कविता
हैन यो बुहारी भन्ने मान्छे के फलाम ले नै बनेका छन्?
उसले गरेको संर्घष र उसका पीडालाई के यो समाजले गनेका छन्?
पुसको चिसो सिरेटो होस् या चैत वैशाखको प्रचण्ड गर्मी ऊ त मान्छे नै होइन रे!
उसलाई यो समाजले के निर्जीव मूर्ति झैं ठानेका छन्?
हैन यो बुहारी भन्ने मान्छे के फलामले नै बनेका छन्?
मनभित्र वर्षातको भेल झैं आँसु आफैंले घुटुक्क पिएका छन्?
अरूका सपना पूरा गर्दागर्दै कयौं पटक आफ्नै सपना तिलाञ्जली दिएका छन्?
हैन यो बुहारी भन्ने मान्छे के फलामले नै बनेका छन्?
न त थकाइ लाग्ने रे न त भोक लाग्ने
हैन यो बुहारी त के निर्जीव ढुंगाजस्तो मान्छे स्वरूप लिएका छन्।
बिहानीको मिरमिरे सँगै उठ्नुपर्ने रे बेलुका सबै भन्दा पछि सुत्नु पर्ने रे
खै के नियम हो यो भावीले उसैलाई मात्र किन लेखेका छन्
हैन यो बुहारी भन्ने मान्छे फलामले नै बनेका छन्?
कहिले उसको पनि मन दुख्छ त कहिले तन
खै कसरी वर्षौंदेखि यो शून्यताको लाचार जीवन जिएका छन्
हैन यो बुहारी भन्ने मान्छे फलामले नै बनेका छन्?
कहिले सति बनी जली त कहिले दाइजो बनी हिजो अस्ति ऊ त आफ्नो प्रेमका लागि पनि जली
खै कहिले पुरूष अधिकारको लागि आगोमा बलेको कसैले देखेका छन्?
हैन यो बुहारी भन्ने मान्छे फलाम ले नै बनेका छन्?
जाडोमा हिटर र गर्मीमा कुलर झैं परिवारका लागि बनेकी ऊ
त्यो परिवारले कहिले उसको बलिदानीलाई मानेका छन्!
हैन यो बुहारी भन्ने मान्छे फलामले नै बनेका छन्?
प्रकृतिले महिला पुरूष समान सिर्जना गरे पनि खै किन हो अझै पनि पितृसत्ताका नाइकेसँग खै के को लागि लडेका छन्
हैन यो बुहारी भन्ने मान्छे के फलामले नै बनेका छन्?