म यात्री हुँ, गन्तव्य विहीन छैन
म चुम्न चाहन्छु सफलताको शिखर
कोर्न चाहन्छु परिवर्तनको बाटो
हिँडनु छ चुनौती लिँदै, पछाडि फर्किनुको साटो
हो, म त्यही चुनौती लिन चाहन्छु
केही नयाँ सुरूआत गर्न चाहन्छु
तिमीले बिर्सिएको बाटो खोज्न चाहन्छु
म तिम्रो लागि सोच्दैछु, आशाको दियो नजल्दै
तिम्रा आशाहरूमा आभास दिलाउन चाहन्छु
के तिमी मेरो साथी बन्छौ?
मन्दिरमा गुण र अवगुण दुइटै मान्छे सत्कर्म गर्ने आउँछन्
सबै-सबै गुणले भरिपूर्ण हुँदैनन्
म त सत्कर्म गर्न चाहन्छु, मन्दिरभित्र बसेर पूजा गर्न चाहन्छु
तर मलाई बाटो बन्द गरिएको छ किन?
कसलाई सोधौँ मेरो मन र मस्तिकमा गुम्सिएका प्रश्न?
हो, म त्यही प्रश्को उत्तर खोज्न चाहन्छु
के तिमी मलाई साथ दिन्छौ?
म तिमीलाई अगाडि बढाउन चाहन्छु
तिमी अघि बढेको हेर्न चाहन्छु
तिम्रो सफलतामा रम्न चाहन्छु
के तिमी म सँगैसँगै हिँड्छौ त?
कि मेरो साथी मात्र बन्छौ?
मसँग दक्षता छैन, तर प्रतिबद्धता छ
मसँग अठोट छ, आँट छ, केही सिक्ने हुटहुटी छ
तर किन मलाई अवसर दिइँदैन?
किन मलाई सशक्त गरिँदैन?
किन मलाई सिक्नबाट वञ्चित गरिन्छ?
कसले सिकाउने तिमीलाई प्रतिस्पर्धाभन्दा सहकार्य महत्वपूर्ण छ
कि कसैले भन्देऊ यहाँ थोरैलाई मात्र सशक्त गर्नुछ
किनकी म त धेरैमा पर्छु, मलाई पनि तिमीले जस्तै सिक्नु छ।
त्यसैले म एउटा साथी खोजिरहेको छु
जसले आफ्नो लागि होइन, हाम्रो लागि काम गर्न सकोस्
जसले आफू पछाडि बसेर सबैलाई अगाडि बढाउन सकोस्
सबैको आशाको किरण बन्न सकोस्
पदभन्दा कर्तव्यलाई प्रथमिकता दिन सकोस्
सबैको हक र हित सोचोस्
नयाँ कामको सुरुआत गर्न सकोस्
सहयोगको भावनाले भरिपूर्ण होस्
यति सुन्दै गर्दा तिमीले तिमीलाई नै प्रश्न सोध्ने बेला भएन र?
मैले त तिमीमा म देखिसकेँ अनि तिमीले तिमीमा म देख्यौ त?
किनकी तिमी मेरो साथी हौ, सबैभन्दा माथि छौ।