ठुली
आजकल ती अग्ला डाँडाहरू हेर्दा
शिर दुखेर आउँछ
आकाशमुन्तिर धुम्मिएको बादलको घुम्टो देख्दा
मुटु फुलेर आउँछ
लाग्छ
जहाज छेक्नेहरू तँछाडमछाड गरिरहेछन्
जहाज किन्नेहरूसँग
जहाज किन्नेहरू
कानेखुसी गरिरहेछन् हाम्रो मृत्युसँग
पोहोर साल दसैँमा टीका लाउन पाइनँ
परार साल तिहारले खुब दुखायो
ठुली
यसपालि
तिमीलाई भेट्न
आँखाहरू बेस्सरी अत्तालिएका छन्
पाउहरू जुरुक्क उचालिएका छन्
तर
जहाज नचढूँ आउन सक्दिनँ
जहाज चढूँ भन्न सक्दिनँ
लाग्छ
जहाज नचढी यसै बसूँ
कम्तीमा सास त छ बाँकी
कम्तीमा बात त छ साथी
तिम्रो अँगालो नपाउँला सही
सानी छोरी काख नपाउली सही
कम्तीमा आश त छ बाँकी
मेरो सासै उडायो भने जहाजले
मेरो लासै उठायो भने जहाजले
ती बाँकी आसहरू पनि धुवाँमा उढ्लान्
यहाँदेखि
तिमीलाई यसरी पठाइरहन त पाइरहेछु
कपासजस्ता मायाहरू
यसरी उढाइरहन त पाइरहेछु
भुवाजस्ता यादहरू
भो ठुलेकी आमा
जहाज चढ्दिनँ अहिले
बरु दुई किनार सही
मिलन नभए सही
कम्तीमा तिम्रो अनुहार सम्झेर
छोरीको मुहार सम्झँदै लहडिएर
बग्न त पाइएको छ दुई किनारमा
जुन दिन जहाज नठोक्किने विश्वास बन्ला
जुन दिन ती डाँडाहरूले
'अब ठोक्दैनन् हो तिम्रा भाइहरूले हाम्रो शिर'
भन्लान्
त्यस दिन
सोहोरेर सबै आँखाभरिको प्यास
बटुलेर सम्झनाको समुद्र
तिम्रै काखमा पोख्न आउनेछु ठुली
बस्
पर्ख केही पट्यार लाग्दा लामा रातहरू
पर्ख केही अरू यादका लामा वर्षहरू
जहाज ठोकिनु
तिम्रो छातीमा झिर रोपिनु न हो
जहाज ठोकिनु
आमाको आँखामा सियो रोपिनु न हो
जहाज ठोकिनु
सेतीमा रगत बगाउनु पनि हो रहेछ
प्रेमजोडीको गीत धुवाँमा उडाउनु पनि हो रहेछ
काखमा बसेका शिशुको भविष्य चुँडाउनु पनि त हो रहेछ
तिम्लाई थाहै छ
जहाज चढेका रिहान पौडेलको कथा
जहाज चढेका सुशील र सोना जोडीको बेथा
जहाज चलाउनेहरूले सुनेको मृत्युगीत...
जहाज किन्नेहरूको के बिग्रने हो र ठुली
रकमको मोटो खेल खेल्न पाएकै छन्
सत्तामा बिक्नेहरूको के नै गुम्ने हो र ठुली
बैठके भत्ता जमाएकै छन्
जाँचकीहरूको के नै जाने हो र ठुली
जागिरको घन्टेखेल खेलिरहेकै छन्
तिम्रोहाम्रो घर उठेको
दैवले जुराएको साथ छुटेको
कसले देख्नुपर्छ र?
कसले व्यहोर्नु पर्छ र ठुली?
के गर्नु मनको जहाजले उतार्दैन रहेछ ठुली
घर नदेख्दै मृत्युहस्ताक्षर गर्नुपर्ने
त्यो जहाज चढ्न कत्ति मन छैन
तर
तिमीलाई भेट्न
उही आकाशमै उढ्ने जहाज नै चढ्नुपर्छ ठुली
अर्को पालि
मुटु दरो पारेर जहाज चढौंला
र मनको गाँठो सुदूर भविष्यमा फुकाउँला
यसपालि आउन सकिनँ है
ठुली!
किन-किन
भक्तराजलाई जस्तै
हजार सपनाहरूको माया लागेर आयो
हजार बिपनाहरूको माया जागेर आयो!