छोरी!
मलाई नमिठो लागिरहेको छ
आँसुले भिजेको तिम्रो रुमाल सुकाउँदा।
छोरी!
मैले तिम्रो मात्र हैन
तिम्रो आमाको आँसु कटकटिएका रुमाल पनि सुकाएको छु।
सायद
यो दुनियाँमा छोरीहरूले आँसु जतिको
प्रिय संगी कोही ठान्दैनन् होला।
म भोग्न सक्दिनँ तिम्रो अनुभव
म देख्न सक्दिनँ चोटिएको मुटु
म छुन सक्दिनँ गाठिएको मन
मैले चाखेको छैन ढिका-ढिका आँसुहरू
तर कहिलेकाहीँ बतास चलेर
आरुको फूल झरेको देख्दा
म छोरा मान्छेको दह्रो मन विग्रहित भएको पाउँछु।
बेलाबेला वसन्तले मलाई जिस्काउँदा
तिम्रो खुब याद आउँछ
तिमीलाई फूलजस्तै गरी खेलाएको पाखुरामा
तातो आँसुहरू खस्छन्
एक टुक्रा एकान्त समयसँग गफिँदा
तिमीले छाँद हालेर अंगालेको याद उड्दै मनमा थपक्क बस्छ।
उफ्! त्यो बेला समय कति छिटो
बतिँदै-बतिँदै सकिन्थ्यो
हाँसो सदावहार हुन्छ भन्ने
भ्रममा हामी पलपल बाँचेका थियौं
तर तिमी गएपछि
म बाँचिरहेको प्रत्येक सेकेण्ड
भीमकाय भारी बोकेजस्तो लागिरहेको छ।
बेलाबेला सुन्छु-
तिमीले मासिक रक्तश्रावमा अश्रुश्राव नि गर्यौ रे
आँगनमा छुनमुनाउन बानी परेको तिमीले
बलेसीमा कसरी आँसुका थोपा झार्यौ?
आफनो नाम सुन्दा फुर्किएर खिलखिलाउने
मेरो छोरी अरूको नाममा बाँचेको हल्ला सुन्छु?
यी हावाका झोकाहरू किन
तिमी एक्लिएको खबर बोकेर आउँछन्?
तिमीलाई एक्लिन मन लागेको बेलामा
सबैले छोपेको खबर किन सुन्छु?
मैले काँढा टेकेर काँढालाई घोच्न
सिकाएको बिर्सिएको हौ?
आफ्ना रहरका दुनियाँ अरूले भत्काइदिँदा
आधी भएर उभिन बिर्सिएको हौ?
सन्ताप गुट्मुट्याएर अधिकारका ज्वार
फैलाउन नजानेको हौ?
रगत उम्लिने बेलामा किन तिमी
थाकेर सुस्ताएकी?
छोरी!
सबै कुरा फेरि जान, सम्झ
यो बेला चाहिरहेको छ
तिम्रो हात समाएर ताते-ताते गर्न
यस्तो बेलामा मैले
फेरि-फेरि आँसुको रुमाल सुकाउनु नपरोस्।