दिवस व्यस्त छ आजभोलि। आफ्नै कम्पनीहरू छन्। ऊ एकल मालिक भएको छ। व्यापारको हिसाबकिताब, मिटिङ, कम्पनीको रेखदेखजस्ता कुराहरूले फुर्सदमा बस्न पाउँदैन।
कहिँले-कहिँले कहीँकतै एक्लो बस्न मन लाग्छ। गाडी लिएर अचानाक कतै हानिन्छ। चिया कफीको स्वादमा विगतको भ्रमण गर्छ। त्यो विगत साथीझैँ सधैँ कहीँकतै आइरहन्छ तर यो उसको बाँच्ने अनि काम गर्ने प्रेरणा पनि हो।
समाजसँगको लडाइँ, समाजको हेपाइ मनमा आइरहन्छ तर ऊ बदला लिने सुरमा भने छैन। समयको घाउ समयले नै ठिक पार्ने रहेछ, यही सोच आउँछ उसको मनमा। त्यो विगतको कथा घरभित्रबाटै सुरु हुन्थ्यो।
२०६० सालको कुरा हो, दिवस र कृष्ण एसएलसी दिनेवाला थिए। दुवै सानैदेखि मिल्ने साथी थिए। परीक्षा पनि भयो र केही महिनामा रिजल्ट आयो। तर अफसोच! दुवैजना फेल भए। पढाइमा दुवैजना अब्बल नभए पनि पास हुन्छन् भन्ने विश्वास सबैमा थियो। फेल हुनु पनि अपराध गरे वा सो सरह नै थियो।
अर्को साल मेहनत गरेर फेरि दुवैजना पास भए। आर्थिक अवस्थाको कुरा गर्दा दिवसको अवस्था नाजुक नै थियो। परिवार कमजोर मात्र होइन बदनाम पनि थियो। दिवसको बुबा जुवातासमा लागेको हुँदा गाउँमा कसैले नपत्याउने। त्यसको असर भने दिवसलाई परेको थियो।
कृष्णको आर्थिक अवस्था पनि त्यती राम्रो त थिएन तैपनि दिवसको तुलनामा भने अलि राम्रो थियो।
पढाइमा दुखसुख पास मात्र गर्ने भएर पनि परिवारले चासो राखेनन्। उनीहरूको पनि पढ्ने विचार त्यति देखिएनन् वा गरेनन्। दिवसको त आर्थिक अवस्था कमजोर भएर पनि उसले आफ्नो अध्ययनलाई अगाडि बढाउन सकेन। कृष्ण पनि पढाइतिर ध्यान राखेन। उसको परिवारले पनि पढ्नेभन्दा विदेशतिर पठाउने निर्णय गर्यो।
एक वर्षपछि कृष्ण मलेसिया गयो। दिवसको विदेश जानेसम्म पनि अवस्था थिएन। उसको परिवारलाई पैसा निकाल्न पनि गाह्रो थियो। अर्को कुरा भने दिवसको भित्री मनमा विदेश जाने सोच पनि थिएन। दिवसले पनि चासो देखाएन, तर दिवसको लागि यो चुनौती बन्यो।
कृष्ण विदेश गएपछि पैसा कमाउन थाल्यो। कम्पनी पनि राम्रै परेछ क्यारे। महिनैपिच्छे पैसा पठाउन थाल्यो। यसको असर भने दिवसलाई पर्यो। घरमा कचकच गर्न थाले, गाउँमा पनि उत्तिकै।
कतै बाटोतिर हिँड्दा पनि मानिसहरूले कुरा काटेको सुन्थ्यो, ‘यो केटा पनि बेकामको भयो। बाउ जुवाडे, यो डुकुलण्ठक। किस्नेले कति पैसा कमाइसक्यो।’
दिवसलाई मन चसक्क दुख्थ्यो तर उत्तर पनि ऊसँग थिएन।
कुनै काम नगरी त भएन। समाजलाई देखाउने कुराभन्दा पनि जीवन धान्न थियो, कुनै काम गर्नु थियो। खेतीकिसानी गर्नको लागि जग्गाजमिन थिएन। यसरी नै अर्को वर्ष पनि गयो। दिवस झन् तनावमा थियो। एकदिन ऊ घरबाट भाग्यो। परिवारले धेरै खोजी पनि गरेनन्।
‘यसलाई कसले खान दिन्छ र आइहाल्छ नि,’ दिवसको बुवाले भन्ने गर्थे। तर दिवस घर फर्किएन।
केही समय नफर्केपछि घरपरिवारले पनि आफ्नो सन्तानलाई कसरी बिर्सन्छ र? खोजी गरे। केही दिनमा नै ऊ झापाको एक मोटरसाइकल ग्यारेजमा काम गर्दैछ भन्ने कुरा थाहा भयो। परिवारलाई ढुक्क त भो तर समाजमा झन् उसको आलोचना भयो।
