क्रान्तिकारी विज्ञानको सहरमा
भागदौड थियो रोबोटको
आफ्नै उद्देश्य बोकेर
एकसुरले दौडिएको थियो त्यो
कसैसँग थिएन त्यसको कुनै चिनाजान
भागदौड गर्दागर्दै
चल्यो एकदिन महाव्याधि
त्यो महाव्याधिमा
रोकियो रोबोटको गति
गतिहीन रोबोट
बल्ल देख्न थाल्यो
त्यही बाटोका सहयात्री रोबोटहरू
महसुस गर्न थाल्यो
तिनीहरूका पीडा
मल्हम दल्दै घाउमा
बाँड्न थाल्यो सुखदुःख
चम्किएको त्यो महाव्याधिमा
खडा भयो आकाशमुन्तिर
त्यसरी एउटा सभ्यता
त्यही सभ्यताको संसर्गमा
गर्भधारण गरे रोबोटहरूले
र त्यही महाव्याधिमा जन्मिए
‘मान्छेहरू’
विज्ञानको सहरमा
बेलाबेला यसरी नै चम्किन्छ
महाव्याधि अनि त्यो महाव्याधिले
हत्या गर्छ रोबोटहरूको र
जाँदा जाँदै
पुनर्जीवित गरेर जान्छ
मानव सभ्यता।