कि आदि।
घर पुग्यो, बा थिएनन् घरमा।
ऊ करायो- ‘आमा, आमा!’
भान्साबाट आमा कराइन्- ‘के भो किन चिच्चाएको?’
‘बा खै?’ कराउँदै भान्सामै पुग्यो ऊ।
खिर बनाउँदै गरेकी आमा केही बोलिनन्। चलाइरहिन् दूधमा हालेको चामललाई। ऊ बोलिरह्यो। सोधिरह्यो। जवाफ फर्काइनन् आमाले।
ऊ रिसायो। उसको मनको शंकाले रिसको आगोमा घिउ थप्ने काम गर्यो। ठुस्सिँदै गयो आफ्नो कोठातिर। आमा ऊ फन्केर गएको देखेर उसलाई पछाडिबाट हेर्दै मुसुक्क हाँसिन् तर बोलिनन् केही पनि।
ऊ आफ्नो कोठामा पुग्यो। ढोका थुन्यो बेस्सरी। विचरो ढोका कहिले बाले ठोक्ने, कहिले छोरोले। उसले आफ्नो स्कुलको लुगा फेरेर एक कुनामा मिल्कायो अनि गयो खाटतिर पल्टिन।
खाटमा एउटा ब्याग देख्यो, गितारको। अनि फरक्कै फर्केर आमासँग गयो अघि जस्तै कराउँदै। खुसी हुँदै।
सोध्यो ‘किन नबोलेको?’
‘हाहा... तँलाई विचार गरेको नि कत्तिको रिसाउँछस् भनेर,’ आमाले भनिन्।
‘बा खै त?’ उत्साहित हुँदै बोल्दै थियो ऊ।
‘बा कामले निस्केका छन्, बिहानै ल्याइदेका हुन् तेरो गितार,’ आमाले भनिन्, ‘ल खिर बनाएको छु खान बस्।’
खायो पेट भारुन्जेल। मन त त्यसै भरिसक्यो। यो सब सपना हो कि बिपना ऊ छुट्टाउनै सकिरहेको थिएन। यति खुसी भयो कि कोठामा जान नि सकिरहेको थिएन। धेरै पछि छिर्यो कोठामा।
मायाले खोल्यो ढोका यो चोटि। खोल्यो गितारको ब्याग। खाली हात हल्लाको जस्तै हल्लायो अब चाहिँ गितार हातमा राखेर। त्यो दिनभरि कोठा बाहिर निस्किएन ऊ। गीत बजाउँदै, गितार बजाउँदै, कराउँदै बितायो दिन।
बा आए घर झम्के साँझमा। सुने आवाज घन्केको कोठामा। उनको नाकमा भाको रिस झ्याप्पै उठ्यो। हाने ढोकालाई। कराए ठूलै आवाजमा। बन्द भयो कोठाभित्रको आवाज। निस्कियो ऊ बाहिर। तर आज उसको गाला भने रन्केन।
ठूलै आवाजमा भने बाले- ‘साँझको बेला घरमा हल्ला किन गरेछस् हँ? चुप लागेर खाना खान निस्की।’
केही बोलेन ऊ। बस् तलमाथि टाउको हल्लायो।
एकदमै सन्नाटाबीच खाना खाइरहेका थिए सबै। उसको मन, मुटु, दिमाग सबै कोठाभित्रै थियो। बाले उसलाई हेरेर भने- ‘तँलाई थाहा छ नि मैले के भनेको थिएँ?’
बाको आवाज सुन्नासाथ कोठामा बसेका उसका मन, मुटु, दिमाग सबै भान्सामा आए।
ऊ अलमलिँदै भन्यो- ‘के बा?’
भात चपाउँदै बा बोलिहाले- ‘कस्तो भयो एसएलसी?’
