उसको कोठाको भित्तामा
केवल प्वाँखहरू छन्
झ्यालबाट छिरेका हावाका झोक्काहरूसँगै
घरीघरी फरफराउँछन्
अनि सन्नाटा बिथोलिने डरले थर्थराउँछन्
उसका शरीरका रौंरू
उसले बडो मेहनतले सजाएको भित्तामा
एकापट्टि एउटा रुमाल
अर्कोपट्टि एउटा घडी
माथि देखिन्छ टल्कने क्लिप
छोपिएको छ सायद केही
एक धर्को मलमलको पछ्यौरीले
भुइँमा छ एक जोर जुत्ता
प्रत्येक चिजमा टाँसिएका छन्
भाले मयुरका रंगिन प्वाँखहरू
प्वाँख झिकिएको भाले मयुरमा जस्तै
उसको मुटुमा चस्किरहन्छ डोबहरू
ठूलै झोक्काले ती प्वाँखहरू उडाउँदा
आकृति अझै उजागर बन्छ
सिक्री, बाला, श्रीफूल
राता चुरा र पोतेहरू
उसलाई भान हुन्छ
लत्रिरहेछन्, झुकिरहेछन्
पोथी मयुरका प्वाँखहरू
सदियौंदेखि हुर्काइएका
उसका इज्जतका प्वाँखहरू
यति ओजिला र रापिला भएछन्
आगो पिएर जलेकी चरीको
खरानीसम्म पनि ऊसँग छैन
ऊसँग चरीको गीत छैन, छमछम छैन
स्पर्श छैन, चुलबुल छैन
संस्कारको तराजुमा
चरीको मुटुको तौल
बाकसभरि पैसामा किन जोखिन्छ?
ऊसँग जवाफ छैन
चरीको मुटु जल्दा
आगोको मुस्लोले
आधा आकाश ढाकिएको क्षण
चाँदनी अस्ताएको क्षण
आकाशमा केवल वाजहरू मात्र उडिरहेका थिए
धुवाँमा पिल्सिएका
सारा रुखहरूलाई चिच्याउन मन थियो
चरीको मुटुको तौल हैन
ताल हुन्छ भनेर।