'कहाँ फुल्छ काँडा भन्थे झूट सुन्या रैछु
माया गर्छु भन्थे प्रिय जाल बुन्या रैछु
खादै नखाई विष पनि लागि हाल्ने रैछ
कसम प्रिय बन्धकी नै गरिदिएँ बाँकी मेरो बैँस'
कुनै रोमान्टिक गीत सुन्दा पनि एकैछिन रोकिएर गुन्गुनाउन मनपर्छ आजकल। एक्लै बस्दा गजल सुनेर निदाउन मनपर्छ आजकल।
'बैँस जाग्यो भनौं भने तीस काटी सकें।
पागल प्रेमी भनौं भने प्रित साटी सकें।
यस्तै लेख्दै जाने हो भने त किताब नै बन्ने पो रहेछ।
निन्द्रा लाग्न छोड्यो रातमा ओल्ट्यांग पल्ट्यांग गर्छु
कस्तो हुन थाल्यो आफैं अचम्ममा पर्छु।'
यतैकतै वरिपरि हराउन थालेछु। कैले एक्लै हुँदा एकान्तमा हराउँदो रैछु फेरि मान्छे मान्छेको भिडभाडमा पनि एक्लो महसुस गर्छु।
भनिन्छ नि यदि तपाईंलाई सच्चा मनले माया गर्ने मान्छे तपाईंको मनसँग मन मिल्ने अनि तपाईंको कामलाई पनि उत्तिकै सम्मान गरेर अघि बढ्न मदत गर्ने मान्छे पाउनु भएको छ भने सोच्नुस् तपाईंको जिन्दगी आरामले बित्छ। तर यस्तो जीवनसाथी जो तपाईंलाई माया गरेजस्तो गर्छ तर तपाईंको हरेक कुरामा हक जमाउँछ, तपाईंलाई प्रोत्साहन गर्नुको साटो तपाईंको सफलता सुन्नेबित्तिकै रिसाउँछ, सधैं तपाईंभन्दा माथि हुन खोज्छ भने सोच्नुस् तपाईंको जीवन सजिलो छैन।
म पनि यही दुईमध्ये कतै बीचमा अल्झिरहेको मान्छे हुँ।
कैले जिन्दगीदेखि हार खान्छु, कैले खुसी हुन कोसिस गर्छु तर थाहा छैन केही कुराले मलाई हाँस्नबाट रोकिदिन्छ।
दुई छोराको बाउ हुँ अनि एक सुन्दर अनुहार भएकी प्रियसीको श्रीमान हुँ। अहिलेसम्म आइपुग्दा पनि आफूले आफूलाई को हुँ भनेर चिन्न सकेको छैन।
सरिता र मेरो प्रेम विवाह भएको हो।
कलेज पढ्दा उनीसँग भेट भएको। मभन्दा उमेरले उनि त्यस्तै ७/८ वर्ष सानी होलिन्।
ऊ मलाई असाध्यै बुद्धिमानी लाग्थ्यो,धनि बाउकी एक्ली छोरी भए पनि ऊमा केही कुराको घमन्ड थिएन। हो यही कुरा मन परेको थियो उसको।
मान्छे त उसै राम्री त्यहाँमाथि धेरैको नजरमा परेकी सरिताले पनि मलाई नै रोजेकी थिइन्।
भेटेकै १२/१३ महिनामा हाम्रो विवाह पनि भैहाल्यो। सुरू सुरूमा उसका हरेक साना साना गल्ती पनि केही जस्तो लाग्दैनथ्यो। माया गर्ने मान्छेको राम्रो नराम्रो सबै हुन्छ म पनि सजिलै लिइदिन्थें।
म त हतपत रिसाउने मान्छे नै थिइनँ,ऊ भने झट्टै रिसाई हाल्थी। ठुस्केर घन्टौं नबोली बसिदिन्थी। आफैं गएर फकाउनुपर्थ्यो उसलाई। बच्चाजस्ती थिई।
फकाएपछि चाहिँ फुरूक्क परेर अंगालोमा बेरिन आइपुग्थी,चन्चले स्वभावकी सरितालाई अरूले हेरिदिँदा पनि मेरो मन जलेर आउथ्यो।
उसैलाई हेरेर घन्टौं बसिदिन सक्थें म। दुईपट्टि गालामा हात राखेर गाला पुक्क बनाएर मुसुक्क मुस्कुराउँथी। मन पिगाली दिन्थी। मसँगै बसिदिएपछि माइत पनि भो जान्नँ यति माया मलाई कसले गर्छ र माइतमा भन्थी।
मलाई त के चाहियो र जो उसैको मायामा डुबुल्की मार्न पाएपछि संसारै त्यागी दिन सक्ने बनाएकी थिई।
यस्तै यस्तै बित्दै जाँदाजाँदै एक छोरालाई जन्म दियौं हामीले।
पहिला दुब्ली सरिता छोरा पाएपछि मोटाएर गाला पुक्क परेकी। ऊ झनै बलेकी थिई। पहिले जति माया गर्थें त्योभन्दा लाखौं गुना माया बढेको थियो ऊप्रति मेरो।
