हाकिम साब प्लिज!
नागरिकतामा एक वर्ष मात्र उमेर बढाइदिनूस् न
राहदानी लिनुछ
एउटै मात्र उद्देश्य बाँच्नु र बचाउनु छ।
मिल्दैन-मिल्दैन
नियम छ
पद्दति छ
नमिल्ने कुरा मिल्दैन।
हाकिम साब, तपाईंको नियमले
हाम्रो खाली पेट देख्छ कि देख्दैन?
हाम्रो नाङ्गो हर देख्छ कि देख्दैन?
सार्वजनिक विद्यालयमा फी तिर्न नसकेको विवशता देख्छ कि देख्दैन?
नियमले मिल्ने सक्ने सबै काम गर्छु भन्दा रोजगारी नपाएको देख्छ कि देख्दैन?
बालीको सिजन सकिँदासम्म मलखाद नपाएको निरास कृषकको लाइन देख्छ कि देख्दैन?
कृपया हाकिम साब
राहदानी बन्ने गरी मेरो उमेर थपिदिनूस् न!
अहँ!
रहरले हुँदैन भाइ
अनुरोधले होइन, प्रमाणले बन्छ नागरिकता।
हाकिम साब,
के मेरा बा-आमालाई नाबालक छोरालाई लाहुरे बनाउन रहर होला?
के मेरा बा-आमालाई बैंक र साहुको तागेताले लज्जित बन्न रहर होला?
मेरा बाले छुट्टिँदा पाएको बेच्च बाँकी अंश ठूलो गरो पनि
सिध्याएर मलाई लाहुरे बनाउन रहर होला?
के मलाई आफ्नो सपनाको मलामी गएर बाँच्ने र
बचाउने एक मात्र लक्ष्य लिने रहर होला?
मेरो विवशताभन्दा ठूलो प्रमाण
के खोज्नु हुन्छ हाकिम साब?
म रहरले होइन, कहरले आएको हुँ
केबल बाँच्ने रहरले आएको हुँ।