जब म ताते, ताते हिँड्ने बेला भयो
बालाई घाँस दाउराको हतारो थियो
म लड्दै, उठ्दै आफैं हिँड्ने कोसिस गरिरहेँ
मेरा लागि भित्तो र थाम सारथि भो
साँझपाख बा आउँदा
मुसुक्क हाँस्दै मेरो पाइला लड्दै उतै गयो
पिँठ्यूमा घाँसको भारी पसिनाले भिजेको
बाको शरीर मेरो सामु उभियो
म फिस्स हाँसी बाको आगमनलाई
अंगालोमा कस्न चाहेँ
मलाई मायाको आँखाले हेरी
भारी बिसाएर अंगालोमा कस्नुभयो
म एकछिन बाको मायासँग
लडीबुडी गरिरहेँ
बाका मायाका धर्साहरू बल्झिरहेँ
गोठमा कराइरहेका गाई बाच्छालाई
घाँसको मुठो दिनुभयो
म बाको अंगालोमा टाँसिएको नै थिएँ
च्यातिएको भोटोमा मेरा हातहरू अल्झदै थिए
च्यातिएका कछाडमा मेरा खुट्टा बल्झदै थिए
बा चुलो चौकोमा पस्नु भयो
अँगेनाको डिलको गुन्द्रीमा
मलाई मायाले बसाल्दै
डालामा भएकाे मकैको आटो
कसौडीमा राखी पकाउनु भयो
म नजिक गएँ भने मुसुक्क हाँस्दै
उठाएर फेरि गुन्द्रीम बसाल्नु भयो
पाकेको आटो र शुद्ध भैंसीको
त्यो मिठो दूध अनि बारीको
हरियो सागको तरकारी मिलाई
फकाएर मलाई खुवाउनु भयो
बाले मलाई झाजले बारिएको कोठामा लानुभयो
आमालाई भित्तामा देखें
सम्झनामात्र थियो त्यो भित्तोमा हेरें
कालो साधा फोटो म तिर हेर्दै थियो
मलाई हेरी हाँस्दै थियो
आमाको ममता झल्काउँदै थियो
बाबु सुत्न आइस् भने जस्तो लाग्यो
मेरो मन रूँदै थियो
आमाको बिछोडले पिरोल्दै थियो
तर,
म भाग्यमनी रहेछु
आमाको शरीर मरेर भित्तोमा टाँसिए पनि
बा र आमा दुबैको माया अहिले
जिउँदो बा सँग धर्तीमा पाइरहेको छु