'म त पहिलो सन्तान त छोरी नै पाउने हो अनि हजुरसँग मिल्ने नाम राख्छु' भन्थी तर छोरा हुँदा पनि ऊ खुसी छे। भन्छे 'अब अर्को बच्चा छोरी नै पाउने हो' म हाँसी हिन्थें।
'अनि छोरा नै भयो भने नि?' ऊ हाँस्थी अनि भन्थी 'छोरी नहुन्जेल बच्चा पाउने हो।' म उसको आँट देखेर छक्क पर्थें। आँखा रसाउथ्यो त्यत्रो प्रसव पीडा सहेकी ऊ अझै बच्चा जन्माउने कुरा गर्दै थिई।
मेरो मन मुटुमा प्रिय बनेकी ऊ बा आमाकी पनि प्यारी थिई।
आमाको हरेक कुरा पूरा गरिदिन्थी। आफन्तहरूकी मन परेकी बुहारी बनेकी ऊ अब आफैं आमा बनेकी थिई।
म छोरो लिएर बस्दा मलाई माया कम भयो भन्दै रिसाउथी। हुन पनि उसलाई दिने समय अब छोरामा सरेको थियो।
अफिसबाट घर आएपछि नसुतुन्जेल छोरासँग जो हुन्थें।
कहिलेकाहीँ उसलाई मायाको कमी नहोस् भनेर थाहै नपाई उसलाई मनपर्ने कुराहरू किनेर दिन्थें। मख्ख पर्थी सरीता।
जिन्दगी कति रमाइलो छ है मन परेको मान्छेसँग जीवन बिताउन पाउनु कति भाग्यमानी भएछु म। बाआमा, मन परेकी श्रीमती अनि प्यारो छोरा। साथीहरू गाली गर्न थालिसकेका थिए।
'बिहे गरेपछि गायब भयो साथी बिर्सियो' भनेर।
पहिला पहिला मबिना कहीँ नजाने उनीहरू आजकल मेरो नाम राख्नै छोडेका थिए कतै जादिनँ भनेर।
यदि तपाईंसँग माया गर्ने मान्छे छ भने किन चाहियो हजारौं साथी जो सुखमा पो साथ हुन्छन् तर दु:ख परोस् त चिन्नै छोडिदिन्छन्।
म त्यस्तै हुँ सब भुलिदिन्छु। सब कुरामा साथ दिने श्रीमती भए के चाहियो र मलाई! जिन्दगी त उसैसँग बित्ने हो भने दु:खसुख पनि उसैसँग बाँड्ने हो नत्र त जिउनुको पनि के मज्जा भो र हैन?
यता हुर्कंदै गरेको छोराको साथी बन्न कोही फेरी आउँदै थियो घरमा दोस्रो पटक आमा बाबा बन्दै थियौं हामी।
'यो पालि छोरीको नाम हजुरकै नाम मिलाएर राख्ने हो नाम सोच्नु है' भन्थी ऊ।
छोरीको असाध्यै धेरै चाहना थियो उसमा। अरूका छोरी देख्दा लोभिन्थी सरू। चोरेर ल्याउजस्तो लाग्छ फलानोको छोरी भन्थी कति रहर थियो उसको तर सोचेविपरीत भयो फेरि पनि ऊ एकछिन खिन्न भई तर जे जन्मे पनि आफ्नो कोखबाट निस्केपछि फुरूंग थिई।
मलाई त जे भए पनि दुई सन्तान भए पुगिहाल्यो। यसरी दुई सन्तान ईश्वरको वरदान भनेझैं भयो।
दिन बित्दै गयो। छोराहरू हुर्कंदै थिए। समयसँगै अस्तिकी चन्चले सरू आमा बनेसँगै परिवर्तित हुँदै थिई।
खै किन ऊ बेला बेला टोलाउथी। एक्लै छोडिदिनु एकछिन मलाई भन्थी। म जुरूक्क उठेर हिँडिदिन्थें।
मान्छेको मन न हो कहिले कहिले शान्त वातावरण चाहिन्छ नि! सहजै लिन्थें म।
एकदिन ससुराली जाँदा सकस लाग्ने मलाई ऊ त मेरा निम्ति जन्मघर छोडेर आएकी थिई। त्यही भएर पनि कहिलेकाहीँ ऊ रिसाई भने म वास्ता गर्दिनथें। मेरा लागि आफ्नो संसार छोडेर आएकी छे सानो सानो गल्ती पनि यसै माफीबिनै माफ गरिदिन्थें।
कहिले कहिले छोराहरूलाई बाआमासँग छोडेर उसलाई लिएर उसैलाई मनपर्ने ठाउँमा लैजान्न चाहन्थें तर ऊ इन्कार गरिदिन्थी।
पहिला पहिला घुमाउन लैजानु भएन भनेर रिसाउथी। अहिले ठिक उल्टी भएकी छे।
