आजभोलि
म हुनुको सत्य छैन
न कि मेरो भनाइमा कुनै तथ्य छ
भिडलाई बुझिनँ भने
हात उठाएर समर्थन गरिनँ भने
म लोककै एक्लो हुँ
तिम्रो जय होस् भिड।
तिमीसँगै बगिनँ भने
आफ्नै अस्तित्वलाई मेटिनँ भने
म हुनु त झुट हुनु रैछ
तिमीसँगै म समेटिनँ भने
तिम्रो जय होस् भिड।
मलाई
मेरो धरातल थाह छ
टेकिरहेको धर्तीको गहिराइ थाह छ
कर्मका सीमाहरू थाह छ
कर्तब्यका परिधिहरू थाह छ
तर
भिडले थाहा पाएन भने
मैले थाहा पाउनुको अर्थ छैन
तिम्रो जय होस् भिड।
म बाँचिरहँदा
इमान्दारिता बुझेँ
इज्जत बुझेँ
सत्य बुझेँ
निष्ठा बुझेँ
अफसोच
आजभोलि केही बुझ्दिनँ
भिडले भनेपछि
तिम्रो जय होस् भिड।
कहिलेकाहीँ लाग्छ
यो भिडको बहाबबाट निक्लिएर
एक किनारसँग बसेर
एक्लो हुनुका खुसीहरू
स्वछन्दका उछालहरू
संगालेर
अर्को किनारलाई सुनाउ झैँ लाग्छ
तर
भिडले देख्छ कि भनेर
म किनारमै उभिरहन्छु
कसैलाई नभनेर
सत्य जपिरहन्छु
तिम्रो जय होस् भिड।
अब एक सत्य ओकलुँ
मैले पासपोर्ट बनाइनँ
प्रियसीका घरकाले
भिसा खोजिरहे
मलाई के थाह
भिडले पासपोर्टअघि
भिसा खोज्छ भनेर
आफ्नै माटोको साटो
विदेशको बाटो
तिम्रो जय होस् भिड।