ऊ खास थियो मेरो लागि। ऊ नहुँदा साह्रै नरमाइलो अनुभव भएको थियो मलाई। प्रतिभाशाली थियो ऊ।
नेपाल हुँदा मलाई केही समस्या परेमा उसैलाई भन्थेँ। उसले तुरुन्त समाधान निकाल्थ्यो। साँच्चिकै गाह्रो भएको थियो मलाई ऊ नहुँदा। म रित्तिएकी थिएँ ऊबिना, म खालीखाली थिएँ।
सोच्थेँ, एउटा मान्छेको मायाले कति फरक पर्दछ हँ जिन्दगीमा! फेरि पनि साह्रै अप्ठ्यारो हुँदा त उसैलाई सम्झन्थेँ। फेसबुकमा कल गरेर सोध्थेँ। तत्काल फोन उठेन भने पनि कल ब्याक गर्थ्यो। उतैबाट मलाई समाधान सुझाउथ्यो।
धेरै समय मलाई दिन चाहेर पनि पाउँदैन थियो ऊ। विश्वविद्यालयको काम, अनुसन्धान, गृहकार्य, अध्ययनले गर्दा ऊ निकै व्यस्त थियो।
सप्तान्त बिदामा अलि लामो कुरा हुन्थ्यो। विशेष म, छोरी, बुवाआमा र अफिसका साथीहरूलाई सबैभन्दा मिस गरेको कुरा सुनाइरहन्थ्यो।
ऊ र म काम गरेको परियोजनाको प्रगति सोध्थ्यो, पढाइ सकेपछि फर्कने कुरा गर्थ्यो। विदेशमा नेपालीले प्रगति गरेको कुरा सुनाउथ्यो। विदेशका दुःखका कुरा गर्थ्यो। उताको सुविधाका कुरा गर्थ्यो। पढाइ सकेपछिका सम्भावनाको कुरा गर्थ्यो।
यता दिन हुँदा उता रात हुन्थ्यो। साँच्चिकै कुरैकुरामा दिनरात बितेको पत्तो हुँदैनथ्यो हामीलाई। मेरा सबै पीडा ऊसँग पोख्थेँ। मलाई लाग्थ्यो ऊसँग मेरा सबै समस्याको समाधान छ।
उसले धैर्य राख्न भन्थ्यो र समयले सबै समस्याको समाधान गर्छ भन्थ्यो। एक्लै सानो बच्चा अनि काम, चाहेर पनि केही गर्न नसक्ने अवस्था उसलाई बताउथेँ। स्वास्थ्यले पनि त्यति साथ दिएको थिएन, कडा परिश्रम गर्न गाह्रो हुन्थ्यो मलाई।
मेहनती थियो, लगनशील थियो, अरुभन्दा बहुआयामिक थियो ऊ। ऊजस्तो मान्छेको साथ पाउनु आफैलाई भाग्यमानी ठान्थेँ म कहिलेकाहीँ। कहिले महाभारतमा अर्जुनलाई कृष्णले सम्झाए जस्तो मलाई सम्झाउथ्यो। कहिले जीवन दर्शनका कुरा गरेर र उदारहण दिएर मलाई ढाडस दिन्थ्यो।
बोली, व्यवहार, क्षमतामा असाधारण थियो ऊ। ऊसँग कुरा गरिसकेपछि ममा बेग्लै उर्जाको संचार हुन्थ्यो, अलौकिक आनन्दको महसुस गर्थें। मेरा सबै पीडा ऊसँग पोख्थेँ मानौँ ऊसँग मेरा सबै समस्याको समाधान छ।
आजभोलि गर्दागर्दै दिन बित्न के बेर। ऊ गएको पनि छ महिना भैसकेको थियो।
केही समयपछि खै किन हो ऊ र म बीचमा कुराकानी कम हुन थाल्यो। यता म अलि बेचैन हुन थालेँ। जति फोन, म्यासेज गर्दा पनि मतलब गर्न छाड्यो उसले।
मनले राम्रो सोच्न छाडिसकेको थियो। कतै ठूलो बिरामी पर्यो कि, दुर्घटनामा पर्यो कि? लोग्ने मान्छेको भर हुँदैन भन्छन्! भर गरेको मान्छेले एकाएक छाड्दा साह्रै नमजा लाग्ने।
एकदिन बल्ल-बल्ल फोन उठायो उसले। म धेरै नै रोएछु, ऊसँग फोनमा के भनिछु धेरै आफैलाई थाहा छैन।
‘तपाईं नेपाल हुँदा गरेका वाचा सम्झनुस् त! तपाईं नेपाल फर्कँदा मलाई राम्रो देख्न पाउनुहुन्न, पागल भइसक्या हुन्छु। मलाई उद्दार गर्नुस्। त्यहाँ मलाई पनि पढ्ने केही जोहो गरिदिनुस् न प्लिज। मैले यहाँ कसैलाई देखाउनु छ, मैले केही गर्नुपर्ने छ, कम्तीमा मेरी छोरीको लागि।’ यत्ति भनेको याद छ मलाई।
