हे! आकाश माथिबाट उड्दै
प्वाँख मात्रै छाडिराखेर कतै गइरहेकाहरू
अब आफ्नो गाउँ फर्केर आओ
हरपल आकाशमाथि देखिने बादलले
तिम्रो गाउँलाई ढाकेको छ
कालो मडारिँदै बर्खाले पिठ्युँमा
रातो पहिरो खोपेर गएको छ
सरकारी राहत पछ्याउँदै जाँदा
अहिले तिम्रो गाउँ बगरभरि थुप्रिएको छ
कसैलाई बगाएर लगे भेलले
कसै जिउँदै छ
एउटा इतिहास भएर।
कलिला घाम अनाथ छन्
नाङ्गा भुतङ्गा आङ छन्
भविष्यका प्रयोगशालाबाट फुटेर छिन्नबिन्न
अहिले घाम किरा समाउँदा समाउँदै अबेर पुग्छन्
पाठशाला
कोही छैन सम्हाल्ने आफन्त
न कोही छन् डोर्याउने
भनिन्छ
अकालका खडेरीले काँधमा बन्दुक बोकाएपछि
कन्दमुल खोज्न जंगल पसेका छन् रे
सबैका आमाबाबा जून तारा भई
जुनेली रात आकाशमा खोज्छन्
नाबालक
यनि कतै गएका छन्।
कति देशका राजधानी हिँडेका
रेलका लिकनिर लावारिस लडिरहेका
समाचार छ
कति कमाउन खाडी हिँडेका
त्यतै थुनामा छन्
कति आउदैछन आँखा अगाडि
कफनमा बेरिएर
मरे कति सरियामा उनेर
त्यतै सढिएर।
अब सेतो कफनमा बेरिएर
बोल्न सक्दैनन् मृत देहहरू
स-साना मुखबाट
ठूलो विस्फोट बोल्नुपर्छ
जिउँदो मारिएकाहरूले नै
खोज्नुपर्छ
एउटा विकल्प
आकाश माथिबाट
उडेकाहरूलाई फर्काइ ल्याउने
चिरविर-चिरविर चराहरूका एउटा साँझ
फेरि।