‘दिवसे बिग्रियो। उसको साथी कृष्णले कति पैसा कमाइसक्यो। यसले पनि काम काटेन।’
दिवसको समाजमा राम्रो कुरा हुँदैनथ्यो।
दुई वर्ष बितेपछि दिवस घर फर्कियो। त्यही वर्ष तीन वर्ष पूरा गरेर कृष्ण पनि गाउँ फर्कियो। दिवस मरणच्यासे भएको थियो, ग्यारेजमा काम गर्दागर्दा उसको शरीर पनि ख्याउटे थियो।
उता कृष्ण भने विदेशबाट आएको चिल्लो, मोटो र गोरो थियो। थोरैतिनै पैसा पनि कमाएको थियो। दिवसले एक रुपैयाँ पनि ल्याएको थिएन।
दिवसको बुबाले उसलाई भने, ‘तँसँगैको कृष्णले कति प्रगति गर्यो। तँ नहुने-नहुने काम गरिस्। जाबो त्यो काम गरेर के पाइस्? अब तेरो साथी कृष्णसँग कुरा गरेर तँ पनि विदेश जा। पैसा माग्। म पनि भन्दिन्छु।’
दिवसलाई चित्त बुझेन। उसको योजना भने गाउँमा नै ग्यारेज खोल्ने विचार थियो। विदेश जानलाई मन थिएन। तर उसले यो मनको योजना सुनाएन।
चार महिनापछि कृष्ण विदेश फर्कियो। दिवसले बिस हजारमा ग्यारेज खोल्यो। समाजमा कुराहरू धेरै भयो। दिवसले समाजको गाली होस वा बेइज्जत सबै कुराको जवाफ दिन चाहेन र दिएन पनि। समय बित्दै गयो। दिवसले आफ्नो सीप खार्दै लग्यो। राम्रो काम अनि विश्वासीलो काम गर्न थाल्यो।
दुई वर्षपछि कृष्ण घर आयो। त्यसपछि उसले कमाएको पैसाले चोकबजारमा घर पनि बनायो। तर दिवसको भर्खर सानो ग्यारेज थियो। सानो लगानी थियो। त्यो देखेर कृष्णलाई दया जाग्यो क्यारे।
‘ए दिवस, त यस्तो काम गरेर के बसेको यार? हेर मैले पाँच वर्षमा घर बनाएँ, अझै पनि थोरै पैसा छ, अब गएर थपथाप गरी तराईमा जग्गा किन्छु। विवाह गर्छु। तँ पनि मसँग हिँड्। बरु म पैसा लगाइदिउँला।’
दिवसले उसको कुरालाई सुन्यो तर ‘म विदेश जान्न साथी’ भन्यो।
कृष्णलाई पनि रिस उठ्यो होला, ‘साथी भनेर पो भनेको त! तँलाई दुःख पाउने नै रहर छ भने मलाई पनि के चासो।’
कृष्ण उठेर लाग्यो। उक्त दिनदेखि दुई साथीहरूको बीचमा एकखालको इख जाग्यो। दिवसलाई पनि त्यो वचनले मनमा छोइरह्यो।
कृष्णले पनि सोचे जसरी नै तराईमा जग्गा किन्यो। आएर विवाह पनि गर्यो। यति बेलासम्म पनि दिवसको त्यही टुरे ग्यारेज चलिरहेको थियो।
विस्तारै गाउँमा बाटो पनि पक्की भयो। गाडीहरू चल्न थाले। दिवसको व्यापार पनि चल्न थाल्यो। दिवसले हेर्दाहेर्दै ग्यारेज ठूलो बनायो। कृष्ण भने फेरि विदेशतिर लाग्यो।
पाँच वर्ष विदेशमा बसेर कृष्ण विदेश नजाने गरी घर फर्कियो। उसले घरमा राम्रै व्यवस्था पनि गरेको थियो। तराईमा जग्गा पनि किनेको थियो। बैँकमा थोरैतिनै कमाइ पनि थियो। कृष्णलाई दिवसभन्दा प्रगति गरेको कुरामा सबैभन्दा बढी आनन्द लाग्थ्यो।
दिवसको कामप्रतिको लगाव, विश्वसनियता अनि इमानदारिताको कारण उसको व्यापार ह्वात्तै बढ्यो। व्यापारसँगै उसले कर्मचारीहरू पनि राख्यो। झन् धेरै व्यापार भो। कम्पनीले पनि उसको इमान्दार व्यवहारलाई पुरस्कृत गर्यो।
