डोजर चलाउने नै भए
ए मेरो सरकार!
यो मनभरि चलाइदेऊ
अनि भत्काइदेऊ
अनाधिकृत रुपमा बनेका
उसको मायाको घरहरू
अनि तोडिदेऊ
उसको यादका पर्खालहरू
जसले आज पनि
म दुखिरहन्छु
खाडीको यो तातो घाममा।
चिसो सिरेटो उसैगरी चल्छ
मनको हिमालभरि आज पनि
जसको आभास
चिसो पेटीनेर सुतेको
एक पेट भोक र
एक नाङ्गो शरीरले मात्रै गर्दछ
चलाऊ न डोजर ए मेरो सरकार!
त्यो पेटको भोक र
शरीरको नग्नतामा।
तीन वर्षे मेरो छोराले
भिडिओ कलमा बाहेक
मलाई उसको आँखामा
मेरो आँखामा हेरेर राख्न पाएको छैन
प्रत्येक बेलुकी सिरकभित्र
बुवाको शरीरको तातो
कस्तो हुन्छ थाहा छैन उसलाई
बुवाको चोर औंला समाएर
साँझ बिहान घुम्न पाएको छैन
बुवाको पिठ्युलाई घोडा बनाइ
चढ्न पाएको छैन उसले
लौ न मेरो सरकार! चलाइदेऊ डोजर
तिम्रै ती नीतिहरूभरि
जसले लाखौं नेपाली बुवाहरूलाई
बेचिदिएको छ विदेशी सरकार समक्ष।
चार बीस हिउँद खाएकी मेरी आमालाई
तिम्ले दिएको वृद्धभत्ताभन्दा बढी माया
विदेशिएको छोराको हुन्छ
भन्सार तिरेर पठाइदिएको मोबाइलको
वालपेपरमा छोराको फोटो हेर्दै
रात रातभर डराउँछिन् बुढीआमा
रातो बाकसमा नफिरोस् छोरा
ए सरकार! चलाइदेऊ न डोजर
अनि भत्काइदेऊ
बुढीआमाको डरको पर्खाल
अनि तोडिदेऊ ती रातो बाकसहरू।