यसले उसलाई निकै छोएछ क्यारे, त्यो सुनेपछि ऊ एकाएक गम्भीर बन्यो र मलाई निकैबेर सम्झायो। सकेसम्म सहयोग गर्ने वचन दियो।
यता शिशिर याम सकिएर वसन्त लागेको थियो। दिनहरू घमाइला थिए। जाडो क्रमशः घट्दै थियो। यी दिनहरू पहिला आफैमा मधुमास लाग्थे मलाई, आजकल रमाइलो लाग्न छाडेको थियो।
आफ्नो मन खुसी भए न सबै रमाइलो लाग्ने रहेछ। एकदिन अचानक उसैले फोन गर्यो, उसको विश्वविद्यालयको कुनै प्रोफेसरले मेरो विषयसँग सम्बन्धित विद्यावारिधिको लागि अनुसन्धान सहायक खोजेको र मेरो योग्यता र अनुभव मिल्ने बतायो। ती प्रोफेसरसँग मेरो बारेमा कुरा गरिसकेको हुँदा र तुरुन्तै मेरो बायोडाटा पठाउन भन्यो।
मैले धेरै समय भएको थियो बायोडाटा अपडेट नगरेको। घरमा सानी छोरीको हेरचाह र घरधन्दाले चाहेर पनि मैले केही गर्न पाउन्न थिएँ। बल्लबल्ल एउटा पुरानो बायोडाटा खोजेर पठाएँ। उसैले अपडेट गरिदियो। मैले दस्तखत मात्र गरेर प्रोफेसरलाई मेल गरेँ।
केही दिनपछि प्रोफेसरको टिमले मेरो अन्तरवार्ता लिने सम्बन्धी इमेल आयो। मैले उसलाई भनेँ। उसले अन्तरवार्ता तयारीको लागि सामग्री खोजेर पठायो, आफूले जानेको टिप्सहरू मलाई भन्यो। अन्तरवार्ता राम्रै भयो।
त्यसको केही हप्तापछि विश्वविद्यालयले विद्यावारिधिको लागि मलाई अफर लेटर पठायो। सबैभन्दा पहिला उसलाई नै खबर गरेँ। तिमीभन्दा म खुसी छु कयौं गुना भन्थ्यो ऊ। मैले जिस्कँदै खुब भन्थेँ।
महोदय, कोही कसैसँग भएर खुसी हुने होइन खुसी त आफ्नो भित्रबाट हुने हो भन्थेँ उसलाई। उसले सुने पनि नसुने झैँ गर्थ्यो।
केही दिनमै अफर स्वीकार गरेर दस्तखत गरी विश्वविद्यालयलाई फर्काएँ।
विश्वविद्यालयका सबै प्रक्रिया पूरा गरी भिसा अप्लाई गरेँ। सबै खर्च डलरमा लाग्ने हुँदा उसले नै सबै तिरिदियो उतैबाट। निकै सजिलो भयो ऊ उता भएर मलाई। कार्यरत संस्थामा अध्ययन बिदाको लागि आवेदन दिएँ।
आजभोलि गर्दागर्दै भिसा अन्तरवार्ताको दिन आयो। अनुसन्धानवृत्तिसहित विद्यावारिधि अध्ययनको लागि भएको हुँदा मैले सजिलै भिसा पाएँ। सानी छोरीलाई माइत आमालाई छाडेर साउनको पहिलो हप्ता म अमेरिका उडेँ।
ऊ मलाई लिन एअरपोर्ट आयो। उसलाई भेट्ने बित्तिकै म अंगालो हालेर रोएँ। उसको छातीमा टासिएँ र भनेँ- साँच्चिकै समयमा नेपालमा हामीले बुनेका योजना आज पूरा भएको छ।
समयले केही समय हामीलाई अलग राखे पनि हाम्रो पुनर्मिलन भएको छ। ऊ र म अहिले एउटै अपार्टमेन्टमा बस्छौं। उसले पढाइ सकेर नेपालको सडक विभागजस्तै स्टेट डिपार्टमेन्ट अफ ट्रान्सपोर्टमा सरकारी जागिर गर्छ भने मेरो विद्यावारिधि पूरा हुने क्रममा छ।
जे निर्णय गरेर हामी यहाँसम्म पुग्यौँ, हामीलाई त्यसको कुनै पछुतो छैन। बरु जे पाइयो त्यो गुमाएको भन्दा निकै धेरै छ भन्ने लागेको छ। अहिले हामी पहिलेको भन्दा निकै खुसी छौं। हामीलाई केही गर्न सक्दैनन् भन्नेलाई जिन्दगीमा गतिलो पाठ सिकाएका छौं।
यो पनि
ऊ कहाँ, म कहाँ!