सँगै समय बिताउनै चाहन्न ऊ। म मेरा कमजोरीहरू खोतल्थें आखिर केमा चुकें त म, काम सकेर थकित मलाई आजकाल घर आउनै मन नलाग्ने हुन थालेको थियो।
बरू ओभर टाइम काम गर्न थालेको छु। कहिल्यै मोबाइलतिर ध्यान नदिने म आजकल मोबाइल प्रेमी हुँदै गएको थिएँ।
एकदिन फेसबुकमा कसैको मेसेज आयो 'कति हेन्डसम हजुर तर मुहारको चमक कता हरायो? हिहि …'
खोलेर हेरें..मनमनै सोचें। कस्तो मनको कुरा पढ्ने मान्छे को रैछ प्रोफाइल खोलेर हेरें। कालो लामो सिल्की कपाल, हिस्सी परेकी, अग्ली, राम्री, रातो सारी, चुरा पोते र सिन्दुर लगाएको फोटो थियो। हुन त आजकाल मान्छेजस्तो भए पनि मेकअपले सुन्दर बनाइदिन्छ तर जो होस् परीभन्दा कमको देखिन्न थिई त्यो फोटोमा मेरी सरू भन्दा त अलि कम। रिप्लाइ गरिदिन मन लाग्यो।
'धेरै धन्यवाद हजुर त्यस्तो त केही होइन हेर्ने मान्छेमा फरक पर्छ मेरो अनुहारको चमक मैसंग छ।'
केही समय रिप्लाइ आएको थिएन। मैले नि वास्ता गरिनँ।
तर फेरि रिप्लाइ आयो,'जे होस हजुर हेन्डसम हुनुहुँदो रैछ फोटोमा..'खिस्स हाँसेको इमोजी पठाई अन्तिममा।
रिप्लाई फर्काएँ 'फोटोमा मात्रै हैन साँच्चिकै पनि राम्रो छु।'
ऊ हाँसीमात्रै।
मलाई उसको प्रोफाइलमा पसेर हेर्न मन लाग्यो। फ्रेन्ड रिक्वेस्ट पठाएँ। एड गरिहाली।
ऊ पनि विवाहित रैछे साथमा बच्चा पनि रहेछ। यसरी उसँग परिचय हुँदै गयो कुराकानी बढ्दै जान थाल्यो। हाँसी मजाक रमाइलो कुरासँगै चिनजान गर्दै थियौं हामी।
सरू, छोराहरू सबैलाई फोटोमा चिनाएको थिएँ। उसले पनि पठाई आफ्नो श्रीमान र छोराको फोटो।
यता घरमा सरूको उही पारा थियो। अफिस जान्थी, घर आउथी। छोराहरूसँग हुन्थी। मलाई त्यति ध्यान दिन्न थिई। कुरै गर्न चाहन्नथी ऊ।
हुन त म पनि छोराहरूलाई उतिकै समय दिन्थें तर पनि उसको लागि समय बचाउथें। तर ऊ बेवास्ता गरिदिन्थी।
उसलाई केही भन्न सक्दिन्थें बरू एक्लै टोलाउथें 'किन यस्ती भै मेरी सरू' भनेर।
फुर्सद हुँदा आजकल म त्यही फेसबुकमा भेटिएकीसँग कुरा गर्न थालेकी छु।
माया नै माया थियो पहिले सरू र मबीच तर अब पहिले जस्ती छैन सरू।
मलाई मायामा पगाग्ल सक्ने उसले मायाले बिगारेको म अहिले उसकै माया नपाउँदा भौंतारिँदो रैछु। त्यही पहिलेको माया खोज्दो रैछु। कोही कसैले मायाले बोलिदिँदा पनि त्यही भुलिदिन थालेछु म।
'दिपकला हो मेरो नाम तर मलाई दिपा भन्नेर बोलाउनु ल' भन्थी। उसको नाम, त्यै फेसबुकवालीसँग बोल्न मन पराउन थालेछु। म आफ्नो दिनचर्या सुनाउन थालेको छु ऊ पनि सायद मजस्तै माया नपाएर भौंतारेकी हुँदी हो र त कुरा गर्न खोज्छे मसँग।
यदि माया गर्ने मान्छे घरमा छ भने त कसैको मन पनि भौंतारिँदैन तर मन खुसी छैन भने कहाँ पोखूँ, कसलाई पोखूँ हुँदो रहेछ।
एकताका कोही चाहिँदैन मलाई भन्ने म आजकल अरूकै श्रीमती भए पनि माया गरेर कुरा गर्छु। कस्तो भयो आजको दिन सोधी दिन्छे कमसेकम हालखबर त सोधिदिन्छे त्यही काफी छ बाँकी त न त मलाई उसँग अरू केही सम्बन्ध जोड्नु छ, न त उसलाई।
तर बस् कुरा गरिदिन्छे त्यसै बोली रहन मन लाग्छ। खै केही खास सम्बन्ध गाँसिएको छ उसँग। न त देखाउन मिल्छ, न त लुकाउन तर पनि खास लाग्छे ऊ मलाई।