कसिङ्गरको रासमा मलाई खेल्न मनपर्छ
फोहोर त मेरो साथी सरह हो
त्यसैले त मलाई ऊसँगै चल्न मनपर्छ
सानो, ठूलो कणका अवयव
मेरा केशमा अल्झिदाँ
मलाई कुरुप भएको भान हुँदैन
तिमीले भुइँमा जोडतोडले छ्याप्दा
मलाई चोट पुग्दैन
निमुखा मेरा कैयौं छेस्काछेस्की
तिम्रो सफाइको निम्ति सहिद भए
सम्पन्न बैठक कोठाको जमातले
कार्पेटको सतह अस्तव्यस्त बनाउँदा
तिमीले मजस्तै पराधीन एकलाई
बढाउन अह्रायौ
म पनि चुपचाप
उसको हातले डोर्याएको दिशामा चलिरहेँ
कति आज्ञाकारी है!
झुक्नेलाई त दबाउन सजिलो हुन्छ
म त झन् लम्पसार परिदिएको हुन्छु
तिम्रो इच्छा, तिम्रो चाहनाअनुसार
आफ्ना चाल जो चल्छु
मेरो औचित्यको तिमीलाई कुनै प्रवाह छैन
रित्तिँदै, खिइँदै
एक दिन जो विलीन हुनेछु
तर अफसोच त्यो रहनेछ
म अस्ताउँदा पनि
मेरो स्थान रिक्त रहने छैन
किनकी तिम्रो सामर्थ्यमा
मजस्ता अनेकलाई
तिम्रो सेवामा खटाउन कुनै हम्मे पर्ने छैन
बोल्दैन र त यो गति भाछ
बुझ्दैन र त यो मति भाछ
उठेर प्रतिकार गर्न नचाहेको होइन
अडेस लाग्ने आड मेरो कहाँ छ?
आफ्ना शरीरका भुत्लाहरू
एक-एक गरी गुमाउँदै जाँदा पनि
तिम्रो युगल चक्षुमा
मेरो निम्ति कुनै करुणा भाव हुने छैन
तिमीजस्तै कतिका परिणामलाई
लुकाउन, जोगाउन
म हरदम तिम्रो सेवामा तत्पर रहने छु
तिम्रो हर्ष, बढाइँ भइरहँदा
म त्यो कुनामा लाचार भै पल्टिरहने छु
गर्धनको सेरोफेरो सयपत्रीका मालाहरू झुन्डिरहँदा
भुइँमा खसेका पत्रहरूको व्यवस्थापन म गर्ने नै छुँ
त्यसैले तिमी ढुक्क हुनु
तिम्रो यो आज्ञाकारी सेवक
तिमी बस्ने घर
तिम्रो पद बस्ने भवन
तिम्रो इज्जत बस्ने सदन
सबैको सरसफाइमा हरदम तयार रहने छ।