‘व्यापार अपार’ भने झैँ भयो। तर पनि ऊ कहिलै पनि बदलेन। दिवसले उसको नाममा एउटा कम्पनी दर्ता गर्यो। उक्त कम्पनीको म्यानेजर भयो दिवस।
आजभोलि दिवसको उक्त कम्पनी एकदम व्यापार गर्छ। दिवस भने कम्पनीमा काम गर्दैन। ऊ काम अवलोकन गर्ने अनि बाहिरी कुराहरू मात्र हेर्छ। उसको कम्पनीअन्तर्गत अन्ये पनि केही कम्पनीहरू छन्। ऊ त्यही काममा व्यस्त हुन्छ।
उसको कमाइ पनि धेरै राम्रो छ, अहिले उसलाई कुनै पनि ठाउँमा घर किन्न ठूलो कुरा होइन तर ऊ अझै व्यापारमा लगानी गर्दैछ। बुबाआमालाई भने त्यही चोक बजारमा घरभाडामा राखेको छ। श्रीमती पनि कम्पनीमा एकाउन्टेन्ट छिन्। सबै कुरा उसको राम्रो छ। गाउँघरमा आज उसको विरुद्धमा बोल्ने कसैले पनि आँट गर्दैनन्।
कृष्णको जीवनशैली फरक छ। ऊ घरमा खेती किसानी गर्छ। विदेशमा कमाएको बचत पनि सकिसक्यो। अब भने कमाउने, खाने नै उसको जीवन हो। परिवारमा खर्च धान्नको लागि पनि गाह्रो भइसकेको छ।
छोराछोरीलाई राम्रो शिक्षा दिने बेला भएको छ। विदेश जानुको विकल्प केही छैन तर उसलाई ती छोराछोरीहरू अनि परिवार छोडेर विदेश जाने रहर छैन। सानोतिनो जागिर भए ऊ पनि नेपालमै बस्ने योजनामा छ। तर विकल्पहरू भने कमी नै थिए।
पक्कै पनि दिवसले कृष्णको अप्ठ्यारो बुझेको थियो। ऊ सहयोग गर्न चाहन्थ्यो। उसले साथीको कुरालाई बुझेको थियो। एकदिन ऊ आफै भेट्नको लागि कृष्णको घरमा गयो। कृष्ण बारीमा काम गरिरहेको थियो। कृष्ण पनि साथी आएको देखेर घरमा आयो।
‘कृष्ण, म त एउटा काम थियो र आएको। मलाई भन्न त अप्ठ्यारो लागिराछ। डर पनि लागिराछ,’ दिवसले कुरा अलि घुमाउरो तरिकाले भन्यो।
कृष्णले अलि कुरा बुझेन, ‘के भन न, साथीभाइमा पनि के अप्ठ्यारो?’
‘के तिमी विदेश जाने सोचमा छौ कि अब नजाने?’
‘खोई हेरौँ, जान त मन छैन तर व्यवहारले भने जा भन्दैछ,’ कृष्णले उत्तर दियो।
‘मेरो कम्पनीमा एउटा काम छ, गर्छौ भने म राम्रै पैसा पनि दिन्छु। तिमीलाई यही घरछेउ पनि। मोटरसाइकल पनि दिउँला। के छ, सोचेर मलाई भोलिसम्ममा उत्तर देऊ,’ दिवसले प्रस्ताव राख्यो।
कृष्णले आशा गरेभन्दा कयौँ गुणा राम्रो काम थियो। काम सजिलो, पैसा पनि धेरै। यस्तो पनि हुन्छ भने जस्तो भयो। त्यति ठूलो कम्पनीको सुपरभाइजर हुनु चानचुने कुरा थिएन।
कृष्ण भोलिपल्ट दिवसको घरमा गयो। ऊ पुग्नासाथ दिवस पनि गाडीमा आउँदै थियो। हत्तपत्त गाडीबाट ओर्लिएर भन्यो, ‘ए! कतिबेला हो? ल बसौँ न यता।’
इज्जत र सम्मान साथ घरमा राख्यो। कामको पनि कुरा भयो। कृष्णले काम गर्ने कुरा पनि निश्चित भयो। भोलिदेखि काम गर्ने निर्णय भयो।
दुवै साथीभाइहरू पुराना गफ गर्न भ्याए। कृष्ण पनि मनमनै खुसी भयो। पुराना कुरा सम्झँदा पश्चताप र लज्जित पनि भयो। एकैछिनमा कृष्ण उभियो र बिदा माग्यो।
दिवसको सफलता देखेर कृष्णले मनमनै भन्यो, ‘स्वदेशको लगानी मलिलो हुनेरहेछ, मेरो लगानी विदेशमा भयो, त्यसैले मेरो पसिनाको कमाइ अरुले खाँदैछन्।’
कृष्ण हँसिलो चेहरा लगाउँदै घरतिर सुइँकुच्चा ठोक्यो।