सदियौंदेखि
गुम्सिएको
गन्हाएको, कुहिएको
बट्टामा खाँदिएको गुन्द्रुकजस्तै
मन मुटु भरिने गरी
तँछाड मछाड भन्दै
लड्दै पछारिँदै
उकुसमुकुस भै तड्पिरहेका
ए मेरा प्यारा गुनासाहरू हो
भो मलाई असह्य भो
जिद्दी नगर
बाहिर अहिलै कतै नभाको ठण्डी छ
कुहिरोले ढाकेर दिउँसै अँध्यारो छ
अहिल्यै आयौ भने कठ्याङ्ग्रिएर मर्छौ
भित्र छौ, जिउँदै त छौ!
न्यानो मौसम आएका बेला
पारिलो घाम लागेका बेला
म तिमीलाई एक-एक गरी
संसार देखाउँला
यो वाचा भो
अहिलेलाई मलाई माफ गर है!