झस्कियो ऊ तर फ्याट्टै भनिहाल्यो- ‘ठिकै भा’को छ।’
‘ठिकै भनेको के हो फेरि? राम्रो भा’छ कि नाई?’ अलि झर्किए बा।
‘राम्रै भएको छ’ छोटो उत्तर फर्कायो उसले।
‘राम्रै भन्या के रै’छ? प्रथम श्रेणी आउँछ कि नाई?,’ बाले थपे उसलाई तनाब।
उसले तनाब नभएको जसरी ‘अ आउँछ होला’ भन्यो।
बा अलि कड्किए ‘होला-सोला थाहा छैन मलाई, त्यत्रो गितर किन्देको छु तँलाई अझै होला भन्छस्?’ यति मै रोकिएनन् उनी। अझै धम्की थपे- ‘प्रथम श्रेणी ल्याउँछु भनेर गितर किन्न लगाएको छस्, ल्याइनस् भने पख्न तँलाई!’
ऊ चुपचाप सुन्दै थियो। बा रोकिएनन्, ‘पैसा कमाउन सजिलो छ जस्तो मानेको छस् होला, ठूलो भएपछि थाहा पाउँछस्।’
गुनगुन गर्दै थिए बा। आमाले रोकिन्, ‘खान दिनु न खाना, खाने बेला कति कराई रा’को। आजै त सकेको छ त्यत्रो परीक्षा।’
आमाको त्यति वाक्यले माहोल केही बदलियो। उसले नि आरामले भात खायो। तर उसलाई सतायो बाको कुराले। थाहा छ उसलाई कि परीक्षा त्यति राम्रो भएको छैन। होस् पनि कसरी? छ्या-छ्या गर्दै बितेका थिए स्कुलका दिनहरू।
ऊ मनमनमा डरायो। सोच्न थाल्यो के गर्ने हुन् त बाले अब? प्रथम श्रेणी त आउन त गाह्रो छ। सोच्दै कोठामा पुग्यो। देख्यो नयाँ गितार। भुल्यो सबै कुरा। मुखमा भन्न त साह्रै गाह्रो कुरा हो सबैको लागि, उसले पनि मनमनमा भन्यो- ‘धन्यवाद बा।’
सबैमा एउटा हुटहुटी, जोश, चञ्चलता हुन्छ एसएलसीपछिको बिदाको दिनमा के गर्ने भनेर। कोही घुम्न, कोही पढ्न, कोही मामाघर जान्छन्। जवानीको सुरुआत हुन थालेको उमेरमा के गरिन्छ गरिन्छ। नगरे पनि मन चञ्चल भने सबैको हुन्छ।
उसका अधिकांश साथीहरू पनि त्यसरी नै कोही कता कोही कता भए। बाले ब्रिजकोर्सको कक्षामा भर्ना गर्देका थिए। सधैँ बिहान ६ बजे निस्किन्थ्यो ऊ घरबाट कक्षाका लागि। एक हप्ता त गयो लगातार। अनि उसलाई त्यो कक्षा पनि छ्या लाग्न थाल्यो।
एक दिन घर फर्कँदै गर्दा उसले बाटो छेउको चिया पसलको भित्तामा एउटा पर्चा देख्यो। लेखिएको थियो ‘तीन महिने गितार क्लास।’
उसको मन मस्तिष्कमा त्यही चलिरह्यो त्यो दिनभरि। उसलाई बालाई भन्ने आँट आएन। आमालाई भनेर काम थिएन।
भोलिपल्ट बिहान ऊ ब्रिजकोर्सको कक्षा छोडेर गितार क्लास वाला ठाउँमा गयो। बुझ्नलाई। उसको भाग्य भनौँ कि दुर्भाग्य गितार क्लासको समय पनि बिहानको ६ बजे मात्र हुनेभयो। त्यो दिन चाहिँ बस्यो ऊ अरुले बजाएको सुन्दै हेर्दै।
उसलाई छ्या लागेन त्यहाँ। किनकी त्यो ऊ बस्दै आएको कक्षा थिएन, ऊ बस्न खोजेको गितार क्लास थियो। फर्कियो घर सधैँझैँ। मन दोधार गराउदै सधैँझैँ। के गर्ने के नगर्ने भनेर ऊ निर्णय लिन सकिरहेको थिएन। कोठाको टेबलमा किताबको ब्याग र गितारको ब्याग दुवै राख्यो। हेरिरह्यो, सोचिरह्यो घण्टौंसम्म।
