मेरा लागि बोलिदिने आवाजहरू धेरै सुन्छु
मेरो निम्ति लडिदिनेहरू पनि धेरै देख्छु
कसैले मलाई लाञ्छना लाइराख्दा
मेरो रक्षाकवज भई उभिदिनेहरू पनि पाउँछु
तर के म आफै आफ्नो आवाज बन्न सक्दिनँ र?
म किन आवाजविहीन छु?
म आफ्नो आवाज आफै बन्न चाहन्छु
मेरो बोली त तिमीले कहिले सुनेको छैनौ
अचम्म लाग्ला मेरो बोली सुन्दा
अनौठा लाग्लान् मेरा विचारहरू
अत्तालिन्छौ होला सुन्दा मेरा रहरहरू
के कहलिएलाऊ त कहँदा मेरा बेदनाहरू?
म आफ्नो आवाज आफै बन्न चाहन्छु
म आफ्नो लडाइँ आफै लड्न चाहन्छु
तिमीलाई थाहा छ, किन मेरो निम्ती लडिएको लडाइँ
लडाइँमा नै सीमित छन्?
किन त्यो लडाइँ जीतमा रूपान्तरण हुन सकिरहेको छैन?
किनकी त्यो लडाइँको गहिराइ
मलाई मात्र थाहा छ
त्यो लडाइँमा चालिनु पर्ने रणनीतिहरू
मलाई मात्र थाहा छ
म आफ्नो लडाइँ आफै लड्न चाहन्छु
मलाई लागिरहने लाञ्छनाहरूलाई
सम्बोधन गर्न चाहन्छु
सधै सुरक्षाकवजको पछि लुक्न चाहन्नँ
नत्र भने लाञ्छनाहरू जस्ताको त्यस्तै फेरि पनि
पटक-पटक प्रहार भइरहने छन्
कहिलेसम्म तिमी सुरक्षाकवज बनि उभिन सक्लाऊ र?
म आफ्नो आवाज आफै बन्न चाहन्छु
म आफ्नो लडाइँ आफै लड्न चाहन्छु
मलाई लागिरहने लाञ्छनाहरूलाई
सम्बोधन गर्न चाहन्छु।