जानु छ आफ्नै क्रोधको मलामी
छोड्नु छ स्वार्थको जंगली बाटो
बोक्नु छ एक टुक्रो सत्यपन
हिँड्नु छ एक्लै एक्लै यात्रामा
र
गाउँनु छ जीवनको गीत
`लाखाैँ ताराबीच एक्लै मुस्कुराउँछ जून´
सकुशल उडेका चराहरू
गुँड नफर्कन सक्छन्
म पनि नफर्किन सक्छु भीरमा ठोक्किएर
बाचुञ्जेलसम्म न हो जीवनको उज्यालो
बाँड्नु छ सद्भाव
पोख्नु छ प्रेमको पोखरी
कोर्नु छ नमेटिने डोब यात्रीका लागि
खेल्नु छ भैलो
`ए ! पुनियाँका चन्द्र - साब्बाइ ´
सम्झनाको जूनघाम त रहेछ जिन्दगी भन्नु
सम्झनु छ मन दु:खाएका मान्छेहरू
माग्नु छ माफी
सुम्सुम्याउनु छ मायाले दु:खेको मन
र
हिँड्नु छ फेरि देउडा गाउँदै
`आउँदा जाँदा पानी खाउँला नसुकेइ कर्नाली´
यात्रा न हो जिन्दगी
यात्रामा जानु अगि
भेट्नु छ प्रिया
र
भन्नु छ मेरो तस्बिर खिचेर राख
काम लाग्न सक्छ कुनै दिन
समवेदनाका आँसु झारेर
श्रद्धाञ्जली दिन ।।