अनि उसले आफैलाई भन्यो ‘भोलि बिहान उठ्ने बित्तिकै जुनमा हात पर्छ त्यही बोकेर जान्छु। किताबको ब्याग परे कक्षातिर, गितारको परे क्लास र।’ अनि छटपटीमै सुत्यो ऊ त्यो रात।
बिहान सधैँ झैँ उठ्यो ऊ। अन्धकार नै थियो चारैतिर। झ्याम्म टेबलमा हात लग्यो, जुरुक्क उचाल्यो एउटा ब्याग। मनमनमा उसलाई नि गितारको परोस् भन्ने थियो र भयो पनि त्यही।
तर गितारको ब्याग बोकेर गएको त कसैले नदेख्लान्। फर्किँदा त सबैले देख्छन्। बाले पनि थाहा पाउँछन्। के गर्ने भनेर सोच्यो एकछिन। जहाँ इच्छा त्यहाँ उपाय भन्छन्। उसले नि उपाय पायो। उठायो गितार र किताबको ब्याग। गयो क्लास।
घरमा झुक्काउन किताबको ब्याग बोक्ने अनि सिक्नलाई क्लासमा गितार हुने। यसैगरी उसले ब्रिजकोर्सबाट आफूलाई गितार कोर्सतिर लग्यो।
मनको सुर सुनेर ऊ संगीतको सुर सिक्न गयो। भित्रैबाट लगाव भएर नै होला उसले छिटो-छिटो सिकिरहेको थियो।
‘तीन महिना सिकेपछि तिमी प्रोफेस्नल हुन्छौ भाइ’ भन्थे सिकाउनेहरू पनि।
समय न हो केही सिक्नेहरूका लागि पनि छिटो बित्छ। बित्यो तीन महिनाको बिदा पनि। कसैले थाहा पाएन उसको उपाय। ब्रिजकोर्सको पैसा गितार क्लासमा दियो। सिक्यो मज्जाले गितार पनि। अहिले त बजाउँछ राम्रै। सिकाउनेले भनेजस्तै लगभग प्रोफेस्नल भैसकेको छ ऊ।
असारको महिना थियो। ऊ गाउँदै थियो गीत, गितार बजाउँदै
‘असारे महिनैमा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने...’
गीत गाउँदा ऊ आँखा चिम्लेर गाउथ्यो। आँखा बन्द गर्दा आफूले आफैलाई ठूलो कन्सर्ट गरेको देख्थ्यो। धेरै मान्छेहरूको अगाडि गितार बजाएको अनि उसको गितारको सुरमा सबै मान्छे झुमेको देख्थ्यो।
दिउँसै सपना देख्थ्यो। सपना बनाउँदै थियो आफ्नो लागि। कन्सर्ट नसकिँदा नसकिँदै तलबाट आमाले बोलाउँछिन् आत्तिँदै। आमाको आत्तिएको स्वरले उसको कन्सर्ट रोकिन्छ। झर्छ सपनाको स्टेजबाट, आउँछ बिपनामा।
‘के भो? किन कराउनु भएको?’ सोध्छ आमालाई।
‘रिजल्ट आयो भन्छन् त’ अलि जिज्ञासु भावले सोध्छिन् आमाले।
आमाको जिज्ञासा उसको लागि छटपटी उत्पन्न गर्ने कारण बन्यो। छट्पटिँदै, डराउँदै गरेको मन बोकेर ऊ स्कुलतिर दौडियो। नभन्दै आएको रहेछ रिजल्ट।
रिजल्ट के भयो भनेर हेर्न उसलाई जागर चलेन। उसलाई डर लाग्नथाल्यो किनकी थाहा थियो प्रथम श्रेणी त आउने वालै छैन। अनि सम्झिन्थ्यो बाको धम्की पनि। निराशाको बादलले उसलाई घेर्दै थियो। के हुने हो, के गर्ने हो, के नै केले भारी हुँदै थियो उसको मन।
‘तिम्रो सिम्बोल नम्बर कति हो बाबु? के भयो रिजल्ट?’ त्यतिकैमा आवाज आयो एकजना सरको।
‘याद छैन सर’ हत्त न पत्त जवाफ फर्काइहाल्यो उसले।
जवाफसँगै ऊ आफू पनि फर्केर घर आयो। हेरेन उसले त्यो दिन रिजल्ट, केही भनेन घरमा पनि। गाँउभरि होहल्ला त हुने नै भयो रिजल्टको दिन। सबैलाई चासो हुन्छ एसएलसीको नतिजाको।
सोधे बाले खाना खाने बेला- ‘के भो रिजल्ट?’
