यो भूगोलको एक चक्कर लगाउँदा लगाउँदै
म आज मसानघाटमा पुगेँ
जहाँ सपनाहरू रुवाबासी गर्दै थिए
कतिका सपनाहरू लास बनी बल्दै थिए
ती तिनै सपनाहरू हुन् जो
हिजोसम्म उडेर गन्तव्य खोज्दै थिए
आज एकाएक सपनाहरूमा आगो लगाइए
त्यो विचरा अवोध सपना साह्रै छटपटिएछ
आफ्नो अस्तित्व सल्किरहेको देखेर!
ती सपनाहरू यसरी सल्किए, मानौँ
जसरी एक मानिस चुरोटले
आफ्नो फोक्सो सल्काइरहेछ
छटपटाउँदा छ्टपटाउँदै
हारगुहार गर्दागर्दै ती ठूला सपनाहरूको सास रोकियो
तिनै सपना कुर्दै बसिरहेका सपनाहरूको आश रोकियो
म कसरी सम्हालौँ आज आफैले आफैलाई जब
मेरै आँखाअघि ती सपनाहरूको लास रोकियो
माफ गर ए सपनाहरू
तिमीलाई बचाउन म अघि सर्न सकिनँ
तिमी जल्दै गर्दा सँगसँगै मर्न सकिनँ
साह्रै घृणा लाएर आउँछ आफैसँग जब सम्झन्छु
आँखैअघि जल्दा तिमी केही गर्नै सकिनँ!
कसैको वर्तमान, कसैको भविष्यको सिरानी गए
कति थिए होला गुम्सिएका, लुकाइएका कहानी गए
ए भगवान! तिमीले यतिसम्म किन गर्यौ भन त?
यार आज म जिउँदै मान्छेको सपनाको मलामी गएँ!
भगवान! बिन्ती छ
बरु नजन्माउनू, नहुर्काउनू या त मारिदिनू
बरु थाहै नदिई कतै बीच बाटोमै अल्पत्र पारिदिनू
म केही माग्दिनँ बरु मेरै सपनाहरूको तपाईं गला अँठ्याइदिनू
बिन्ती मलाई जिउँदो मान्छेहरूको सपनाको मलामी नपठाइदिनू
आँसु थामिनसक्नु हुन्न बग्दा बग्दै आँखा थाक्छ
सपनाको डढेलो देख्दा भतभत मुटु पाक्छ
भगवान तिमी पो भगवान हौ केही नहोला बरु
मत मान्छे हुँ नि यार, मलाई त साह्रै दया लाग्छ
हे भगवान!
ती सपनाहरूको लास घटाइदेऊ बरु सक्छौ भने
निभाउन आगो दमकल खटाइदेऊ बरु सक्छौ भने
तिम्रो पाउमा बरु शिर ठोकेरै मरिदिन्छु म भगवान
जलेका सपना फिर्ता पठाइदेऊ बरु सक्छौ भने
अब
कसले याद गर्ला र, कसको सपनामा कति तोपका सलामी गए
कति थिए होला गुम्सिएका, लुकाइएका सारा कहानी गए
अरे यार! खै कसरी सुनाउनु मैले कसैलाई
म त आज जिउँदो मान्छेको सपनाको मलामी गएँ!