‘अहिलेसम्म हेर्या छैन रे’ आमाले भनिन्।
ऊ केही बोलेन।
‘कहिले हेर्ने हो त आज नहेरेर? आइसक्यो त रिजल्ट,’ बाले आमालाई भन्दै उसलाई सोधे।
‘भोलि जाने हो हेर्न स्कुल’ यत्ति भनेर ऊ उठ्यो।
गयो आफ्नो कोठामा। लुलो हातले विस्तारै खोल्यो ढोका। आज बजाएन गितार पनि। तीन महिना अगाडिको बाको धम्की सम्झिन्थ्यो। बासँग गरेको सम्झौता सम्झिन्छ। राम्रो नभएको परीक्षा सम्झिन्छ। राम्रो सिकेको गितारको धुन सम्झिन्छ।
दिउँसै आँखालाई बोकाएका सपना सम्झिन्छ। गितारको तारले औँलामा परेका डोब हेर्छ। पुलुक्क हेर्छ गितारलाई अनि हेरिरहन्छ एकोहोरिएर। त्यो रात ऊ सुत्न सक्दैन। प्रार्थना गर्दै बस्छ ‘ओम भगवान फर्स्ट डिभिजन आओस्।’
भोलिपल्ट स्कुल गयो। जानै पर्यो। नतिजा हेर्यो। हेर्नै पर्यो। उसको प्रार्थना भगवानले सुने कि सुनेनन् खै तर उसले जे सोचेको थियो त्यही नै भयो। प्रथम श्रेणी आएन। उसलाई त्यति दुख भने लागेन किनकी उसलाई थाहा थियो। तर बासँगको सम्झौता। बाको धम्की। सबै सम्झिँदै घर गयो। दोधारमा पहिला झैँ।
घरमा पाइला पर्न नपाउँदै आमाले सोधिहालिन्- ‘के भो ए रिजल्ट तेरो?’
झोक्राइलो स्वरमा उसले भन्यो ‘अ भयो।’
‘त्यही त के भयो?’ आमा नजिक आइन्, ‘पास भइस् कि नाई?’ भनेर सुस्तरी सोधिन्।
‘अ भएँ’ छोटो उत्तर फर्कायो उसले।
धेरै केही सोधिनन् आमाले। उनलाई प्रथम श्रेणीको मतलब थिएन, सायद थाहा पनि थिएन। छोरो पास भयो, यही नै खुसीको कुरा थियो उनको लागि। लागिन् आफ्नो काममा।
ऊ गयो आफ्नो कोठातिर झोक्राउँदै। बालाई के भन्ने, कसरी भन्ने भनेर उसको मन बेचैन थियो। मन भुलाउन, गितार बजाउन थाल्यो। सँगसँगै गीत नि गायो।
उसले गीत मन शान्त नहुन्जेल गाइरह्यो, बजाइरह्यो। हिजोको अनिन्द्र भएर नि होला गितार हातमै समाएर निदायो ऊ।
ढ्याक्-ढ्याक्, ढ्याक्-ढ्याक् ढोका बज्छ। निन्द्रा खुल्छ उसको, ‘हजुर’ भन्छ अर्धनिद्रामै।
‘के गर्दैछस् भित्र, ढोका खोल्’ बाको आवाज आयो बाहिरबाट।
जुरुक्क उठ्छ बाको आवाजले। फेरि आत्तिन थाल्छ ऊ। निस्किन्छ बाहिर। केही भन्दैन नतिजाको बारेमा।
त्यतिकैमा आमाले मुस्कुराउँदै ‘छोरो पास भएछ नि’ भन्छिन्। उसको मुटुले ठाउँ छोड्छ अब।
बाले ऊतिर हेरेर सोध्छन्- ‘आयो त होला नि प्रथम श्रेणी?’
ऊ अकमकाउँछ।
‘के नबोल्या? बोल्न फ्याट्ट, के...’
‘आएन प्रथम श्रेणी त’ बा नरोकिँदै बोल्छ ऊ।
एकछिन मौनता भरिन्छ जताततै। बाको नाकको रिस टाउकोसम्म पुगिसकेको हुन्छ। तर केही बोल्दैनन् एकछिन।
‘किन आएन?’ विस्तारै सोध्छन्, रिस लुकाएर। बा नरिसाएको देखेर ऊ अलि हलुका महसुस गर्छ। भन्छ- ‘दोस्रो श्रेणी पनि राम्रै हो नि बा।’
बा अझै पनि सुस्तरी बोलिरहेका छन्, लामो सास फेर्दै भन्छन्- ‘अब के गर्छस् त?’
उसलाई लाग्छ बाले अब बजाउँदैनन्, बुझ्छन् भनेर। भन्दिहाल्छु मनको कुरा सोचेर उसले भन्छ खुसी हुँदै- ‘बा, म गिटारिस्ट बन्छु, अझै गितार सिक्छु।’
आमाले बीचमा थप्छिन् हाँस्दै, ‘अझै सिक्छु रे? पहिले कहाँ सिक्या छस् र अझै सिक्नलाई।’
‘सिकेको छु नि, मलाई आउँछ नि गितार बजाउन’ ऊ उत्साहित हुँदै भन्छ। गितार क्लासको कुरा चाहिँ निकाल्दैन।
बाले ‘खै के सिकेछस् सुना त’ भन्छन्।
बाको मुखबाट त्यस्तो सुन्दा उसको खुट्टा भुइँमा रहँदैन। दुई पाइलामै कोठाबाट गितार निकालेर आउँछ सुनाउनलाई। बस्छ बाको अगाडिको कुर्चीमा। बा मौन नै बसिरहेका छन्। आमा सामान्य छिन् सधैँ जस्तो। ऊ सुरु गर्छ बजाउन।
आलापबाट सुरु गर्छ। बजाउँदै हुन्छ सा... रे... ग... म... प... ध... नि... सा....
बाले गाली गर्दै गितार थुतेर भुइँमा थेचार्छन्।
थामिरहेको रिस एकैचोटि उम्लिन्छ बाको। बेस्सरी बजारिन्छ गितार भुइँमा। आजसम्म ढोका पनि त्यसरी बजारिएको थिएन होला। ट्वा हुन्छ ऊ। एकछिन केही हलचल गर्न सक्दैन।
आमा कराउँछिन्- ‘के गरेको यो, कठै!’
‘बजाउलास् गितर’ भन्दै फन्किएर निस्किन्छन् बा।
फर्केर हेर्छ विस्तारै ऊ गितारतिर। देख्छ फिंगरबोर्ड दायाँतिर, तारहरू बायाँतिर अनि बीचमा उसको सपना। हुन्छ टुक्रा-टुक्रा, ऊ पनि उसको गितार पनि।